जो आँखाले होइन मनले देख्छन्

जुम्ला । जुम्लाको त्रिवेणीबाट पूर्व सात किलोमिटरको दूरीमा रहेको भोटानचौरमा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ । त्रिवेणी–टोप्ला सडकखण्ड भएर यात्रा गर्नेहरूको नयन भोटानचौरको एउटा घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोकिन्छन् । त्यो हँसिलो अनुहार दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवरको हो । उनीहरूको जोडी विगत तीन वर्षदेखि भोटानचौरमै छ ।

उनीहरूको रमाएका मुहार देख्दा लाग्छ, यिनीहरू नै यस धर्तीका सबैभन्दा सुखी प्राणी हुन् । तर, उनीहरूको विगत’bout जसले सुन्ने धैर्य गर्छ, भरिएको उत्साह पनि बेलुनबाट फुस्केको हावाझैं, दुःखको वायुमण्डलमा मिसिन्छ । तातोपानी गाउँपालिका–७ सर्मी गाउँको यो दृष्टिविहीन दम्पतीको जीवन अनेक दुख, कष्ट, अभाव र अपमान सहँदै घस्रिरहेको छ, खुट्टा खोच्याउने गोरुले तानेको हलो जस्तो, घचक्कघचक्क ।

उनीहरूसँग भोकै सुतेका कैयौं रात छन्, अपमान सहेका दिन छन् । तीन वर्षअघि मात्रै उनीहरूले अन्तरजातीय विवाह गरे । पुर्खाले जग बसाएको छुवाछुतको छानामुनि जातीय विभेदको जालो तोडेर समाजमा अन्तरजातीय विवाहलाई स्थापित गर्नु ‘फलामको चिउरा चपाउनु’सरह थियो । अहिले ३३औं वसन्तमा प्रवेश गरेका दृष्टिविहीन मानबहादुर कुँवरले बाल्यकालमै आमाबुवा गुमाए । दुई वर्षको उमेरमा दुवै आँखाको ज्योति गुमाएका मानबहादुरले तेस्रो आँखा अर्थात् ‘शिक्षाको आँखा’ले दुनियाँ नियाल्ने रहर गरे । २०६० सालमा सिंजामा रहेको भैरव माविमा भर्ना भएर पढाइ सुरु गरे तर कक्षा ७ मा पुगेपछि औपचारिक शिक्षा आर्जनमा पूर्णविराम लाग्यो । जन्मघर सर्मीबाट धेरै टाढा छ, सिंजा नराकोटको भैरव मावि । त्यतिबेला अहिलेको जस्तो सवारीसुविधा पनि थिएन । घरबाट नराकोट पु¥याउने कोही भएन । बुवाआमाको मृत्युपछि मानबहादुरलाई खरानीको थुप्रोमा नयाँ जीवनको सुरुवात गर्नुसरह थियो । ‘दृष्टिविहीन हुनुको पीडाबोध त्यतिबेला भयो, जतिबेला एक दिनको पैदल यात्रा गर्न नसकी पढ्ने चाहनालाई तिलाञ्जली दिनुप¥यो । दृष्टिविहीन नभएको भए आज मेरो यो हाल हुने थिएन होला,’ मानबहादुरले राजधानीसँग भने ।

जातीय विभेदको जालो तोडेका दृष्टिविहीन दम्पतीको कथा

घरमा एक्लो भएपछि मानबहादुर छिमेकी गाउँ ताम्तीमा गएर दिदीको घरमा बस्न थाले । बिनाकाम दिदीको घरमा बस्न अप्ठ्यारो महसुस हुन थालेपछि उनले झन्डै ३ सय घरधुरी रहेको ताम्ती गाउँको तिर्खा मेटाउने जिम्मेवारी काँधमा लिए, गाउँमा चारवटा पानीका धारा खोल्ने र बन्द गर्ने ‘चौकीदार’ बने । उनले चौकीदारी गरेबापत वर्षमा चार क्विन्टल अन्न पाउन थाले । जिन्दगी जसोतसो चलिरहेको थियो । गाउँमा मानवीय संवेदना नबुझ्नेका लागि मानबहादुर मजाकको पात्र बन्न पुगे । फरक क्षमता भएकालाई सहयोग गर्नुको साटो मजाकमा उडाउने र अपमान गर्नेहरूका लागि मानवीय संवेदना ‘चरीको दूध’ जस्तै भयो । गिज्याउनहरूको भिडमा अपमानित महसुस गर्न थालेपछि ताम्ती गाउँ छोड्न मन लाग्यो । एक मनले भन्थ्यो, ‘यस्तो मन होस्, जसले सबैको घृणा, अपमान पचाउन सकोस्, अर्को मनले भन्थ्यो, कसैको बिगार नगरेर पनि अपमान र घृणा सहने हृदय पनि त छैन ।’ ‘कस्तो जीन्दगी न समुद्रमा डुब्न सक्यो न किनारा लाग्न सक्यो ।’ अहिले पनि मानबहादुर तीतो विगत सम्झँदै मनको आधा झन्डा झुकाउँछन् ।

तीन वर्षअघि उनले तिला–३ दानीबाडाबाट अन्तरजातीय विवाह गरे । रूढीवादी समाजले कथित दलितसँग विवाह गरेको भन्दै मानबहादुरलाई गाली गर्न थाल्यो । ‘सुरुमा क्षत्रीको छोरोले किन दलितसँग विवाह गरेको भनेर व्यापक आलोचना भयो, अहिले विस्तारै विभेदको जालो तोडिँदै गएको छ,’ मानबहादुरले भने । ‘अरू आँखाले देख्छन्, हामी मनले देख्छौं, सबैको अधिकार र कर्तव्य समान हुन्छ, हाम्रो मनले यही देख्छ, जातीय विभेदको परम्परा भत्काएको भन्दै अहिले यही समाजले हाम्रो योगदानलाई स्वीकार गरेको छ,’ गोरिकला तिरुवाले भनिन् । दृष्टिविहीन दम्पतीको आफ्नो घर भने छैन । स्थानीय काले कुँवरले तीन वर्षदेखि निःशुल्क बस्न दिएका छन् । कोरोनाको बेला भोकै रहेको समाचार राजधानी दैनिकबाट प्रकाशित भएपछि जुम्लाका मनकारी युवा अमर विष्टले चारपटक खाद्यान्न सहयोग गरेका थिए । सामाजिक सुरक्षा भत्ताले मात्रै नपुग्ने भएपछि अहिले पनि भोकै बस्नुपर्ने बाध्यता रहेको गोरिकलाले गुनासो पोखिन् । उनले ठाडीभाकामार्फत मनको बह यसरी पोखिन् ।

पाक्या फल चरीले खायो, काँचो फल रुखै छ
जहाँसम्म जिन्दगी रहला त्यहाँसम्म दुःखै छ

पे्रमले उनीहरूको जीवन उज्यालिएको छ । उनीहरूको जोडी ढुकुरको जोडीको रूपमा परिचित छन् । जातीय विभेदको जालो तोडेको योगदान कुनै समय कालमा मूल्यांकन हुने आशा व्यक्त गर्दै गोरिकलाले भनिन्, ‘अब आफ्नै घरमा मर्ने धोको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी