काठमाडौं । सरकारले झन्डै डेढ वर्ष अगाडि भारतबाट ल्याएर सञ्चालन हुन नसक्दा थन्किएर बसेको रेल औपचारिक रूपमा सञ्चालनका लागि उद्घाटनको गृहकार्य थालेको छ ।
सरकारले रेल सञ्चालनका लागि गत १ फागुनदेखि यात्रुबिना नै परीक्षणका रूपमा सञ्चालन गर्दै आएकोमा अब औपचारिक रूपमा उद्घाटन गरेर व्यावसायिक रूपमा नै सञ्चालन गर्न लागिएको हो ।
जयनगर–कुर्था खण्डमा चल्ने रेलको औपचारिक उद्घाटनका लागि रेल सञ्चालनको जिम्मा पाएको भारतीय रेलवे कम्पनी, कोंकणले दुईवटा मिति प्रस्ताव गरेको छ । रेलवे कम्पनीले कोंकणले आगामी १६ फागुन र १७ फागुनका लागि मिति प्रस्ताव गरेको जनाएको छ ।
सो मितिमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले भर्चुअल रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी प्रस्तावित दुईमध्ये एउटा मितिमा रेलको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि आफूहरू तयार रहेको र अहिले सञ्चालन गर्न केही पनि समस्या नरहेको बताएका छन् ।
१६ महिनाअघि रेलका दुईवटा सेट ३ असोज २०७७ मा भारतबाट ल्याइएको थियो । करिब १ अर्ब खर्चिएर भारतबाट ल्याइएका दुईवटा रेल सेट गत फागुन १ गतेदेखि यात्रुबिना नै परीक्षणका रूपमा सञ्चालनमा रहेको छ । त्यसअघि धनुषाको इनरुवास्थित रेल्वे स्टेसनमा पालले छोपेर रेल राखिँदै आएको थियो ।
भारतीय रेल्वे कम्पनीसँग एक वर्षको वारेन्टीमा खरिद गरिएको रेलको वारेन्टीसमेत समाप्त भइसकेको छ । तत्कालीन सरकारले कानुन, भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन तथा तयारी नै नगरी हतारमा रेल ल्याउँदा लामो समय सञ्चालनबिनै थन्किन पुगेको थियो ।
रेल सञ्चालनको तालिम लिएका ६० जना नेपाली कर्मचारीहरू अहिले अभ्यास गरिहेको कम्पनीले जनाएको छ । उनीहरूलाई प्राविधिक कुरा सिकाउन कोंकणबाट आएका १४ जना कर्मचारीले सहयोग गरिरहेका छन् ।
कुर्थादेखि जयनगर जनकपुरसम्म यात्रा गर्नेले सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको कम्पनीले जनाएको छ ।
३४ किलोमिटरको सो रेलमार्गमा १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः औपचारिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । यो रेलमार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको थियो ।