अब मात्र दुई जिल्ला बाँकी छन् । नत्र, ७५ जिल्ला त उनका क्यामरामा सजिइसके । देशका कुना–कन्दरामा उनको लेन्स नतेर्सिएको कमै हुनुपर्छ । हो, तिनै देश खिच्ने पात्र हुन्, भरतबन्धु थापा । अब त उनलाई ‘नेपाल बन्धु’ भन्दा पनि फरक नपर्ला ।
‘क्यामरा मेरो आत्मा हो,’ थापा सुनाउँछन्, ‘मैले देश चिनें, क्यामराले मलाई चिनायो ।’ ‘कुन दृश्य कहाँबाट कसरी लिने ?’ भन्ने ‘एंगल’मा उनको दख्खल पाको लाग्छ । पेसाले फोटो पत्रकार थापा अहिले ‘सेलिब्रेटी’ बनिसकेका छन् । विभिन्न रेडियो–टिभीमा उनका अन्तरवार्ता छाइरहेका छन् ।
त्यसो त, खिचेका फोटा क्यामरामै सीमित राख्दैनन्, थापा । फोटाका झन्डै आधा दर्जन पुस्तककै प्रकाशित छन् । पछिल्लो समय उनले आफ्ना ‘दृश्यकथा’ किताबका रूपमा ल्याएका छन् ।
थापाको नयाँ किताब ‘तस्बिरमा नेपाल’ भर्खरै प्रकाशनमा आएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ३ सय २० पृष्ठको किताबमा मेचीदेखि महाकाली र सगरमाथादेखि जानकी मन्दिरसम्मका पर्यटन, कला, संस्कृति र समाज उतारिएका छन् । ‘म संख्या बढाउनमात्र नयाँ जिल्ला टेक्दिनँ, जहाँजहाँ जान्छु, त्यहाँका कला, संस्कृति, प्राकृतिक सौन्दर्य र वन्यजीवन पनि क्यामरामा कैद गरेर ल्याउछु,’ थापा बारम्बार यी वाक्य दोहो-याइरहन्छन् ।
दैलेखमा जन्मिएका थापा भक्तपुर बासु उच्चमाविमा गणित शिक्षक र पिता प्रेमबहादुर सरकारी जागिरे थिए । २०५४ सालतिरै तस्बिरप्रति मोह देखेर पिता प्रेमबहादुरले थापाको हातमा क्यामरा थमाइदिए । ‘क्यामरा प्रेमी’ थापाले ‘शिक्षण पेसा’लाई सधैंका लागि ‘बाइबाइ’ गरे । अनि, सुरु भयो फोटो पत्रकारिता ।
पहिलो किताब ‘वाइल्ड वेस्ट नेपाल’ सन् २०१३ मा सार्वजनिक भएको हो । जसमा सुदूर र मध्यपश्चिम क्षेत्रको जनजीवन, संस्कार, संस्कृति र प्रकृति अंकित छन् । जसमा शैपाल, अपी, कञ्चनजंघा हिमाल, दूधकुण्डली, गुरिल्ला ट्रेल, यार्चागुम्बा ट्रेल, डोल्पो, हुम्ला, खप्तड, शुक्लाफाँटा, दैलेखको अखण्ड ज्वाला, रारा, स्वर्गद्वारीलगायत सो किताबमा समेटिएका छन् । ‘गन्तव्य कर्णाली २०१९’, ‘एक्पोलर फारवेस्ट २०२०’, ‘कर्णाली २०२०’, ‘गन्तव्य मध्यपुर’ र तस्बिरमा नेपाल २०२१ मा प्रकाशन भएका हुन् ।
‘अझै पनि राम्ररी देश घुम्न भ्याएकै छैन, सोचेजस्तो फोटो अहिलेसम्म खिच्न भ्याएकै छैनजस्तो लाग्छ,’ थापा भन्छन्, ‘नगएकै ठाउँको भए पनि मैले किताबमा ती फोटालाई स्थान दिएको छु ।’ नपुगेको र जान नभ्याएका ठाउ“का तस्बिरसमेत उनले किताबमा समेटेका छन् ।
उनलाई लाग्छ, ‘धेरैभन्दा धेरै आफन्त, साथीभाइ कमाइएको छ ।’ नौलो ठाउँ, नौलै मान्छे, परिवेश, वातावरण भेटिन्छन् । थापालाई यी सब आत्मीय लाग्छन् । अहिलेसम्म घुमिएका ७५ जिल्लासम्म उनी आफ्नै खर्चले पुगेका हुन् । ‘कतैकतै सहयोग पनि भएको छ,’ उनी भन्छन्, ‘त्यो पनि मैले बिर्सनुहुन्न, तर अधिकांश मेरै खर्च हो । यसमा मलाई कुनै दुःख मनाउ पनि छैन ।’
उनको एउटै उदेश्य हो, ‘विश्वले नेपाल चिनुन् । प्रकाशित आफ्पुस्तक स्वदेशी–विदेशी पर्यटकका मार्गदर्शक बनोस् ।’ पर्यटन प्रवर्धनमा ती पुस्तक ‘सहयोगी’ बन्नेमा उनी आशावादी पनि छन् । ‘मेरै पुस्तक हेरेर कतिपय ती ठाउँ गएका छन्, कति त जान लालायित छन्,’ थापाले सुनाए, ‘विदेशसम्म पनि किताब पुगेकाले यसबाट थप टेवा पुगेको महसुस गरेको छु ।’
अहिलेसम्म जति पनि पुस्तक प्रकाशन भए, ती सबै उनका लागि सिक्दै जाने पाटा बनेका छन् । कमी–कमजोरी केलाउ“दै भविष्यमा परिस्कृत गर्दै लैजाने सोच–योजना बनाएका छन् । एउटै पुस्तकमा खिचेका सबै फोटा अटाउन मुश्किलै हुन्छ । ‘नअटाइएका फोटा समेट्दै लानुपर्छ’ भन्ने मान्यता पाल्छन्, थापा । ‘यो हैन कि किताबमा नसमेटिएका फोटा फालिन्छन्,’ उनी भन्छन्, ‘ती फोटालाई पनि समय, परिस्थिति र परिवेशअनुसार समेट्दै आएको छु ।’
थापाको क्यामरामा ओलाङचुङगोलादेखि कालापानीसम्म कैद भइसकेका छन् । खप्तड, बडिमालिका, माथिल्लो डोल्पो, लुम्बिनी, रामजानकी मन्दिर, शुक्लाफाँटा र काठमाडौं उपत्यकाका जात्रापर्वसमेत उनको ‘आर्काइभ’मा छन् ।
क्यामरा हात परेपछि जाडो, गर्मी, भीर–पहाड, हिमाल र पहराले छेक्दैन उनलाई । थुप्रै पटक जोखिम सामना गरिसकेका थापालाई ‘एडभेन्चर फोटोग्राफी’ पनि उत्तिकै मन पर्छ । ‘खप्तडदेखि रारासम्मको १९ दिने र हुम्ला लिमी उपत्यकामा एक साताको पदयात्रा निकै कष्टपूर्ण थिए,’ उनी सम्झन्छन्, ‘रारा त ६ पटकभन्दा बढी पुगिसकेको छु ।’