१२ वर्षमा बन्दुक समाएकी शाेभा भन्छिन्, माओवादीले देखाएको सपना आफ्नै जस्ताे लाग्थ्यो


काठमाडौं । कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौवन चढिसकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो ।

माओवादी जनयुद्ध उत्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका किशोरकिशोरीलाई निसानामा राख्थे । त्यही निसानामा परिन् काभ्रे दोलालघाटकी शोभा पराजुली । र, १२ वर्षकै उमेरमा कापीकलम बोक्ने हातमा एलएमजी हतियार ।

कापीकलमबाहेक केही नदेखेकी शोभाको हातमा भारी हतियार थमाइयो । माओवादीले देखाएको सपना उनलाई आफ्नै सपना लाग्थ्यो । त्यही भएर उनले आफ्नो यौवनलाई नै धरापमा राखेर युद्धमा होमिइन् ।

‘त्यो बेला त माओवादी के हो ? जनयुद्ध के हो ? भन्ने केही पनि थाहा थिइन् । रमाइलोका लागि माओवादीमा लागियो,’ शोभाले न्युज कारखानासँग भनिन् ।

२०६० सालमा उनी पहिलोपटक माओवादीमा लागेकी थिइन् । युद्ध लड्नका लागि कसरी हतियार चलाउने ? दुश्मनको अगाडि अगाडि कसरी प्रस्तुत हुने ? जस्ता विषयमा उनलाई १९ दिन मात्र तालिम दिइयो । त्यसपछि उनी जनमुक्ति सेनाको पूर्णकालीन लडाकू भइन् ।

घरपरिवार, आमाबुबाको काखमा हुर्किनुपर्ने उमेरमा उनी गरिबी, असमानता, बेरोजगारी अन्त्य गर्ने भन्दै अग्रपंक्तिमा उभिएर लड्ने अठोट लिइन् । उनलाई त्यो बेला जोश–जाँगर पनि खुबै चल्थ्यो ।

‘हामीलाई त्यस्तै तरिकाले तालिम दिइन्थ्यो । युद्धमा होमिएपछि त अरूलाई सिध्याउनुपर्छ भन्नेबाहेक केही हुन्नथ्यो,’ शोभाले त्यसबेलाको अवस्था स्मरण गर्दै भनिन् ।

माओवादी नेतृत्वले तालिम दिँदा उनलाई लाग्थ्यो, म एक्लैले संसार जित्छु । हुन पनि किन नहोस् युद्ध लड्ने हतियारले मात्र सम्भव हुँदैन । त्यसका लागि सबैभन्दा ठूलो कुरा हिम्मत र साहस चाहिन्छ । जुन उनीहरूलाई कमान्डरबाट पाउने निर्देशन काफी हुन्थ्यो । देशका लागि केही गर्नुपर्छ भनेर भनिन्थ्यो ।

उनले पाँचवटा लडाइँ लडिन् । पहिलो लडाइँ उनले मकवानपुरको जुरजुरेमा लड्ने मौका पाइन् । लड्नुअघि उनलाई खुबै डर थियो । जब गनबाट फायर खोलिन्, त्यसपछि एकाएक साहस जाग्यो । र, लडाइँ नसकिँदासम्म अग्रपंक्तिमा खटिइरहिन् ।

‘लड्ने बेला त आफू मर्छु होला भन्ने पनि मनमा सोच नआउँदो रहेछ । हुन त या मरिन्छ या त अरूलाई मारिन्छ भनेर नै लडाइँमा जाने हो,’ शोभाले भनिन् ।

लड्ने क्रममा उनी कैयौपटक मृत्युको मुखबाट जोगिइन् । तत्कालीन शाही सेनाको कब्जाबाट कैयौपटक भाग्न सफल भइन् । आफूसँगै साथीहरू गोली लागेर ढलेको देख्दा त आफ्नो पनि जीवन सकियो जस्तै लाग्थ्यो । थुप्रै आरोह–अवरोह गर्दै अगाडि बढिरहिन् ।

२०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । उनले बल्ल मुक्तिको श्वास फेर्न पाइन् । र, अब क्रान्ति पूरा भएको भान भयो । तर, अहिले आएर उनलाई युद्ध किन लडेको भनेर पछुतो हुन्छ ।

युद्ध लड्दा उनलाई त्यति पीडा भएन, जति पीडा अयोग्य भनेर रित्तो हात घर फर्काइयो । उनलाई त्यसपछि घरपरिवारमा घुलमिल हुन निकै समय लाग्यो । घर फर्किने बेला माओवादी नेतृत्वले राम्रै आश्वासन दियो । एक गेटबाट घर पठाएर अर्को गेटबाट भित्र छिराउने भन्दै उनीहरूलाई तत्काल घर जान भनियो ।

युद्ध लडेर उनी रित्तो हात घर फर्किइन् । ‘आफूसँगै लडेका साथीहरू कोही समायोजनमा गए । कोही राहत प्याकेज लिएर घर फर्किए । तर मलाई भने बाल लडाकू भनेर त्यो पनि अयोग्यको बिल्ला भिराएर घर पठाइयो,’ शोभाले भनिन् ।

युद्ध लड्दा उनलाई त्यति पीडा भएन, जति पीडा अयोग्य भनेर रित्तो हात घर फर्काइयो । उनलाई त्यसपछि घरपरिवारमा घुलमिल हुन निकै समय लाग्यो । घर फर्किने बेला माओवादी नेतृत्वले राम्रै आश्वासन दियो । एक गेटबाट घर पठाएर अर्को गेटबाट भित्र छिराउने भन्दै उनीहरूलाई तत्काल घर जान भनियो । अहिलेसम्म पनि उनीहरूलाई अयोग्य नै भनिन्छ ।

दिनप्रतिदिन देशको अवस्था बिग्रिँदै गर्दा उनलाई पीडाले छाती चिरिन्छ । जुन उद्देश्यका लागि युद्ध लडेका थिए, आज त्यो सपना साकार हुन सकिरहेको छैन । विगतको जस्तै ठूलाठालु र पावरवालाकै अहिले अहिले पनि हालीमुहाली छ । आफ्नै नेतृत्वले बेवास्ता गर्दा र नचिन्दा युद्धमा होमिनु गलत थियो कि भन्दै यतिबेला उनी आफैंले आफैंलाई प्रश्न गर्छिन् ।

‘त्यो बेला माओवादीमा नगएर, प्रहरीमा गएको भए आज पेन्सन पाकिसकेको हुन्थ्यो । पढाइ नछाडेको भए अहिले के के हुन्थ्यो । के–के न युद्ध भनेर लडियो, अहिले टाठाबाटा र पावर हुनेवालाको रजाइँ छ,’ शोभाले पीडा पोखिन् । देश परिवर्तन र व्यवस्था परिवर्तनका लागि भन्दै लडे पनि त्यो पूरा नहुँदा पीडाबोध हुनु स्वाभाविक हो ।

एकातिर पढाइ छैन । अर्कोतिर हातमा कुनै सीप भए त्यसबाटै जीविकोपार्जन गर्न सकिन्थ्यो । शोभाको हातमा पढाइको सर्टिफिकेट हुन्थ्यो भने विदेशै गएर पनि गुजारा चलाउन सक्थिन् ।

‘पढ्ने उमेरमा अवस्था र व्यवस्था परिवर्तन गर्ने भन्दै बन्दुक भिरेर लड्न हिँडियो,’ शोभा भन्छिन्, ‘अहिले आएर आफ्नो भाग्यले नै छल गरे जस्तो लाग्छ ।’ अहिले उनी काँडाघारी मूलपानीमा किराना पसल चलाएर बसेकी छन् । जसले दैनिक गर्जो टार्न पनि धौ धौ हुन्छ ।

उनले सरकारी जागिर खान खुबै प्रयास गरिन् । तर, पढाइले गर्दा जागिर खान पाइनन् । विदेश जाने सोच पनि बनाइन् । त्यो पनि हुन सकेन । त्यो बेला बुर्जुवा शिक्षा भनेर पढ्न पाइनन् । ‘मेरो त पढाइ नै छैन । योग्यताअनुसारको काम गर्न खोज्दा केही पनि पाइँदैन । विदेश जाउँ भन्दा पनि पाएको छैन । सरकारी जागिर पाउने भन्ने पनि सम्भव छैन । पावरै चलाएर जागिर खान खोज्यो भने पनि सम्भव छैन,’ उनले भनिन् ।

आफ्नो योग्यताअनुसार केही न केही व्यवस्था मिलाइदिन राज्यसँग पटक–पटक गुहार मागिन् । तत्कालीन जनयुद्धका कमान्डर तथा नेतृत्वसँग पटक–पटक छलफल गरिन् । तर, जतिबेला पनि आश्वासनबाहेक केही पाइनन् ।

‘खाली आश्वासन मात्र दिने । काम केही नगर्ने भएपछि भेट्न किन जानु पर्‍यो ?’ शोभाले प्रश्न गरिन्, ‘हामी ज्यानको बाजी थापेर युद्धमा होमियौं । तर, उहाँहरूले मलगायत चार हजार आठजनालाई रोडमा ल्याएर छोड्नुभयो । अहिले आएर अयोग्य बाल लडाकू भनेर विशेषण दिइयो । १२ वर्षको उमेरमा बन्दुक समाउन कसलाई रहर हुन्छ र ?’

उनीहरूलाई त अहिले माओवादी पार्टी र माओवादी नेताहरूप्रति वितृष्णा जागेको छ । युद्धबाट बाहिरिएको पनि दशौं वर्ष भइसक्यो । तर, त्यसका पीडा र घाउँ अझै पनि कम भएको छैन ।

यतिबेला उनीमाथि घरपरिवारसँगै समाजको पनि प्रश्नको थुप्रो छ । अहिले के पायौं ? के–के न हुन्छ भनेर गएकी थियौं, के भयो ? आफ्नै जिन्दगी बर्बाद गरेर आखिर के पायौं ? घरपरिवारबाट बारम्बार आउने प्रश्न हो यो ।

समाजले त झन् खुच्चिङ नै भन्छ । के–के न परिवर्तन गर्छु भनेर युद्धमा गएकी थियौं अहिले के पायौ ? समाजले उनलाई बारम्बार गर्ने प्रश्न हो यो । जसको उत्तर उनले भेटेकी छैनन् । त्यसैले त उनी भन्छिन्, ‘जनयुद्ध त नेताहरूका लागि लडेका रहेछौं । हामीले त पीडामाथि पीडा मात्रै पायो ।’ उनी त कमसेकम नेपालमै छिन् । तर, उनका तत्कालीन कैयौं सहयोद्धा कमरेडहरू विदेशी भूमिमा पसिना बगाउन विवश छन् । कतिपय साथीहरू त जीवन र मरणको दोसाँधमा छन् । न्युजकारखानाबाट

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी