काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको मुद्धा उठाएर मधेसमा आन्दोलन गरिरहेको छ । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा किसान आन्दोलन चर्काउदै जनमत पार्टीले राजनीतिक स्पेश लिन खोजेको विश्लेषण समेत भईरहेको छ ।
मधेस र मधेसी जनताको हकअधिकारका लागि मधेस आन्दोलन हुदैगर्दा सिके राउत र उनको पार्टी आन्दोलनको विरोधमै रहेको थियो । त्यतिबेला सिके राउतले पूर्वदेखी पश्चिम सम्मको तराई मधेस छुटै देश हुनुपर्ने भन्दै मधेस आन्दोलनको विरोधमा थियो ।
तर पछिल्लो समय सरकारसंग सम्झौता गरेर संगठन निर्माण गर्दै जनमत पार्टीले छुटै मधेस देश बनाउँने मुद्धा छोडेको कतिपयको बुझाई छ । कतिपयले सिके राउत र जनमत पार्टीको मुद्धा नै स्पष्ट नभएकाले मधेसी जनताको मन जित्न नसक्ने दावी समेत गर्दै आएका छन् ।
राजनीतिक विश्लेषक चन्द्रकिशोरको बुझाई पनि त्यस्तै छ । जनमत पार्टी र सिके राउतको मुद्धा नै स्पष्ट नभएको बताउँदै चन्द्रकिशोरले मधेसी जनताको उनीहरुको पक्षमा नउभिने बताउछन् । मधेसको मुद्धा सम्बोधनसंग जनमत पार्टीको कुनै सरोकार नै नभएको उनले बताए ।
‘साधन र साध्यमाथि जनताले विश्वास गर्नुपर्छ । मधेस आन्दोलन हुदैगर्दा काठमाडौंबाट संघर्ष गर्दै मधेस मुद्धा सम्बोधन गराउँने कुरा हुदै गर्दा सिके राउत विरोधमा थिए’ चन्द्रकिशोर भन्छन्, ‘मधेसमा आन्दोलन हुदैगर्दा उनीहरु विरोधमै उत्रेका थिए । अहिले पनि जनमत पार्टीको मुद्धा के हो त्यो स्पष्ट छैन् ।’
मधेस प्रदेशमा जनता समजावादी पार्टी नेपाल (जसपा)को सरकार छ । जसपा उपाध्यक्ष लालबाबु राउत मधेस प्रदेशको मुख्यमन्त्री छन् । २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धन बनाएर निर्वाचनमा बहुमत ल्याई सरकार बनाए ।
निर्वाचनमा गठबन्धन बनाएर बिजयी भएपछि बहुमतको सरकार बनाएका ती दुई पार्टीबीचमा एकीकरण हुदै विभाजन समेत भईसकेको छ । यो बीचमा अहिले लोकतान्त्रिक समाजवादी पार्टी (पहिलेको राजपा) मधेस सरकारमा सहभागि छैन् ।
केन्द्रमा रहेको पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाको मधेस प्रदेशमा सरकार छ । नेकपा एमाले र लोसपा प्रतिपक्षमा रहेको छ ।
मधेस प्रदेशमा बलियो भनिएको जसपाको राजनीतिक स्पेश जनमतले लिन खोजेको छ । संघीय सरकारमा जसपाका नेता समेत रहेका महेन्द्रराय यादव कृषी मन्त्री छन् । मधेस प्रदेशमा पनि जसपा नेताकै नेतृत्वमा सरकार छ । त्यसैले जनमत पार्टीका नेताहरु जसपाका नेताहरु माथि आक्रमक देखिएको कतिपयको बुझाई रहेको छ ।
मधेस आन्दोलनको बलिदानी दिवसको अवसरमा गौरमा आयोजित एक कार्यक्रममा सहभागि हुन पुगेकी संघीय सरकारका भौतिक पुर्वाधारमन्त्री एवं जसपा नेतृ रेणु यादवको कार्यक्रम बिथोल्ने काम समेत जनमत पार्टीका नेताले गरे । जसपाका नेताहरुको चर्को रुपमा विरोध गर्दै मधेसको माग सम्बोधन गराउन नसकेको आरोप जनमतका नेताले लगाउँदै आएका छन् ।
राजनीतिक विश्लेषक संजय तिवारीले मधेसवादी दलहरु मधेसको मुद्धा उठाउँदै सत्तासंग साटेपछि मधेसी जनताले विकल्प खोजिरहेको बताउँछन् । त्यो विकल्प जनमत पार्टी पनि हुन सक्ने बुझाई तिवारीको छ । जनमत पार्टीले मधेसका किसानको मुद्धा उठाएर मधेसमा राजनीतिक स्पेश बनाउँन खोजेको तिवारीले बताए ।
‘सिके राउतले समस्याको उठान मात्रै गरेका छन् । मधेसको मुद्धा उठाएर राजनीतिक स्पेश बनाउँन खोजेको हुनसक्छ’ तिवारीले भने, ‘मधेस आन्दोलन गर्दै मधेसवादी दलले सत्तामा लिप्त भएपछि मधेसी जनताले विकल्प खोजेका छन्, त्यो विकल्प जनमत पार्टी पनि हुनसक्छ ।’
जसपा र लोसपाले मुख्य मुद्धा छोडेर सत्तासंग रमाउन थालेपछि सिके राउतले मधेसको मुद्धा उठाएर सम्बोधन गराउँन खोजेको उनले बताए । १५ बर्षभन्दा बढी मधेसवादी दलले संघर्ष गर्दै मुद्धालाई मुद्रामा बदलेपछि अहिले जनताको समस्या उठाइ दिने र सम्बोधन गर्ने नेता र पार्टीको खोजीमा मधेस र मधेसी जनता रहेको बुझाई तिवारीको छ ।
मधेस आन्दोलन हुदैगर्दा राज्यले सुनुवाई समयमै गरेन् । ढिलाई र बल प्रयोग बढी भएपछि तत्कालिन अवस्थामा मधेस आन्दोलनले ठुलो रुप लियो । पटक पटक आन्दोलन हुदैगर्दा सरकारले जसरी समस्या सम्बोधनमा चासो दिएको थिएन, अहिले पनि त्यही भईरहेको छ । किसानको मुद्धा उठाएर सुरु भएको आन्दोलन दुई महिना पुग्नै लाग्दा सरकारले वार्ता, छलफल गरेर समस्या समाधान तर्फ चासो नदिएको देखिन्छ ।
जनमत पार्टीका अध्यक्ष राउतले मधेसवादी दलको सरकार प्रदेशमा भए पनि जनताको समस्या सम्बोधनमा चासो नदिएको बताउँछन् । सरकारले समस्या सम्बोधन नगरेपछि आफूहरु बाध्यभएर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष राउतले बताए ।
‘जनमत पार्टीले जनताको मुद्दा उठाइरहेको छ । हामीलाई कसैको ‘स्पेस’ चाहिएन । उनीहरूले राम्रो काम गरिरहेका छैनन् । प्रदेश सरकार चलाएको चार वर्ष भयो । स्थानीय सरकार त झण्डै पाँच वर्ष भयो । जनताको मुद्दा सम्बोधन गरेनन्’ राउतले भने, ‘अनि जनमत पार्टीले ती मुद्दा उठाउनुपरेको छ । मुद्दा सम्बोधन गरिसकेको भए, मलखाद उपलब्ध गराएको भए यो माग नै उठ्दैनथ्यो नि !’
जसपाले १५ वर्षदेखि राज गरिरहेको बताउदै उनले मधेसी जनताले विकल्प खोजेको बताए । ‘अहिले जनमत पार्टी आएको छ । त्यसपछि अरू पार्टी पनि आउँदैन भन्ने छैन । यो निरन्तर प्रक्रिया हो । भोलि जनमत पार्टीले पनि माग पूरा नगरे अरू पार्टी आउँछन्’ उनले भने ।
‘राजनीतिक पार्टी कुनै ठेक्कापट्टा होइन । जसपा सधैं रहनुपर्छ अर्काे आउनुहुँदैन भनेर हुन्छ ? त्यस्तो त हुँदैन । जसले राम्रो काम गर्छ, जनताको माग सम्बोधन गर्छ ऊ न आउने हो’ राउतले भने, ‘जसपाले लठैतको बलमा जंगलराज लादिरहनुहुँदैन नि ! आन्दोलन गर्ने सबैको अधिकार छ । माग राख्ने र राजनीति गर्ने अधिकार सबैको छ । ऊ मधेशमा म मात्रै रहन्छु अरू नआओस् भन्छ, त्यो कसरी हुन सक्छ ?’
आफूहरुको माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाउदै अगाडी बढने योजना जनमत पार्टीको छ । एक सरकारले वार्ता गरेर समस्या समाधान नगरी ढिलाई गरिरहेको छ भने अर्को तर्फ जनमत पार्टीले यही मुद्धा उठादै जनताको मन जितेर आगामी निर्वाचनमा सहभागि भएर मधेसमा आन्दोलन राजनीतिक स्पेश स्थापित गर्ने रणनीतिमा छ ।