चक्रपथ विस्तारमा ढिलाइ : चिनियाँ पक्ष काम थाल्न आतुर, सरकारले बनाएन वातावरण


काठमाडौं । चिनियाँ सरकारले निःशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण लामो समयदेखि सुरु हुन सकेको छैन ।

सम्झौताअनुसार नेपाल पक्षले साइट ‘क्लिअर’ गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्र्नेमा नेपाल पक्षले अहिलेसम्म पनि साइट क्लिअर गर्न नसक्दा चक्रपथ विस्तारको काम नै सुरु हुन नसकेको हो । साइट क्लिअरअन्तर्गत बिजुलीको पोल हटाउन अझै केही महिना लग्ने देखिएको छ ।

काठमाडौंको चक्रपथअन्तर्गत दोस्रो सडकखण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले स्थलगत निरीक्षण नै गरेको थियो । स्थलगत निरीक्षणको क्रममा शतप्रतिशत साइट क्लिअर नभएपछि चिनियाँ पक्षले सडक विस्तारमा अहिलेसम्म हात हाल्न सकेको छैन ।

चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्मको करिब ८.५ किमी सडकको स्थलगत अध्ययन गरेर साइट क्लिअर भएको प्रतिवेदन चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई दिएसँगै कम्पनीले काम थाल्ने जनाइएको थियो । तर, चिनियाँ प्राविधिक टोली निरीक्षणपछि विस्तार गरिने सडकको साइट क्लिअर नभएको रिपोर्ट बोकेर फर्कन बाध्य भएको थियो ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले स्वयम्भू क्षेत्रबाहेक अन्यत्र साइट क्लिअरको काम सकिएकाले अब चाँडै विस्तारको काम सुरु हुने दाबी गरे ।

आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भूमा पुराताŒिवक सम्पदाले केही समस्या देखिए पनि सम्पदाको हकमा ‘कन्सिडरेसन’ हुने देखिएको जनाउँदै दुईवटा विद्युत्को टावर हटाउनुपर्ने विषयमा भने चिनियाँ पक्षले अलिक बढी नै चासो देखाएको बताए । ‘निरीक्षणका क्रममा उहाँहरूले विद्युत् टावरको विषयमा चासो देखाउनुभएको रहेछ, हामीले त्यसको व्यवस्थापनका लागि विद्युत् प्राधिकरणसँग पटक पटक आग्रह गर्दै आएका छौं, प्राधिकरणबाट १० दिनमा बोर्डरमा सामान आउने र कम्तीमा पनि डेढ दुई महिनाभित्र हटाइसक्ने भनेर पत्र आएको छ ।’ आयोजना प्रमुख मरासिनीले राजधानीसँग भने ।

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले ६६ केभीको दुईवटा टावर सार्नेबाहेक सबै काम सकिएको बताए । ‘हामीले ठेक्कामा यो काम पहिले नै दिएका हौं, ठेकदारले ढिला गर्दा काम सम्पन्न हुन नसकेको हो,’ उनले राजधानीसँग भने, ‘अब चाँडै नै सकिएला ।’
चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लिअर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्रयाक बनाउनुपर्ने हुन्छ ।

चक्रपथ विस्तारअन्तर्गत महाराजगन्जमा २ सय ४० मिटर खण्डको क्षेत्रको मुआब्जा विवाद टुंगिन सकेको छैन । सडक विभागका प्रमुख सापकोटाले उक्त विवाद टुंगिन बाँकी रहेको बताउँछन् । आयोजना प्रमुख मरासिनीले दोस्रो खण्डअन्तर्गत पहिले धोबीखोलासम्म करिब साढे ११ किमी सडक विस्तार गर्ने भनिए पनि अहिले ८.५ किमी सडक विस्तार गर्ने भएपछि उक्त क्षेत्र तेस्रो चरणमा पर्ने देखिएकाले अहिले सडक विस्तार गर्न समस्या नरहने बताए ।

नेपाल सरकारले १८ पुस २०७६ मा नै सो खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ । तर, अझै हल हुन सकेको छैन । सरकार पनि विवादित विषय हल गर्नेमा गम्भीर नबनेको पाइएको छ ।

चिनियाँ सरकारले आफ्नै प्राविधिक तथा अनुदानमा विस्तार गर्न लागेको सो सडकखण्डको विस्तृत परियोजना विवरण (डीपीआर) तथा डिजाइन चिनियाँ पक्षले सार्वजनिक गरेको छैन । साइट क्लिअरको काम ढिला भएको जनाउँदै चिनियाँ पक्षले डीपीआरसमेत नेपाल पक्षलाई नपठाएको जनाइएको छ । चिनियाँ पक्षले आफैंले ठेकदार छनोट गरेर पठाउने जनाइएको छ । आयोजना प्रमुख मरासिनीले भने डिजाइन पाएमा अध्ययन गरेर सुझाव दिन सजिलो हुने बताए ।

साइट क्लिअरिङ अन्तिम चरणमा, अब छिट्टै विस्तार : सडक विभाग
–विद्युत् प्राधिकरणले पोल नहटाइदिँदा समस्या : आयोजना


सडक विभागले गत वर्ष नै अर्थ मन्त्रालयमार्फत पत्र लेख्दै चीनलाई चक्रपथ विस्तारको काम अघि बढाउन आग्रह गरेको थियो । तर, चिनियाँ पक्षले साइट क्लियर नभई निर्माण अघि बढाउन नसकिने जवाफ दिएको थियो । त्यसपछि पुनः नेपाल पक्षले पत्राचार गरेपछि प्राविधिक टोली आएर निरीक्षण गर्दा पनि साइट क्लिअर नभएको पाइएको हो ।

यसअघि कोटेश्वरदेखि कलंलीसम्म पनि चिनियाँ सरकारले नै चक्रपथ विस्तारको काम सम्पन्न गरेको थियो । साइट क्लियर नै नगरी सो सडक खण्ड विस्तारको काम थाल्दा मुआब्जालगायतका कारण निर्धारित मिति भन्दा काम ढिला सम्पन्न हुन पुगेको थियो । मुआब्जालगायत विषयमा विवाद उत्पन्न भएपछि सडक विस्तारमा ढिलाइ हुँदा चिनियाँ पक्षको आलोचनासमेत भएको थियो । त्यसपछि चिनिया पक्षले दोस्रो खण्डमा साइट क्लिअरिङको जिम्मा नेपालले गर्ने गरी सम्झौता गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरूले तीन महिनामा गर्ने काम मुआब्जालगायत विषयमा विवाद उत्पन्न भई दुई वर्षसम्म लागेपछि आफ्नो कम्पनीको नै बेइज्जत भएको भन्दै चिनियाँ पक्ष त्रासित बनेको बताए । ‘साइट क्लिअर नभई काम थाल्दा डोजर अगाडि नै मान्छे सुत्न आउँछन्, त्यसैले उहाँहरूले पहिले ठाउँ खाली हुनुप-यो भन्दै आउनुभएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी