युनेस्कोले विश्व सम्पदाको रुपमा सुचीकृत गरेका नेपालका १० वटा प्राकृतिक र सांस्कृतिक सम्पदास्थरहरु छन् । जसमध्ये विश्व सम्पदा सुचीमा रहेको हनुमानढोकादेखि स्वयम्भुसम्मको क्षेत्रलाई हेरिटेज ट्रेलका रुपमा विकास गरिने भएको छ । नेपालको समृद्ध इतिहास र संस्कृतिलाई झल्काउने सम्पदा ट्रेलका रुपमा यो रहने छ । दुई किलोमिटर पदमार्गमार्फत दुई महत्वपूर्ण पर्यटकीय ऐतिहासिक गन्तव्यलाई जोड्ने हेरिटेज ट्रेल गुरुयोजनामा काम अघि बढ्ने भएको हो ।
बुधबार शहरी विकास मन्त्री रामकुमारी झाक्रीको उपस्थितिमा शहरी विकास मन्त्रालयमा हेरिटेज ट्रेलका विषयमा छलफल भएको छ । मन्त्री झाक्रीले यो ऐतिहासिक महत्वका दुई विश्व सम्पदाको क्षेत्रलाई हेरिटेज ट्रेलका रुपमा विकास गर्न बजेटको व्यवस्था मिलाउने बताइन् । संघीय सांसद जीवन राम श्रेष्ठले यसका लागि निकै अघिदेखि पहल भैरहेको र यसले पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने बताए । बैठकमा सांसद गगन थापा, सचिव मणिराम गौतम, पुरातत्व विभाग महानिर्देशक दामोदर गौतम, महानगरपालिकाका प्रवत्ता तथा वडा नं. १५का अध्यक्ष ईश्वरमान डंगोलको उपस्थिति थियो ।
विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भु क्षेत्रलाई हेरिटेज ट्रेलको रुपमा विकास गर्ने निर्णय यस अघि बसेको नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहितको पर्यटन मन्त्रालयमा २३ मंसिरमा बसेको वैठकले निर्णय गरेको थियो ।
२३ मंसिरको सो बैठकमा सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा ५ जनाको स्टेरिङ्ग कमिटी गठन गरेको थियो । कमिटीका सदस्यहरुमा काठमाडौं महानगरपालिकाका प्रवत्ता ईश्वरमान डंगोल , पुरातत्व विभागका महार्निदेशक दामोदर गौतम, उपसचिव टेक नारायण पौडेल र शहरी विकास विभागका महानिर्देशक पदम मैनाली छन् । विश्वका धेरै देशमा ऐतिहासिक महत्वका शहरहरुमा हेरिटेड ट्रेल रहेका छन् । जसले पर्यटकलाई आकर्षण गरेको छ । जुन अवधारणाले त्यस क्षेत्रका पुरातत्व महत्वका भवन, कला संस्कृतिको जर्गेणा समेत हुने देखिन्छ ।
ट्रेलको रुट
हनुमानढोका–काष्ठमण्डप–मारु गणेश, मारुहिटी, मारुबाही मिछ्या, बंजाहिटी, नरदेवी, आयुवेदिक अस्पताल, डल्लु, निपुहिटी, धिमे ल्होहा, चराहिटी, भुईखेल–स्वयम्भु ।