सडक विस्तार : स्थानीय उत्पादनले बजार पाउन थाल्यो

दार्चुला। दार्चुला सदरमुकाम खलंगाबाट २३ कोष टाढा रहेको अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित जीप सञ्चालन हुन थालेको छ । मल्देश भनेर चिनिने अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म जीपहरु चल्न थालेको हो ।

दुई वर्ष अघिसम्म सदरमुकाम खलंगाबाट दुई देखि तीन दिन लगाएर यो क्षेत्रमा पुग्न सकिन्थ्यो । यो क्षेत्रका स्थानीयलाई मल्देशी भनिन्थ्यो । गाउँपालिकाको कुनै पनि वडा सडक सञ्जालमा जोडिएको थिएन् ।

सडक नभएका मल्देशबासीमा विकटताको अनुभव थियो । त्यहि विकटतालाई ध्यान दिएर स्थानीय तह निर्माण गर्दा झण्डै साढे छ हजार मात्र जनसंख्या रहेको छुट्टै स्थानीय तह निर्माण गरिएको हो । भूगोल ठूलो भएपनि जनसंख्या थोरै थियो ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले उद्घोष गर्नुभयो, ‘मेरै कार्यकालमा सडक सञ्जालमा जोड्छु ।’ ‘कम्तीमा मकरीगाडसम्म भए पनि सडक चाँडो बनाउनुपर्छ । आफ्नो कार्यकालको पहिलो सुरुवात सडक निर्माण प्राथमिकता दिएर लाग्छु,’ उनको भनाई थियो ।

निर्वाचित भएलगत्तै स्थानीय तहका जनप्रतिनिधिका साथ मन्याल दार्चुला बैतडी सडक डिभिजन कार्यालय पाटन गए । एक बसमा जनप्रतिनिधी र स्थानीयसहित मकरीगाडसम्मको सडकको ट्याक खोलिनुपर्छ भन्ने एकसुत्रीय माग थियो ।

सोहि दबाब र धर्नाका कारण यो वर्ष अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म सडकको ट्याक खुलेको छ । गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल भन्छन्, ‘त्यहि धर्नाको कारण यो क्षेत्रमा सडक निर्माण भयो ।’ सडक चाडो पुर्याउनमा थप ईट्टाको काम गर्यो, मकरीगाड हाईड्रोपावर लिमिटेड र अगरातोस निर्माण सेवा प्रालिले ।

अहिले ती विकट भनेर चिनिने वस्ती पुग्न अहिले सदरमुकाम खलंगाबाट ५/ ६ घण्टामै पुगिन्छ । सडक पुगेपछि अपिहिमालका स्थानीयले सुगमताको अनुभव गर्न थालेका छन् । मकरीगाडमा सडक पुगेपछि अहिले बजार विस्तार भएको छ ।

अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मकरीगाड भन्दा माथिका वस्ती हुन् । भने वडा नम्बर ५ को विगतदेखिको बजार मकरीगाड नै हो । अहिले यो क्षेत्रमा दिनहु होटल तथा पसलहरु खुल्ने क्रम बढेको बताउनुहुन्छ, मकरीगाडका व्यापारी धनसिह लोथ्याल । पाँच वटा वडाको संयुक्त बजार मकरीगाड क्षेत्र बनेको छ ।

मकरीगाडमै मकरीगाड हाईड्रोपावरले १० मेगावट जलविद्युत उत्पादन गर्दैछ । जसको कारण अहिले मकरीगाडमा नयाँ बजार विस्तार भएको हो । यो क्षेत्रमा निकै चहलपहल बढेको छ । अपिहिमालमा उत्पादन हुने आलू, सिमि तरकारी सजिलै मकरीगाड खच्चड र भरीयामार्फत पुग्छ । मकरीगाडबाट खाद्यान्न लगायतका सामाग्रीहरु माथि जान्छ ।

विटुले–पारिबगर–मकरीगाड सडक निर्माणपछि खण्डेश्वरीमा उत्पादन हुने स्थानीय आलू, सिमी सिधै सदरमुकाम खलंगा बजारसम्म पुग्न थालेको छ । सडक माथी उक्लिएसँगै अन्य क्षेत्रबाट मकरीगाडमा व्यापार व्यवसाय गर्नेहरु बढेका छन् । खण्डेश्वरीको आलू गाउँमै ३० रुपैयाँ प्रतिकिलोमा विक्री हुने गरेको उनले बताए ।

‘रोड आएपछि बगर क्षेत्र बजार बन्यो,’ उनले भने, ‘व्यापार व्यवसाय फस्टाउने भएपछि अहिले दिनहु नयाँ पसल थपिने क्रम बढेको छ ।’

दुई वर्षअघिसम्म त केही सामान किन्न मार्मा गाउँपालिकाको सेलविसा, पारिबगर लटिनाथसम्मै पुग्नुपथ्र्यो, अपिका स्थानीय गगन लोथ्यालले भने, त्यो भन्दा सदरमुकाम खलंगा र गोकुलेश्वर बजार जानुपथ्र्यो, तर अहिले सडक माथि उक्लिदै  गएपछि बजार पनि माथि बन्दै छ ।

गोकुलेश्वर, विटुले सडक हुँदा विटुलेमा मार्मा र अपि हिमालको बजार थियो । विटुलेबाट लटिनाथ सेलविसासम्म सडक पुगेपछि बजार लटिनाथ, सेलविसा र धरमघरमा बन्यो । पारिबगरबाट ओखलसम्म सडक पुग्दा ओखलमा चहलपहल बढ्यो । यो वर्ष मकरीगाडसम्म सडक पुगेपछि मकरीगाडमा बजारको चहलपहल छ ।

धरमघरमा लामो समयसम्म राम्रो सञ्चालन भएका होटल बन्द भए । सडक माथि गएसँगै विटुले पारिबगर मकरीगाड सडक खण्डका बीच क्षेत्रमा पर्ने अधिकांश पसल तथा होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

मकरीगाड भन्दा माथि सडक न बढेसम्म मकरीगाड क्षेत्र नै बजार हो, व्यापारी विशन धामीले भने । अहिले मकरीगाडमै अहिले दुई दर्जन होटल तथा पसलहरु थपिएका छन् । विगतमा ५/७ होटल तथा पसलहरु थिए । त्योबेला चहलपहल खासै थिएन्, अहिले दिनहु पसलहरु बढ्नेक्रम जारी छ । मकरीगाड क्षेत्रको बगर तथा ढुंगा भएको क्षेत्रमा समेत होटलहरु निर्माण भइरहेका छन् ।

सडकको पहुँचका कारण अपिहिमाल उत्पादनहुने वस्तुले बजार पाउन थालेको छ । विगतमा सडेर नष्ट हुने आलू तरकारीहरु अहिले बजारसम्म पुग्न थालेको व्यापारीहरु बताउँछन् । सडक निर्माणले बजारीकरणमा टेवा पुगेको बताउँछन् गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल । सडकको कारण अपिहिमालको मुहार फेरिन लागेको भन्दै केहि वर्षभित्रै गाउँपालिका केन्द्रसम्म सडक पहुँच पुर्याइने उनले बताए ।

गाउँपालिकाले मकरीगाडसम्म सडक पहुँच पुर्याउनमा विशेष योगदान पुर्याएको भन्दै अगरतोस निर्माण सेवा प्रालिका प्रबन्धक निक्सन आचार्यलाई सम्मान समेत गरेको छ । ‘निर्माण व्यवसायीले राम्रो काम गरेबाफत सम्मान गरिएको हो,’ अध्यक्ष मन्यालले भने ‘अन्य क्षेत्रमा निर्माण व्यवसायीले लार्पावाही गरेर विकास हुन सकेन्, तर हाम्रो क्षेत्रमा गाउँपालिकाबासीको सडक सपना पूरा गर्ने गरी निर्माण व्यवसायीले काम गरेकै कारण सम्मान गर्यौ ।’

बिटुले पारिबगर खण्डेश्वरी सडकलाई अहिले सुदूरपश्चिम प्रदेशको गौरबको योजना अन्तर्गत काम अघि बढाइने भएको छ । सडक डिभिजन कार्यालय बैतडी पाटनले विटुलेदेखि अपिहिमालसम्म जोड्ने गरी चालू आर्थिक वर्षमा बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्र आह्वान भएको छ, सडकलाई स्तरोन्नती गर्दै लग्ने योजना रहेको सडक कार्यालय बैतडीले जनाएको छ ।

 

फोटो मकरीगाडमा निर्माण भएको बजार

तपाइको प्रतिक्रिया
(Visited 590 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण