गीतमा झनै विचलन


भरे आउँछु सपनीमा पर्खिराख है
परेलीको ढोका खोली कुरिराख है…

कुनै समय निकै लोकप्रिय नेपाली चलचित्र ‘माइली’को यो गीत सहदेव ढुंगानाले लेखेका हुन् । जसमा आनन्द कार्कीले स्वर दिएका छन् भने संगीतकार शम्भूजीत बासकोटाको संगीत रहेको छ । यो गीतको रेकर्डिङअघि निकै बहससमेत चल्यो । सपनीमा आउन प्रेमिकालाई बोलाएका प्रेमीले आफ्नो आँखाको परेली खोली राख्ने चर्चा यसमा गरिएको छ । ‘आँखाको परेली खोलेपछि कसरी सपनी देखिन्छ ?’ भन्ने तर्क–वितर्क खुबै चल्यो । तथापि, गीत रेकर्ड भइछाड्यो । यही कारण गीत विवादमा तानियो ।

यो गीतको भाव विचलन गरिएको थियो । चलचित्रमा कथाको माग नै विचलन थियो । जहाँ नायक निकै विद्धत छन् । साहित्यमा यस्तो भावलाई ‘काव्य सौन्दर्यता’ मानिन्छ । गीतमै विद्यावारिधी गरेका गीतकार डा. कृष्णहरि बरालको कथनमा ‘पोयट्री लाइसेन्स’ अर्थात् ‘काव्यात्मक अनुमतिपत्र’ले गीत तथा कविता सिर्जनामा सम्बन्धित सर्जकलाई यस्तो अधिकार दिएको हुन्छ । सोही अधिकार प्रयोग गरेर गीतकारले यस्ता गीत सिर्जना गरेका हुन् ।

यही ‘सौन्दर्यता’ प्रयोग गरेर गीत बनाइएको तर्क संगीतकार बासकोटाको छ । नेपाली बोलीचाली तथा व्यवहारिक भाषामा व्याकरण भंग गरिएको यो गीत ‘साहित्यिक स्वतन्त्रता’का रूपमा भने सही थियो । एउटा साहित्यकारले सिर्जनाक्रममा आकाशमा माछा तैरिएको र समुद्रभित्र बादलको लहर देख्न र त्यसलाई व्याख्या गर्न सक्छ । यस्ता कुरा गीतमा पनि प्रयोग हुने तर्क बासकोटा गर्छन् । यो गीत गाउँदा दर्शकले सपना देख्नका लागि निदाउनुपर्छ । जसका लागि आँखा चिम्लनुपर्छ । तर, यहाँ ‘परेली खोलेर सपना देख्ने’ प्रसंग छ । साहित्य तथा काव्यमा यसलाई सहज मान्नुपर्ने बासकोटा बताउँछन् ।


बासकोटाकै संगीतको अर्को गीत पनि भाव विचलित भावमा छ । यो गीतमा पनि व्यवहारिक अशुद्ध र नेपाली व्याकरणको भाव तोडिएको छ । चलचित्र ‘सारंगी’को गीत प्रकाश श्रेष्ठले गाएका हुन् ।

मैले गीत छोडी आएँ फुलको तरेलीमा
कहाँ खोजुँ कहाँ भेटुँ कसको परेलीमा…

निकै मिठोयो गीत पनि एक समय त्यतिकै लोकप्रिय बन्यो । गीतमा नायकले पहिलो हरफमा ‘फुलको तरेलीमा गीत छाडेर’ आएको बताएका छन् । तर, दोस्रो हरफमा नायकले नै ‘कहाँ खोजुँ कहाँ भेटुँ कसको परेलीमा ?’ भनेर प्रश्न गरेका छन् । अरुले भाव विचलन तथा व्याकरण भंग मानेको यो गीतको भावलाई अग्रज संगीतकार बासकोटा ‘काव्यात्मक अनुमतिपत्र’का रूपमा व्याख्या गर्छन् । यही विचलनका कारण गीत राम्रो भएको उनको कथन छ । आफूले छाडेको गीत नायकसँग नायिकाले मागेपछि त्यो गीत ‘फुलको तरेलीमा छाडेको’ भनेर नायकले जवाफ दिएका छन् । त्यतिभन्दा पनि नायिकाले गुनासो गरेपछि ‘अब त्यो गीत कसको परेलीमा खोजौं त ?’ भनेर तर्क गरेको बासकोटाले स्पष्ट पारे ।

‘भात खाएको कुरा नेपाली व्याकरणमा मैले भात खाएँ शब्द शुद्ध हुन्छ तर यही कुरा गीत संगीतमा भाव तथा छन्द मिलाउन मैले खाएँ भात पनि सही मानिन्छ,’ बासकोटा भन्छन्, ‘नेपाली शब्दकै अनर्थ हुनेगरी गीत लेख्नु, लेखिएको गीत अशुद्धसँग गाउनु र त्यसले भाषिक प्रयोग बिगार्नुचाहि“ गीत संगीतको व्याकरण भंग हो ।’

नेपाली गीतमा शब्द र गायन विचलन सामान्य तर भाषिक विचलनलाई गलत मानिन्छ । नेपाली संगीतको ‘स्वर्णकाल’ मानिएको २०२० को दशकमा पनि यस्ता प्रयोग भएका छन् ।

सुगम संगीतका पितामह मानिएका दिवंगत नातीकाजी श्रेष्ठमाथि पनि ‘गायनमा अशुद्धता ल्याएर विचलन ल्याएको’ आरोप लागेको थियो । नातिकाजीले गाएको एउटा गीतको शब्द ‘राखेर छातिभरि गा“जलुको कोषहरू…’ थियो । तर, यो गीत नातिकाजीले ‘राखेर छाआ…आ..आ…ती भरी’ भन्दै गाए । यसरी आधुनिक गीतमा अनावश्यक लेग्रो तानेर छातिलाई ‘छाआ…आ..आ…ती’ भन्दै नेपाली शब्दको शुद्धता बिगारेको आरोप उनीमाथि लागेको थियो ।

यो गीतमा आफूले गरेको भाषिक अशुद्धता’bout ढाकछोप गर्दै नातिकाजीले ‘गीत–संगीतमा यस्तो अभ्यासलाई सामान्य मान्नुपर्छ’ भनेर तर्क गरेका थिए । तर, त्यो तर्कप्रति उनकै समकक्षी शिवशंकर मानन्धरदेखि स्वरकिन्नरी तारादेवीसम्म सहमत थिएनन् ।

गीतमै विधावारिधी गरेका अग्रज गीतकार डा. कृष्णहरि बराल भने नातिकाजीको प्रयोगलाई ‘गीतमा मिठो विचलन’ मान्छन् । ‘यदि गीतको व्याकरणका रूपमा हेर्ने हो भने यो अशुद्धता हो र पूर्ण रूपमा विचलन नै हो तर यो विचलनले गीतलाई मिठास र अर्थपूर्ण बनाएकाले यसलाई राम्रो मान्छु पर्छ,’ उनी भन्छन्, ‘तर, यही विचलनले गीतलाई नरम्रो भद्दा, सुन्दा एकदमै अनर्थ लाग्ने बनाएको भए त्यसलाई नराम्रो मान्नुपर्ने हुन्छ ।’



नेपाली गीत–संगीतमा व्याकरण भंगक्रम पछिल्लो समय झनै फस्टाएको पाइन्छ । संगीतमा भाव विचलनलाई सामान्य मानिन्छ । तर, व्याकरण विचलनमा ध्यान दिनुपर्ने संगीतकर्मीको जोड छ । कहिलेकाही“ मातृभाषाका कारण पनि गायनमा अशुद्धता हुन्छ । तर, सकेसम्म शुद्ध गाउनुपर्ने तर्क व्याकरणविद्को छ । यसलाई संगीतकारहरू भने मान्न तयार छैनन् । यस्तो उच्चारणले कहिलेकाही“ ‘राम्रो सुनिने’ उनीहरूको तर्क छ ।

स्वरसम्राट नारायण गोपालले गाएका केही गीतमा उच्चारण अशुद्धता भेटिन्छ । यसलाई गीतको ‘भाषिक विचलन’ भन्न मिल्दैन । डा. बरालको भनाईमा नारायणगोपाल नेवारी समुदायका भएकाले उनले उच्चारण गर्दा ‘त’ लाई ‘ट’ भन्ने आउने गथ्र्यो । सोही कारण नारायणगोपालले गाएको गीतको शब्द ‘त’ मा ‘ट’ उच्चारण हुँदा मिठास पनि सुनिने गरिएको हो ।

संगीतकार बासकोटा पनि यसलाई ‘सुन्दरता’ नै मान्छन् । नारायणगोपालजस्तै गोपाल योञ्जनले गाएका थुप्रै गीतमा ‘तामाङ उच्चारण’ शैली छ । उनी तामाङ समुदायको भएकाले पनि यसो हुन गएको बासकोटा बताउँछन् । ‘नेपाल विविध भाषामा एकता भएको देश हो । यहाँ अरु मातृभाषीले नेपाली गीत गाउँदा केही शब्दमा अशुद्धता आउनु अस्वभाविक होइन र त्यसलाई सुन्दरताका रूपमा लिनुपर्छ,’ बासकोटा थप्छन्, ‘हामी सकेसम्म शब्द र स्वरमा विचलन नआओस् भनेर शुद्ध गाउन लगाउँछौं । तर, मैले नै संगीत गरेका थुप्रै चलचित्रका गीत भारतीय गायकगायिकाले गाउँदा थोरै मात्रामा भए पनि उनीहरूको लवजभर भाव आएका छन् । यस्ता लवज र भावले गीत अझ मिठो हुने गरेको पाइन्छ ।’


करिब तीन दशकदेखि संगीत सिर्जना गर्दै आएका संगीतकार जुगल डंगोलको भनाईमा ‘गायनमा भाषिक उच्चारण अशुद्धताले त्यो गीत सुन्दा ‘दाँतमा ढुंगा लागेको’ महसुस हुन्छ । त्यसैले गाउँदा शुद्धतामा ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘तर, यही निमय लोकगीतमा लागू हुँदैन । लोकगीतमा स्थानीय ठेट शब्द प्रयोगले महत्व पाउने भएकाले त्यसलाई सामान्य मानिन्छ,’ उनी भन्छन्, ‘शास्त्रीय, आधुनिक तथा गजलमा भाषिक शुद्धता अपरिहार्य छ । भाषिक शुद्धतामा विचलन आउनु भनेको नेपाली भाषालाई गीतबाट अशुद्ध बनाउनु हो ।’
गाउँदा कथ्य शब्द प्रयोग गर्नुपर्ने संगीत डंगोल सुनाउ“छन् । ‘तर, गाउँदा शुद्धता हुनुपर्छ,’ उनले थपे, ‘हामीले आधुनिक र शास्त्रीय गायनमा भाषिक शुद्धतामा विचलन आउन दिएका छैनौं । पपगीतमा भने गाउँदा अत्याधिक अशुद्धता बढेको छ । जसका कारण गीतबाट नेपाली भाषामा मनपरीतन्त्री तथा अशुद्धता मौलाएको छ ।’

गीतकार बराल पनि ‘गीत अशुद्धको विपक्ष’मा छन् । कैयौं नेपाली गीत अशुद्ध गाइएको उनले औंल्याए । यही कारण उनी आफ्नो गीत रेकर्ड हुँदा प्रायः स्टुडियो पुग्छन् । शुद्ध गाउनुपर्ने उनको मान्यता छ । नेपाली व्याकरणको भने गायनमा लागू नहुने उनको तर्क छ । ‘कुखुराको फुल र बिरुवामा फुलेको फुलको’ उच्चारण गीतमा उस्तै हुने उनी बताउँछन् । जस्तै ‘ए फुल किनेर ल्याउ त खाउँ…’ गीत र ‘ए फुल किनेर ल्याउ त माला उनुम्…’ गीतमा दुबै फुलको उच्चारण उस्तै हुने बरालले उल्लेख गरे । तर, यहाँ फुललाई गीत गाउँदा ‘फुउ..उ..उ…ल’ भन्ने चलन मौलाएको छ । यसरी गाउँदा मिठो र उपयुक्त भयो भने त्यसलाई ‘सान्दर्भिक विचलन’ मान्नुपर्ने डा. बरालको तर्क छ । यदि यस्तो प्रयोगले गीत नमिठो र अनुपयुक्त भयो भने यसलाई ‘असान्दर्भिक विचलन’ मान्नुपर्ने उनी स्पष्ट पार्छन् ।


अग्रज सर्जकका अनुसार गीतमा विचलन ‘अनुपयुक्त’ हैन । तर, गाउँदा भाषिक उच्चारण बिगार्नु ‘अनुपयुक्त विचलन’ हो । यस्तो विचलनले विकृति ल्याउनुका साथै भाषामा अशुद्धता ल्याउने गर्छ । विचलनका नाममा अशुद्ध गाउनु नहुने र शुद्ध गाउनुपर्ने हुन्छ । गीतमा लघु, गुरु, विश्राम, छन्द भने मिल्नुपर्छ । लोकप्रिय गीत धेरैको मुखमा झुन्डिने भएकाले यस्ता गीत उच्चारण सही हुने पर्ने सर्जक बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 616 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित