काठमाडौं । प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक २ फागुनमा बस्नेगरी सरेको छ । स्थानीय तहको निर्वाचन घोषणापछि पहिलोपटक बस्न लागेको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा सारिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक सरकारको तर्फबाट स्थगित गर्न भएको आग्रहअनुसार स्थगित भएको हो । जनताको समस्याहरूमाथि छलफल हुने र कानुन निर्माणमा व्यस्त हुनुपर्ने संसद् प्रमुख प्रतिपक्षको अवरोधका कारण बस्न सकेको छैन । सुचारु रूपमा अघि बढाउने विषयमा विपक्षीसँग समेत परामर्श गरी बैठक सञ्चालनका लागि कार्य व्यवस्था समितिको बैठकसमे बोलाइएको सन्दर्भमा मंगलबार एक्कासि साँझ बैठक स्थगित गरिएको हो ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए । सरकारले सभामुखमार्फत संसदमा पेस गरेका सन्धिसम्झौता, विधेयक रोकिने विषयमा चासो व्यक्त गरिरहेको छ । गठबन्धन सरकार भए पनि सरकार र सभामुखबीच सम्बन्धमा केही चिसोपना आएको सभामुखको सचिवालय स्रोतले जनाएको छ ।
सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न निर्देशन दिएअनुसार संसद् सचिवालयले आगामी बैठक फागुन २ गते दिउँसो १ बजेका लागि बोलाएको छ । प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर, त्यस विषयमा सत्तारूढ गठबन्धनभित्रै सहमति भने जुटेको थिएन ।
एमसीसी’bout सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ । एमसीसीको विषयमा प्रमुख प्रतिपक्ष दलका नेताको धारणा लिएपछि आफूले संसद्मा पेस गर्ने तयारी गरेका प्रधानमन्त्री सत्तारूढ दलहरूसँगको छलफलमा व्यस्त छन् । उनले गठबन्धन दलहरूसँगको सहमतिमा एमसीसी संसद्मा टेबुल गर्ने आफ्नो प्रयास जारी राखेका छन् ।
मंगलबार मात्रै सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । सो कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन । सम्भावित कार्यसूची जारी गरेपछि सभामुख सापकोटाले बुधबार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । सो बैठकमा सरकारकोतर्फबाट मन्त्री बडूले एमसीसी टेबुल गर्ने विषय राख्ने तयारी थियो । प्रधानमन्त्री देउवाले मंगलबार साँझमन्त्री बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको हो ।
यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो । संघीय संसद्का दुवै सदन लगातार स्थगित हुँदै आएका छन् । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा फागुन २ सम्मलाई स्थगित गरिएको छ । राष्ट्रिय सभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ । सुरुमा कोभिड संक्रमणका कारण बैठक स्थगित गरिएको आन्तरिक सूचना जारी गरिए पनि बुधबारको बैठक भने एमसीसीको विषयले गर्दा सरेको संघीय संसद्का कर्मचारीहरू नै बताउँछन् ।
प्रमुख प्रतिपक्षी एमालेले माधव नेपाललगायतका सांसदहरूमाथि एमालेले गरेको कारबाही सदर गर्नुपर्ने या सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान लिएर निरन्तर संसद्मा नाराबाजी गर्ने र अवरोध पु¥याउने काम गर्दै आएको थियो । तर पनि सत्ता पक्षले आपूmलाई आवश्यक प्रस्ताव भने अवरोधकैबीच पनि पारित गर्दै आएको छ । पछिल्लोपटक संसद् भने लामो समयदेखि मिति तोकिने तर नबस्ने नियति दोहोरिरहेको छ ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेपछि प्रतिपक्षले सदन सुचारु गर्न दिने संकेत पाए पनि प्रधानमन्त्रीले एमसीसीको विषयमा सत्तारूढ दलहरूसँगको सहमति खोज्न समय माग गरेको सभामुख सचिवालयले जनाएको छ ।
गत पुस ६ गतेदेखि सुरु भएको संसद्को प्रतिनिधिसभा बैठक त्यसपछि ८ पुसमा बसेको थियो । माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको लागि १८ पुससम्म स्थगित गरिएको बैठक २२ गते बोलाइएको थियो । तर, २२ गते नेकपा एमालेले आफनो पार्टीको जिल्ला अधिवेशन रहेकोले सार्न आग्रह गरेपछि बैठक स्थगित भएको थियो । स्थगित बैठक पुस २८ गते बोलाइएको थियो । तर, त्यसबेला पनि बस्न सकेन । २८ गते कोरोना महामारीले स्थगित बैठक माघ ३ गते बोलाइएको थियो । तर, कोरोना संक्रमण बढेपछि १६ गतेको लागि बैठक सारिएको थियो । १६ गतेका लागि बोलाइएको बैठक पनि २६ माघ अर्थात् बुधबारका लागि सारिएको थियो । त्यो बैठक पनि स्थगित गरी फागुन २ गतेको लागि सारिएको छ ।
सरकार र प्रतिपक्षबीच संसद् अवरोध खुलाउने विषयमा कुनै सहमति एकातिर जुटेको छैन भने अर्काेतिर सरकारले पनि संसद्लाई नियमित रूपमा खुलाउनेतिर कुनै चासो देखाएको छैन । जसका कारण संसद् निरन्तर प्रभावित बन्न थालेको छ । राष्ट्रिय सभा बैठक पनि पटकपटक मिति तोकिने र विशेष कारण देखाउँदै स्थगित गर्ने गरिँदै आएको छ ।