किवीसँग दंग कुलबहादुर

रामेछाप गोकुलगंगा गाउँपालिका–१ गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले आर्थिकस्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे, खाँडी मुलुकतिर । पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुरले कहिले साउदी, कहिले मलेसिया त कहिले कतारलगायत खाँडी मुलुकमा पसिना बगाए । गाउँमा रोजगारी अवसर नपाएपछि अरबमा श्रम बेच्न गएका थिए, उनी । पुख्र्यौली कृषि पेसाले गाँस, बास र कपास जोहो गर्न नसकेपछि अन्य युवाजस्तै कुलबहादुर पनि खाँडी छिरे । पहाडको चिसो मौसममा आफ्नै तरिकाले काम गर्दै बाँचेका कुलबहादुर विदेशी भूमिमा पुगेर अरुको इसारामा समय कटाउन बाध्य बने ।

विवाह गरेपछि पनि विदेश गएका उनी त्यो पल ‘अब सम्झनै’ चाँहदैनन् । काखमा सन्तान खेलाउन छाडेरसमेत कुलबहादुर पैसा कमाउन विदेश गए, बुढीआमा र लालाबालाको जिम्मेवारी श्रीमतीलाई छाडेर । खाँडी बसाईले धेरथोर पैसा पनि दियो । तर, त्यो पैसाले कुलबहादुरसँग परिवारको माया र गाउँको सम्झना किन्न सकेन । विदेशमा जतिसुकै कमाए पनि जवानी अरुकै ‘नोकर’ बनेर बिताउन मन लागेन, उनलाई । २०७२ सालको महाभूकम्पले देशको मुहार तहसनहस बनाएपछि गाउँ फर्किए, कुलबहादुर । लगत्तै, आलु र किवी खेती सुरु गरे । आलुखेती पुख्र्यौली पेसा भए पनि किवीखेती उनका लागि नयाँ थियो र उतिकै चुनौती पनि । विदेशमा हुँदा ‘मेन्टेनेन्स’को काम गरेका उनको रगतमै
कृषि थियो ।



अरबको तातोमा १४ वर्ष बिताएर गाउँ फर्किएका कुलबहादुर अचेल खेतीपातीमै व्यस्त भेटिन्छन् । दुई छोरा, एक छोरी, श्रीमती र आमाका साथ उनी दंग छन् । विदेश जानुअगाडि हौसला दिने कोही नभएकाले १४ वर्ष अर्काको माटोमा बितेकोमा चिन्तित बने, उनी । सानैदेखि बोटविरुवासँग प्रेम बसेको कुलबहादुरका बाबु बागबानी फार्मका जागिरे थिए । कटुस, आल्चा, आरूका फलफूलसँगै बालापन बिताएका उनी अहिले किवी फलाएर व्यवसायिक कृषिमा जमेका छन् । तालिम दिन आफूसँग प्रमाणपत्र नभए पनि गाउँगाउँ किवीखेती’bout गाउँलेलाई सिकाउँछन् । किवीको हाँगा छाँटकाँट गर्नपरे अचेल उनैलाई सम्झन्छन् गाउँले । उनी पनि झन्झट नमानी गाउँगाउँका किवी फार्ममा गएर हाँगा छाँटकाँट गरिदिन्छन् ।

फलेको जति किवी र आलुले राम्रो बजार पाउने हो भने विदेशमा कमाउनेभन्दा दोब्बर कमाउन सकिनेमा उनी ढुक्क छन् । व्यावसायिक कृषिका लागि कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत सहयोग गरेको रहेछ । विदेश जाने युवालाई तालिम लिएर आफ्नै देशमा व्यावसायिक कृषिमा लाग्न सुझाउँछन्, कुलबहादुर । श्रीमानले गाउँमै व्यावसायिक कृषि थालेपछि कुलबहादुरकी श्रीमती पनि खुसी छिन् । श्रीमान विदेश हुँदा पाँच महिनामा एउटा चिठ्ठी पढेर जीवनको गोरेटो हिँडेकी उनको आँखैअगाडि अहिले पूरै परिवार छ । श्रीमानले किवीखेती सुरु गरेपछि गाउँका धेरै युवा आकर्षित भएको देखेर उनी झनै हर्षित छिन् ।



विदेशी माटोमा पसिना बगाएर जति पैसा कमाए पनि आफ्नो देशमा कमाएजस्तो आनन्द पाएनन्, कुलबहादुरले । भन्छन्, ‘देशमा पसिना बगाउँदा नेपाली माटोमै सुन फल्छ । विदेश जानु भएका र जान चाहनु भएकाले पनि विदेश जानअगाडि एकपटक पसिनाको मूल्य र माटोको सुगन्ध बुझ्न जरुरी छ ।’

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरणले यो बेला कृषिमा ठुलो लगानी गरिरहेको छ । हरेक नगरपालिका तथा गाउँपालिकाले पनि कृषि क्रान्तिका लागि र आत्मनिर्भर बन्न कृषिमा लगानी गरिरहेका छन् । ‘हामीले त्यसका लागि सरकारलाई साथ दिनुपर्छ,’ उनी भन्छन्, ‘सरकारले गरेको लगानी संरक्षण गर्नुपर्छ अनिमात्र देशको प्रगति हुन्छ ।’

नेपालमा व्यवसायिक कृषि सुरु गर्न जग्गाजमिन कमी छैन । आफूसँग मनग्य लगानी नभए पनि सरकारका विभिन्न निकायले अनुदानका कार्यक्रम अघि सारेको छ । ‘पकेट क्षेत्र’ बनाएर काम गरिरहेको छ । विदेश जाने हैन, जानेलाई फर्काउने वातावरण बनाउन जरुरी रहेको कुलबहादुर बताउँछन् । ‘हामीजस्ता कर्म गरेर खाने युवाशक्ति विदेश जान्छौं, अनुदान सबै कर्म गर्नेभन्दा गोजी भर्नेको हातमा जाँदा सरकारको अनुदान रकम बालुवामा पानी हालेजस्तो हुन पुगेको छ,’ उनले सुनाए, ‘अब हामी युवा विदेश हैन, स्वदेशमै बसेर विदेशमा गरेको मेहनत नेपालमा गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)