भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि नछोड्ने श्रममन्त्रीको उद्घोष

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि सरकारले नछोड्ने उद्घोष गरेका छन् ।

उनले अहिले सरकार भिजिट भिसाबाट गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने बिचौलिया र केही म्यानपावर कम्पनीविरुद्ध एक्सनमा उत्रिएको बताए । यस्तो गतिविधि नियन्त्रणको सुरुवात काठमाडांैको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट गरेको उनको भनाइ छ ।

केही समयअघि भिजिट भिसामा दुबई पठाइएका १२ जना युवा अलपत्र परेपछि उनीहरूका आफन्तसहित युट्युबर र अभियन्ता गत मंगलबार ट्रिपल स्टार म्यानपावर कम्पनीको कार्यालयमा पुगेका थिए । त्यहाँ युट्युबर तथा अभियन्तामाथि आक्रमण भएपछि प्रहरीले ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङलाई पक्राउ गरेको थियो ।

ठगी आरोपमा पक्राउ परेका गुरुङलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले बिहीबार उनकै म्यानपावर कार्यालयबाट पक्राउ गरेको थियो । यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपाली युवाबाट प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँका दरले मोटो रकम लिएर भिजिट भिसामा यूएई पठाई अलपत्र पारेको उजुरीका आधारमा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले गुरुङलाई पक्राउ गरेको मन्त्रालयले जनाएको थियो ।

गत मंगलबार ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावर कम्पनीमा सम्बन्धित पीडित व्यक्तिहरूसँग भिडियो खिच्न गएका सञ्चारकर्मीमाथि पनि आक्रमण भएको थियो । ठगी आरोपमा पक्राउ परेका गुरुङलाई अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा लगिएको छ । प्रहरीले व्यवसायी गुरुङमाथिको अनुसन्धान गरेर थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली युवाको विषयमा रिपोर्टिङ गर्न सो म्यानपावरको अफिसमा पुगेका युट्युबरमाथि म्यानपावर व्यवसायीबाट निर्घात कुटपिट भएको युट्युबरको भनाइ छ । उनीहरूले सो म्यानपावरका सञ्चालक गुरुङले बाहिरसमेत मान्छे ल्याएर आफूहरूलाई कुटपिट गरेको बताएका थिए ।

सोही घटनापछि भिजिट भिसाबाट विदेश पठाउने म्यानपावरमाथि कारबाही गर्न मन्त्री यसरी तातिएका हुन् । ट्रिपल स्टार म्यानपावर कम्पनीले १२ जना युवालाई भिजिट भिसामा पठाएर अलपत्र पारेको खबर पाउनेबित्तिकै आफूले सीआईबीमार्फत सो म्यानपावरमा छापा हान्न लगाएको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘एक जनालाई सीआईबीले पक्राउ गरेर नियन्त्रणमा लिइसकेकाले अब कानुनअनुसारको कारबाही हुन्छ ।’

हाल विभिन्न २४ वटा म्यानपावर कम्पनीले भिजिट भिसाका नाममा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा मान्छे पठाइरहेको आफूले जानकारी पाएको बताउँदै भन्त्री श्रेष्ठले अब ती सबै म्यानपावर कम्पनीमा छापा मारिने जानकारी दिए ।

यसैगरी, उनले पछिल्लो एक सातामा भिजिट भिसाका विषयमा आएका उजुरी र गुनासोमाथि छानबिन गरिने र त्यसपछि अहिलेसम्म दुई दर्जनजति म्यानपावर कम्पनी यस्तो कार्यमा संलग्न रहेको पाइएको बुझिएकाले अब वैदेशिक रोजगार विभागबाट उनीहरूमाथि कानुनी कारबाही अघि बढाउने बताए ।

कुनै पनि हालतमा भिजिट भिसामा नेपाली कामदार विदेश पठाएर अलपत्र पार्ने बिचौलिया, म्यानपावर कम्पनी, कन्सलटेन्सी र जो सुकै व्यक्तिलाई नछाडिने भन्दै मन्त्री श्रेष्ठले यस्तो कार्यमा संलग्न हुनेहरूलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे । ‘भिजिट भिसाका नाममा गैरकानुनी काम गर्ने कोही पनि मेरो हातबाट उम्किदैन,’ मन्त्री श्रेष्ठले भने ।

गत मंगलबार युट्युबर र अभियन्तामाथि म्यानपावर व्यवसायीले आक्रमण गरेको सम्बन्धमा भने उनले खासै प्रतिक्रिया दिन चाहेनन् । सो घटनाका विषयमा प्रहरीले अनुसन्धान अघि बढाइसकेकाले आफूले यसमा केही नगर्ने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘कुटपिट भएको विषय हेर्ने हामीले होइन । त्यसमा प्रहरी संलग्न भइसकेको छ । उसैले हेरेर दोषीलाई कानुनी दायरामा ल्याउँछ ।’ अब यस्तो कार्यमा संलग्न जोकोहीलाई पनि नछाड्ने नीति सरकारले लिएको उनले जानकारि दिए ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन