मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अन्ततः पार्टी परित्याग गरेका छन् । मंसिर तेस्रो साता सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएलगत्तै त्यसको दोष पूर्वराजा र निर्मल निवासलाई दिँदै आएका थापाले आफूले सारेका माग सुनुवाइ नभएको भन्दै मंगलबार राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु, पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ गृहजिल्ला मकवानपुर पुगेर उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
उनले विज्ञप्तिमार्फत अघि भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु, पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’
लामो समय राप्रपाको नेतृत्वमा रहँदै आएका र मंसिर तेस्रो साता सम्पन्न एकता महाधिवेशनमा आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १ सय ९९ मत अन्तरले पराजित भएका थापाको पार्टीबाट बहिर्गमन कुनै आकस्मिक निर्णय होइन । अध्यक्षमा पराजित भएको दिन उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जुन धारणा राखेका थिए, त्यसले उनी कुनै पनि दिन राप्रपाबाट अलग हुन्छन् भन्ने संकेत दिन्थ्यो ।
उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
उनी यतिमै सीमित भएका थिएनन् । महाधिवेशनमा पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै त्यसको छानबिन हुनुपर्ने, छानबिन नभए पार्टी दुर्घटनामा पर्ने चेतावनीसमेत दिँदै आएका थिए । आफ्ना असन्तुष्टि र माग सम्बोधन गर्न उनले नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई दबाब पनि दिँदै आएका थिए । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सोमबार आफूनिकट पदाधिकारी र सदस्यको भेला राखेर उनले आफ्नो मागप्रति पार्टी नेतृत्व गम्भीर नभएको भन्दै नयाँ विकल्पका लागि तयार रहन आग्रहसमेत गरेका थिए । भेलालगत्तै मकवानपुर गएका उनले भोलिपल्ट त्यहीँबाट राप्रपापाट अलग भएको घोषणा गरेका हुन् ।
सुकेधारामा भएको भेलामा उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको बताएका थिए । ‘अध्यक्षजीसँग मेरो घरमै सामान्य कुरा भयो । मैले दुईपटक लिखितपत्र बुझाएर उठाएका विषय समाधानतर्फ उनी गम्भीर भएको मैले पाइनँ,’ उनले भनेका थिए्, ‘अध्यक्षको कुराअनुसार समस्याको निकास दिने सम्भावना रहेन । अहिलेसम्म निकास दिने छाँट नदेखिएकाले अब विकल्प खोज्नैपर्ने भएको छ ।’
भेलामा उनले भनेका थिए, ‘मैले उठाएका राजनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनुभएन, मैले उठाएका माग सम्बोधन भएमा पार्टीमै बस्छु । यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु । त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ ।’
भेलामार्फत नै थापाले अध्यक्ष लिङ्देनलाई तीनवटा माग पूरा गर्न अल्टिमेटमसमेत दिएका थिए । ती माग सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी पनि उनले दिएका थिए । थापाको नयाँ यात्रा भने राजसंस्था छाडेर हिन्दूवादी दल खोल्ने उनको तयारीसँग जोडेर हेरिएको छ ।
भेलामा उनले भनेका थिए, ‘अब लामो समयसम्म प्रतीक्षा गरेर रहन सकिँदैन । पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको छ, कार्यकर्तामा विचलन देखिएको छ । यही अवस्थामा स्थानीय चुनाव आइरहेको छ । हामीले यो अवस्थामा तीन विषय निराकरण गरिएन भने निरीह र लाचार भएर यो सबै घटनाक्रमको साक्षी भएर बस्न सकिन्न ।’
उनले अगाडि भनेका थिए, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन । तर, बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरु हुन्छ । म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस् । हामी निर्णायक घडीमा आइपुगेका छौं ।’
पार्टी महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपलगायत विषय’bout छलफल गरेर पार्टी नेतृत्वबाट निराकरण भयो भने आफू राप्रपामै रहने र देशैभर संगठन विस्तारका काममा लाग्ने उनको भनाइ थियो ।
त्यसो त थापाले यसअघि नै राष्ट्रिय एकता अभियान पुस २७ गतेदेखि सञ्चालन गर्ने तयारी पनि गरेका थिए । तर, कोरोनाको बढ्दो संक्रमणलाई कारण देखाउँदै तत्कालका लागि त्यो अभियान स्थगित गर्न पुगेका थिए ।
थापाले बोलाएको भेलामा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, राजीव पराजुली, कुन्ती शाही, जयन्त चन्द, तोरणबहादुर गुरुङ, विक्रमबहादुर थापा र नीलकण्ठ काफ्लेलगायत सहभागी थिए । स्रोतका अनुसार, भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने हतारमा निर्णय नगर्न आग्रह गरेका थिए ।
२३ महिनामै तोेडियो ‘गीता’को कसम
पटकपटक टुटफुटको राजनीतिबाट गुज्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि २८ फागुन २०७६ एउटा विशेष दिन थियो । त्यस दिन कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा संयुक्त, प्रकाशचन्द्र लोहनी नेतृत्वको अर्को समूहबीच पार्टी एकीकरण भएको थियो । समयसमयमा पार्टीमा भएका टुटफुटबाट हैरान भएका राप्रपा कार्यकर्ताहरूमा पार्टी एकीकरणले उत्साह थपेको थियो ।
तर, त्यो उत्साह लामो समयसम्म टिक्न सकेन । पार्टी एकीकरणपछि राणा, थापा र लोहनीले संयुक्त रूपमा पार्टीको नेतृत्व गरेका थिए । मंसिर दोस्रो साता भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएको साढे दुई महिनापछि थापाले राप्रपाबाट अलग हुने घोषणा गरेपछि पार्टी कार्यकर्ता पुनः निराश बनेका छन् । अर्काे दल घोषणा गर्ने उनको तयारीले पार्टी कार्यकर्ता थप निराश बनेका छन् । थापाले गृहजिल्ला मकवानपुर पुगेर मंगलबार राप्रपा छाडेको घोषणा गरेका हुन् ।
राप्रपाबाट अलग हुने घोषणा उनले त्यसदिन व्यक्त गरेको विचारसँग पनि कतै पनि मेल खाँदैन । पार्टी एकीकरण कार्यक्रममा उनले त्यस दिन हिन्दुहरूको धर्म ग्रन्थ गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । त्यसलाई बिर्सिंदै उनी बाटोमा लागेका छन् ।
त्यस दिन उनले भनेका थिए, ‘सबै कार्यकर्ता र देश तथा विदेशबाट टेलिभिजन हेरिरहनुभएका, पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्छु म कहिले पनि पार्टी फुटाउने छैन, तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता लिएको छु । यो गीतालाई हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन ।’
त्यसपछि उनले सो गीता अरूलाई पनि चाहिने भन्दै पोडियममै छाडिदिएका थिए । त्यस दिन एकताबाट खुसी भएका कार्यकर्ताले थापा, राणा र लोहनीलाई गीता छोएर कसम खान दबाब दिएका थिए । सोही दबाबअनुसार नै थापाले गोजीबाट गीता छोएर कसम खाएका थिए ।
राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्ने भन्दै थापाले गोजीबाट ‘गीता’को किताब निकाल्दै त्यस्तो प्रतिज्ञा गरेका थिए । तर, उनको कसम पार्टी अध्यक्षमा पराजित भएको दुई महिनासम्म पनि टिक्न सकेन ।
त्यसबखत पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतिज्ञा गरेका थिए । तर, थापाले मंगलबार जबरा र लोहनीसहित सिंगो पार्टीको तप्काका अगाडि गरेको प्रतिज्ञा गृह नगर मकवानपुरको हेटौंडा पुगेर तोडेका हुन् ।
‘विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरूका बीचमा राख्नेछैन,’ गीता छुँदै थापाले त्यसबखत भनेका थिए । ‘विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, एकअर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावनाअनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु,’ त्यसबखत उनले भनेका थिए ।
त्यति मात्रै होइन थापाले विगतमा पटकपटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैनन् भनेर विश्वास मान्न नसक्नु सामान्य भए पनि नकारात्मक सोच त्याग्नुपर्नेसमेत भनेका थिए ।
‘एकता हुन पाएको छैन फुट्छ कि भन्ने चिन्ता छाड्नुस्, अब नकारात्मक सोच राख्ने होइन, त्यस्तो सोच त्याग्नुपर्छ,‘ थापाको भनाइ थियो ।
त्यसबेला कसम खाने राणा र लोहनी भने एकता महाधिवेशनमा उम्मेदवार नै बनेनन् । लोहनी लिङ्देनको पक्षमा उभिएका थिए । राणा भने कतै पनि खुलेका थिएनन् ।
थापालाई पुनर्विचार गर्न राप्रपाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ । थापाले मंगलबार पार्टीबाट अलग हुने घोषणा गरेलगत्तै बसेको राप्रपा पदाधिकारीको बैठकले उनलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो ।
‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगततवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा राप्रपा राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाकोे सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । राप्रपाले यस घटनाबाट दुविधामा नपर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेको छ ।