काठमाडौं । बहालमा रहँदा ‘दबङ’ छवि बनाएका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले गत २४ मंसिरमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी घोषणा गरे । पार्टी घोषणा कार्यक्रममा उनले देशमा अहिले कुशासन व्याप्त रहेकाले त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका थिए ।
‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौं । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौं । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । मैले सबै साथीहरूलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन । तर, राजनीतिमा लागेकाहरू पेसाकर्मी भए, मेवा खाए, नागरिकहरूलाई केही वास्ता गरेनन् । हामी तपार्इंहरूलाई कहिल्यै पनि धोका दिँदैनौं,’ घोषणा कार्यक्रममा उनले भनेका थिए ।
प्रहरी संगठनमा रहँदा सधैं चर्चाको शिखरमा रहेका उनले अहिले आफ्नै नेतृत्वमा नयाँ दल खोलेको कसैले महसुससमेत गर्न सकेका छैनन्, दबङ’ शैलीको काम त टाढाकै कुरो भयो ।
अवकाशपछि राजनीतिमा छिरेका उनी एक्ला पूर्वउच्चपदस्थ प्रहरी अधिकृत होइनन्, दर्जनौं छन् । अन्य प्रहरी अधिृकत र उनमा के भिन्नता छ भने अरू नाम चलेको पार्टीमा छिरे भने उनले आफ्नै नेतृत्वमा दल गठन गरे । तर, प्रहरीमा हुँदा नाम र सम्मान दुवै कमाएकाहरू राजनीतिमा भने खासै सफल हुन सकेको अनुभव गर्न सकिदैनँ ।
लामो समयसम्म सुरक्षा निकायमा रहेका उच्चपदस्य अधिकृतहरू राजनीतिमा प्रवेश गर्नुहुन्छ कि हुन्न त्यो छुट्टै बहसको विषय बन्न सक्ला । तर, राजनीतिमा प्रवेश गरेका पूर्वप्रहरी अधिकृतहरूको ‘पोजिसन’’bout यहाँ केही खोतल्ने प्रयास गरिएको छ ।
राजनीतिमा प्रवेश गरेर हालसम्म माथिल्लो पदमा पुगेका व्यक्ति पूर्वप्रहरी महानिरीक्षक डीबी (दिलबहादुर) लामा हुन् । लामा नेपाली कांग्रेसमा प्रवेश गरी सहायकमन्त्रीसमेत हुन सफल भएका थिए । भूपू प्रहरी संघको अध्यक्षसमेत भइसकेका लामा ५० को दशकदेखि कांग्रेस राजनीतिमा होमिएका थिए । उनी २०५६ सालमा नेपाली कांग्रेसबाट रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासन सहायकमन्त्री भएका थिए । लामाको निधन भइसकेको छ ।
प्रहरी महानिरीक्षक भएर राजनीतिमा होमिएका अर्का व्यक्ति हुन् धु्रवबहादुर प्रधान । प्रहरी संगठनबाट अवकाश पाएलगत्तै प्रधान राप्रपामा प्रवेश गरेका थिए । हाल राप्रपाको महामन्त्रीसमेत रहेका प्रधान सरकारी लाभको पदमा भने पुग्न सकेका छैनन् ।
प्रहरी नेतृत्वबाट अवकाश पाएर राजनीतिमा लागेका अर्का प्रहरी महानिरीक्षक हुन् प्रदीपशमशेर राणा । पूर्वप्रहरी महानिरीक्षक राणा शरतसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय मधेस सामाजवादी पार्टीमा प्रवेश गरेका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी रौतहटबाट उठेका थिए । तर, सन्तोषजनक मत पाउन सकेनन् । त्यसयता उनी राजनीतिमा निष्क्रिय छन् ।
प्रहरी महानिरीक्षकबाट अवकाश पाएलगत्तै रवीन्द्रप्रताप शाह पनि राजनीतिमा प्रवेश गरेका थिए । पूर्वप्रहरी महानिरीक्षक शाहलाई तत्कालीन माओवादीले सामानुपातिक कोटाअन्तर्गत संविधानसभा सदस्य बनाएपछि त्यसले एक किसिमको तरंग नै ल्याएको थियो ।
त्यसबेला पूर्वएआईजी राजेन्द्रबहादुर सिंहले भनेका थिए, ‘माओवादीको तर्फबाट राज्यमन्त्रीस्तरीय जिम्मेवारी लिएर सरकारमा जाने प्रस्ताव आएको थियो तर प्रहरी कमान्डरको नाताले ६१ भन्दा बढी माओवादीबाट मारिएका प्रहरी कर्मचारीको लास बोकेको हातले माओवादीको झन्डा कसरी बोक्ने ?’ भनेर गइएन् । तर, हिजो माओवादीलाई ठोक्न आदेश दिने थुप्रै माओवादीको झन्डा बोक्न गए ।’
शाहपछि देखिने गरेर कुनै पनि पूर्वप्रहरी महानिरीक्षकले राजनीतिक दलको सदस्यता लिएको देखिँदैन । यद्यपि, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गत कात्तिकमा एमाले प्रवेश गर्न लागेको खुबै हल्ला चलेको थियो । तर, सो हल्ला अहिलेसम्म हल्लामै सीमित बनिरहेको छ ।
प्रहरी नेतृत्वमा पुग्न नसकेपछि डीआईजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका नवराज सिलवाल अहिले प्रतिनिधिसभा सदस्य छन् । उनी ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य बनेका हुन् । पूर्वप्रहरी अधिकृतबाट हालको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी एक मात्र व्यक्ति हुन् ।
सिलवाललाई प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेका थिए । ओलीले विस्तार गरी थपेको ५ सय ५६ केन्द्रीय सदस्यमा उनी पनि परेका थिए ।
यस्तै, नेपाल प्रहरीका पूर्वएआईजी गणेशराज राई पनि राजनीतिक दलहरूको छहारीमा ओत लाग्ने पूर्वप्रहरी अधिकृतमा चिनिन्छन् । पूर्वएआईजी राईले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट राजनीतिमा आउन खोजेका थिए । तर, नयाँ शक्तिले गरिखाने नदेखेपछि उनी निष्क्रिय बने । राई सो पार्टीका केन्द्रीय सदस्य एवं सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखसमेत भएका थिए । त्यसयता राई र राजनीतिको भेटघाट भएको देखिएको छैन । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पनि अहिले अस्तित्वमा छैन । डा. भट्टराई अहिले राजपामा छन् ।
प्रहरीका उच्च अधिकारीहरू सेवाबाट अवकाशलगत्तै राजनीतिक दलमा प्रवेश गर्ने क्रममा पूर्वडीआईजी पार्वती थापा पनि यसबाट अछुतो रहन सकिनन् । उनी दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी थिइन् । अवकाशपछि कहिले नेपाल त कहिले विदेश बस्दै आएकी थापाले फोरममा प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेतसमेत गरेकी थिइन् । तर, पनि राजनीतिमा उनको प्रवेशले खासै अर्थ राखेको देखिँदैन ।
नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरीका पूर्व एआईजीद्वय रिषभदेव भट्टराई र कृष्णकुमार तामाङ पनि दलको झन्डा समात्नपछि परेनन् । भट्टराईले नयाँ शक्ति पार्टीमा प्रवेश गरेर राजनीति गर्न खाजेका थिए । तर, उनी सफल भएनन् । उनी बरु उल्टै भ्रष्टाचार काण्डमा दोषी ठहर भए । विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै ९ महिना कैद र ७९ लाख ८७ हजार २ सय २५ रुपैयाँ बिगो जरिमाना हुने फैसला गरेपछि उनी गुमनाम छन् । अदालतको आदेशमा भट्टराईले पदमा हुँदा १ करोड २१ लाख ४९ हजार ६ सय ५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ । तामाङ भने संघीय समाजवादी फोरममा लागेका थिए ।
उता, केही समयअघि नेपाल प्रहरीको एउटा समूहले पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गरेको थियो । यसका अध्यक्ष बनेका थिए पूर्वडीएसपी चुडाबहादुर लामा । पूर्वएआईजी विनोद सिंह, पूर्वएसएसपी वसन्त कुँवर सल्लाहकार रहेको सो पार्टी लामो समयसम्म अस्तित्वमा रहन सकेन । सो पार्टी तत्कालीन एमालेमा विलय भएको थियो । तत्कालीन एमालेले लामालाई समानुपातिक सांसदका लागि उम्मेदवारको सूचीमा राखेको पनि थियो । तर, उनको सांसद बन्ने पालो आएन । बरु प्रतिनिधिसभाको आयु नै सकिन लागिसकेको छ ।
पूर्वप्रहरीको एउटा समूह पार्टी खोलेर तत्कालीन एमालेमा विलय भएपछि पूर्वप्रहरीकै अर्को समूहले नयाँ संस्था स्थापना गरेको छ । पूर्वएआईजी भीष्म प्रसाईंको संयोजकत्वमा ‘नेपाल पूर्वप्रहरी अधिकृत क्लब’ गठन गरिएको छ । अवकाशप्राप्त पूर्व प्रहरी अधिकृतलाई गोलबद्ध गर्न र देश, समाज तथा पूर्वप्रहरीको हितमा काम गर्न क्लब गठन गरिएको बताइए पनि उनीहरूले कस्ताकस्ता गतिविधि गरिरहेका छन् भन्ने’bout केही जानकारी गराइएको छैन । अवकाश प्राप्त प्रहरीकै अर्को संगठन पनि क्रियाशील छ । पूर्वएसएसपी वसन्त कुँवरले पूर्वप्रहरी संगठनको नेतृत्व गरिरहेका छन् ।
किन राजनीतिक छहारी खोज्छन् पूर्वउच्चपदस्थ प्रहरी अधिकारीहरू ?
पूर्वगृह सचिव गोविन्द कुसुम मुख्यतः तीनवटा कारणले पूर्व उच्चपदस्थ प्रहरी अधिकारीहरू राजनीतिक दलको झन्डा समात्न पुगेको बताउँछन् । शक्तिप्रतिको आशक्ति, अवकाशपछि के गर्ने भन्ने योजना नहुनु र सरकारले दक्षता उपयोग नगर्नु नै पूर्व उच्चपदस्थ प्रहरी अधिकारीहरूले राजनीतिक दलको झन्डा बोक्नुको कारण रहेको उनको ठम्याइ छ ।
‘माथिल्लो पदमा रहँदा शक्ति र सुविधाको अभ्यास प्रशस्तै हुन्छ । सेवानिवृत्त भइसकेपछि त्यसमा कमी आउँछ । पदमा रहँदा उनीहरू शक्तिको दुरुपयोग र सदुपयोगको साक्षी हुन्छन् । अवकाशपछि पनि उनीहरूमा पदमा रहँदाजस्तै शक्ति र सुविधा उपभोग गर्ने चाहना जागृत हुन्छ । अवकाशपछि व्यवस्थित योजना बनाउन नसक्दा र आफूसँग भएको दक्षता सरकारले पनि उपयोग नगर्दा कतिपय सक्रिय जीवन बिताउन राजनीतिमा लागेका हुन्छन् । यसै कारण केही पूर्वप्रहरी अधिकृत पनि राजनीतितर्फ आकर्षित भएका छन्,’ उनको भनाइ छ । त्यसो त नेतृत्व तहसम्म पुगिसकेका पूर्वसुरक्षा प्रमुखहरूले राजनीतिक दलको झन्डा समात्न नहुने धारणा राख्छन् सशस्त्रका पूर्वआईजीपी सनतकुमार बस्नेत । ‘सुरक्षा संगठनका पूर्व प्रमुखहरू राष्ट्रकै साझा व्यक्ति हुन् । उनीहरूले दलको झन्डा बोकेर हिँड्नु राम्रो होइन,’ उनले भने ।