आँचल साहित्य कलापुञ्ज, हेटौंडाको आतिथ्यमा गत २० र २१ फागुनमा मकवानपुरको उर्बर साहित्य सिर्जनामात्रै नभएर जुझारु हेटौंडेलीहरूको पौरख, माटोको माया अनि त्यसको सुगन्ध प्रत्यक्ष अनुभव गर्ने सुअवसर मिल्यो । आँचल साहित्य कलापुञ्ज र हेटौंडा उपमहानगरपलिकाद्वारा आयोजित दुई दिने बृहत् साहित्य महोत्सवका लागि आत्मीय आतिथ्य स्विकार गर्दै हामी केही थान सिर्जनाप्रेमी २० फागुन सखारै हेटौंडातिर लागेका थियौं । करिब डेढ दशकपछिको मेरो हेटौंडा यात्रा, त्यो पनि पहिलोपटक कुलेखानी भिमफेदीको बाटो † यात्राको रोमाञ्चकता सम्झेर त्यसै–त्यसै उत्सहित थिएँ ।
महोत्सवका लागि काठमाडौंबाट धेरै जना प्रस्थान हुने भए पनि आ–आफ्नै समयअनुसार बाटो लागिने योजनाअनुरुप अमृता स्मृति, बिना थिङ तमाङ र मचाहिँ बाटो लाग्यौं २० फागुनको झिसमिसेमा बल्खुबाट टाटासुमो चढेर । लामो समयपछिको यात्रा भएर होला, केही सकसपूर्ण लागे पनि बाटोमा फुलेका राताम्य लालीगुराँस टिपेर सुम्सुम्याउँदा यात्रा बोझिलोपन उसै हलुको हुन पुग्यो ।
निर्धारित समयमा हेटौंडा उत्रिएर रोयल प्यालेसको भव्य हलमा महोत्सवमा सहभागी हुँदा देशका कुनाकाप्चाबाट पाल्नुभएका साहित्यिक व्यक्तित्वसरगको साक्षात्कार, आयोजकको आत्मीयता र कार्यकमको भव्यता बढेको मात्रै नभएर साहित्यकर्मकै गरिमा धेरै माथि रहेको महसुस गरें । मकवानपुरको साहित्यिक महक, साहित्यमा राजनीति, समकालीन नेपाली कविताको मार्गचित्र आदि विषयमा बहस र टिप्पणीका साथै कविता, गजल र मुक्तक बाचनले माहोल उचाइमा पुगेको भान भयो ।

लेखक तथा समालोचक डा. ज्ञानु अधिकारीद्वारा ‘भाषिक दृष्टिले साहित्यमा नारी’ कार्यपत्रले ‘श्रमिक महिला दिवस’लाई सान्दर्भिकता थप्यो । फरक–फरक सेसनमा गरिएका बहस र छलफल अनि त्यसमाथि गरिएका टिप्पणी सिंगो मकवानपुरको साहित्यिक गतिविधि, मकवानपुरे साहित्य विजारोपण र उत्थानमा लागिपरेका अग्रज सर्जक’bout जानकारी तथा देन चर्चा–परिचर्चा हामीजस्ता मकवानपुर बाहिरका ‘अजासु’का लागि निकै उपयोगी र जानकारीमुलक साबित भयो ।
महोत्सवमा यसअलावा सांगीतिक कार्यक्रम, पुस्तक तथा कला प्रदर्शनी, हस्तकला उत्पादन तथा स्थानीय उत्पादनका विभिन्न स्वादका अचार बिक्री तथा प्रदर्शनी रहे । महोत्सवको उद्देश्य भाषा, साहित्य उन्नयन गर्नु त थियो नै, समग्र हेटौंडा तथा मकवानपुरको संस्कृति, सम्पदा, प्रकृति, इतिहास तथा आन्तरिक पर्यटन प्रवर्धन गर्नु पनि हो ।
सिंगो मनवानपुरकै सान
अर्को आकर्षणस्वरुप २१ फागुन बिहान हेटौंडा बजारभन्दा केही टाढा गुम्बाडाँडा पार्क घुमघाम कार्यक्रम रह्यो । सिंगो मकवानपुरकै सान गुम्बाडाँडा पार्क ऐतिहासिक, प्राकृतिक, प्रस्तर कला, शैक्षिक तथा जैविक दृष्टिले अत्यन्त महत्वपूर्ण गन्तव्य रहेछ ।
रमणीय पर्यटकीयस्थल गुम्बाडाँडा घुमघामले नयाँ जानकारीमात्रै दिएन, समग्र मकवानपुरलाई नै वैभवता प्रदान गरिरहेको अनुभूत पनि गरायो । घुमघामलगतै गुम्बाडाँडास्थित ‘साहित्यकार श्यामप्रशाद शर्मा स्मृति पार्क’मा उहाँकै शालिक साक्षी राखेर ‘मकवानपुरको साहित्यिक महक’ विषयक मकवानपुरे सर्जकत्रय बिना थिङ तामाङ, तारालाल श्रेष्ठ र सञ्जय शाहको बहस कार्यक्रम चल्यो । जसबाट मकवानपुरको सांगोपांगो साहित्यिक अनुहार, नालीबेली, उत्थान, सफलता र सम्भाव्यता’bout नजानेका, नसुनेका अमूल्य तथ्य जान्ने अवसर मिल्यो ।
बहसपछि हटिया आडैमा रहेको अंगारेश्वर महादेव मन्दिर दर्शनका साथै नजिकै मकवानपुरकै ठुलो मानिएको खानेपानीको स्रोत जलाशय, हेटौंडाको अन्न भण्डार मानिने सुरम्यफाँट आसपासको हरियाली विचरण गर्दै पुनः हेटौंडेली पत्रकार, शिक्षक तथा सर्जक कवि छबि अनित्यको आत्मीय आतिथ्य स्विकारपछि पुनः रोयल प्यालेसमा आयोजित ‘बहस–छलफल’मा सहभागी हुँदा शरीर लखतरान भए पनि हृदय पुलकित थियो, काव्यिक रमरमले । महोत्सवको पछिल्लो आकर्षण देशका विभिन्न कुनाका कविको काव्य बाचनले एकपटक सिंगो मकवानपुर कविताले झंक्रित भएझैं लाग्यो ।
बृहत् साहित्य महोत्सव एउटा छुट्टै राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम त थियो नै, आयोजक संस्था ‘आँचल साहित्य कलापुञ्ज’ मुलुककै सक्रियमध्यको हस्तक्षेपकारी महिलामात्रैको तत्परता र आबद्धता रहेको साहित्यिक संस्था पनि हो ।
यसहिसाबले पनि मकवानपुरे साहित्यिक फाँटमा महिलाको अग्रणी भूमिका कति उर्बर रहेको छ भन्ने छर्लंग हुन्छ । कुनै पनि ठाउँको विकास र सम्पन्नताको कुरा गर्दा विकास निर्माण, शिक्षा स्वास्थ्य, पुल, सडक, बिजुली, पानी, प्रविधिका साथै साहित्यको पनि उत्तिकै भूमिका हुन्छ, जसले समग्र चेतना उजागर गर्छ भन्नेमा हेटौंडा उपमहानगरपालिका अत्यन्त सचेत र जानकार रहेछ भन्ने उसको हातेमालोबाटै प्रस्ट हुन्छ । यसको थप पुष्टि नगरउपप्रमुख मीना लामाको प्रमुख आतिथ्य र उहाँको साहित्य’bout सारगर्भित मन्तव्यबाट हुन्छ ।
कताकता त्यतिखेर मैले मनमनै सोचेथें, ‘काठमाडौं बाहिरका साथीहरू हामी मोफसलमा हुनाले केन्द्रजस्तो सुविधाबाट बञ्चित छौं भन्ने मान्नुहुन्छ तर के काठमाडौं महानगरले एक सर्जकका रूपमा हामीमध्ये कतिलाई चिन्दछ ? तर, त्यहाँ लाग्थ्यो, हेटौंडा उपमहानगरले सबैलाई जान्दछ र उचित सम्मान दिएको छ । खैर † साहित्यको महत्व बुझ्ने मन हुनुप¥यो नि त सम्बन्धित ठाउँहरूमा ।’
मिठा अनुभूति संगाल्दा–संगाल्दै कतिबेला कार्यक्रम अन्त्य भयो र हामी टाटासुमोमा काठमाडौं फर्कियौं । ज्यादाजसो राजाधानीभित्रै रहेर सिर्जनाकर्म गर्ने म कुवाको भ्यागुतोजस्ता मान्छेलाई पहिलोपटक सिर्जना विशेषले जुराएको राजाधानीइतरको अनुपम जमघटले साहित्यिक आनन्दमात्रै दिएन, भिन्न वातावरणको सिर्जनात्मक माहोल, हेटौंडेली साहित्यिक मनहरूको न्यानो आतिथ्यता र अवर्णनीय अपनत्व अनुभूति पनि दियो । त्यो हदसम्मको आफ्नोपन, साहित्यप्रतिको अनुराग र आतिथ्यले ‘आँचल साहित्य कलापुञ्ज’ले ऋणी बनाएर पठाएको छ । हेटौंडा उपमहानगरले आभारी बनाएर पठायो ।
अनुपम जमघट र अवसर दिएर, यावत जानकारीमुलक र मनोरञ्जनात्मक घुमघामले मोहनी लगाएर पठायो । हेटौंडाका हरेक आत्मीयजनहरूले ‘हेटौंडाको मन साँघुरो छैन’ भनेर महसुस गराएका छन् । र, सबैभन्दा धेरै त आँचल अध्यक्ष साहित्यकार अनिता न्यौपानेले मनभरी बसेर बसाएर ढलिमली गरेर पठाउनुभयो । धेरै–धेरै धन्यवाद अनिता ! धन्यवाद हेटौंडा ! धन्यवाद मकवानपुर !