पेट्रोल १ सय ५५, डिजेल–मट्टितेल प्रतिलिटर १ सय ३८ । पछिल्लो पटक बुधबार वृद्धि पेट्रोलियम पदार्थको मूल्य यही हो । इन्धनको भाउ अझै बढ्नसक्ने धेरैको अड्कलबाजी छ । यस्तो अवस्थामा मधेसतिर नजर डुलाउने हो भने त्यता ‘बायोमास पेलेट इन्धन’ प्रयोगतर्फ व्यवसायी आकर्षित हुन थालेको देखिन्छन् । वनमा खेर जाने पातपतिगंर आधुनिक प्रविधिबाट बायोमास पेलेट इन्धन बनाइन थालेको छ । सर्लाही बयलवासमा यसको कारखाना नै खोलिएको छ ।
कारखाना सञ्चालक सन्तोषमणि नेपाल प्रदेश २ का होटेल, इँटा भट्टालगायत स्थानमा आजभोलि इन्धनका रूपमा ‘बायोमास पेलेट इन्धन’ प्रयोग बढिरहेको दाबी गर्छन् । बायोमास पेलेट जनकपुरधामसहित विभिन्न स्थानमा प्रदर्शनीसमेत गरिएको छ । जसबाछ स्थानीय व्यवसायी उत्साहित देखिएका छन् । उनीहरूका अनुसार दाउराभन्दा यो इन्धन सस्तो छ ।
होटेल व्यवसायी सन्तोष साह बायोमास पेलेटका कारण खर्च कम हुने गरेको बताउँछन् । मैले आफ्नो होटेलमा यही इन्धन प्रयोग गरिरहेको छु, उनी भन्छन्, ‘नयाँ पद्दतिका कारण हामी व्यवसायी उत्सुक छौं ।’
दुई दशकदेखि प्रचलनमा आएको धुलो, पात–पतिगंर, दाउरा, पराल, झिक्राभिक्रीजस्ता पदार्थ मेसिनमा पेलेर चकका रूपमा परिवर्तन गरिएको इन्धन नै ‘बायोमास पेलेट’ अर्थात् ‘उड पेलेट’ हो ।
बायोमास पेलेट युरोप, अमेरिका, क्यानाडामा प्रशस्त मात्रामा उत्पादन भएर ‘वैकल्पिक इन्धन’का रूपमा उपयोग हुँदै आएको छ । केही वर्षयता भारतमा पनि यसको उत्पादन भइरहेको छ । एसियाका विभिन्न देशमा समेत यो प्रविधि बढ्दो छ । ‘महंगिँदो इन्धनको विकल्पमा हाम्रै स्रोत उपयोग गरी इन्धन परिपूर्ति गर्न सकिने,’ होटेल व्यवसायी विजय झुनझुनवाला सुनाउँछन् ।
इँटा व्यवसायी परमेश्वर साह तीन वर्षदेखि यही प्रविधि उपयोग गर्दै आएको सुनाउँछन् । वनविज्ञ हरिनारायण मण्डल यसबाट इन्धन खपत कम पनि गर्न सकिने सुझाव दिन्छन् । उनका अनुसार डढेंलोबाट समेत वन बचाउन सकिन्छ ।
‘जंगलको दहनशील वनस्पति भएको एक क्षेत्रबाट सुरु हुने अनियोजित, अनावश्यक, अनियन्त्रित आगो हो,’ उनी भन्छन्, ‘डढेंलो लागेपछि वन क्षेत्रभित्रका सबै रुख, बिरुवा, जीव–जनावर प्रभावित हुन्छन् । जंगल क्षेत्रभित्र रहेका रुख तथा पातपतिंकर सुकेको अवस्थामा रहनु, सतहको माटोमा पानी कमी र आद्रता न्यून भएको समय डढेलो लाग्ने सम्भावना अत्यधिक हुन्छ ।’
डढेंलो लाग्न तीन तत्वको मिलन हुन आवश्यक रहन्छ– अक्सिजन, इन्धन र तापक्रम । हिउँदसँगै बिरुवामा नयाँ पालुवा पलाउने हुँदा पुराना तथा हाँँगाबिगा झरी जमिनको सतहमा बाक्लो मात्रामा जम्मा भएर बसेको हुन्छ । पूर्वमनसुन वा सुक्खा समय तापक्रम वृद्धि हुनाले वायुमण्डलीय आपेक्ष आद्रता तथा रूखवृक्ष र सतहमा जम्मा भइबसेका पातपतिंगरको ओसमा समेत कमी आउने गर्छ, जसका कारण अग्निको स्रोत पाउनासाथ डढेंलोको तीव्रताले अनियन्त्रित रूप लिन्छ ।
मधेस प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश शर्मा डढेंलो बचाउन बायोमास पेलेट प्रभावकारी भएकाले पनि प्रदेश सरकार योजना बनाउनेतर्फ सक्रिय रहेको बताउँछन् । डढेंलोबाट निस्कने धुवाँमा कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड र अन्य सुक्ष्म कणीय पदार्थ पाइन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो धुवाँले आँखा पोल्ने तथा चिलाउने, पिरो हुने र श्वासप्रश्वासमा समस्या ल्याउनेगर्छ ।
सन् २०१९ मा अस्ट्रेलियामा लागेको भीषण आगलागीले नजिक रहेका मानिसमा ३४ प्रतिशत श्वासप्रश्वासमा असर परेको थियो । यसकारण एकातिर डढेंलोबाट बायोमास पेलेट प्रभावकारी भइरहेको छ भने अर्कोतर्फ वैकल्पिक इन्धन उपलब्ध गराउने कार्य सुरु भएको छ । ‘सुरुका चरण रहेकाले धेरैलाई यसको महत्व र प्रयोग थाहा छैन,’ बायोमास पेलेट सञ्चालक नेपाल भन्छन्, ‘तर, जो एकपटक प्रयोग गर्छन्, छोड्नै चाहँदैनन् ।’