सन्दर्भ : विश्व मुख स्वास्थ्य दिवस
भनिन्छ, मानिसले स्वादिष्ट भोजनबाट तब मात्रै सन्तुष्टि लिन सक्छ जब दाँतमा कुनै खराबी हुँदैन र स्वस्थ रहन्छ । दाँतको मुख्य कार्य भोजनलाई चपाएर, टुक्र्याएर पचाउन योग्य बनाउनु हो, भन्ने मान्यता छ । रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ ।
विकारयुक्त दाँत तथा गिजाप्रति लापरबाही गरिँदा विकार सिधै पेटमा पुगेर रगतमा मिसिन्छ र शरीरमा विभिन्न रोग कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका विभिन्न रोगहरू, रक्तचाप, रक्तअल्पता, फोक्सोको रोग, झाडा पखाला वा कब्जियत, पेट र गला सुन्निने, पेटको अल्सर, आँखाको रोग, ब्लाडर, मिर्गाैला, फोक्सो, मुटु र दिमाग जस्ताका रोग, सब एकयुट ब्याक्टेरियल इन्डोकार्डाइटिस तथा मधुमेहलगायतका अनेकन समस्या हुन सक्दछ । मुखमा घाउखटिरा रहँदा मुखमैथुन, संसर्ग र ¥यालबाट यौनजन्य रोग, एचआइभी, हेपाटाइटिस जस्ता रोग सर्न सक्दछ । गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।
गर्भवती महिलामा भए यसको सोझो प्रभाव गर्भस्थ शिशु तथा प्रशव समयमा पर्दछ । समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ । प्रत्येक गर्भावस्थामा एउटा दाँत झर्दछ वा दाँत कमजोर हुने र दाँत झर्नु स्वाभाविक हो भन्ने सोचाइ गलत हो । त्यसैगरी हर्षा भएपछि, पाइरिया र दन्त सडनमा दाँत ब्रस गर्न छाडेर औंलाले दाँत माझ्न थाल्नु घरेलु तथा अन्य मञ्जन प्रयोग गर्नु पनि गलत हो जसले गर्दा रोग बढ्दै जान्छ र केही समयमै उग्ररूप लिएर रगत आउने, दाँत हल्लिने, तीव्र दुर्गन्ध आउने र थोतोपना हुन जान्छ ।
रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ
रोकथाम : रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम तथा उचित हुन्छ । आत्महत्या गर्न सक्नेसम्मको दुःखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगबाट ग्रसित नहुन, रोगलाई निको पार्न, तथा भएका रोगमा औषधीको आवश्यकता र मात्रा कम गर्न मुखको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ । दाँत तथा मुखका अंप्रत्यंगलाई अंगभंग हुनबाट जोगाउन अतिरिक्त ‘स्वस्थ दाँत, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार’लाई चरितार्थ पार्न निम्न कुरामा ध्यान पु¥याउनुपर्छ ।
दाँत एवं मुखको सरसफाइ : मुख पनि हाम्रो शरीरको हात जस्तै व्यस्त अंग हो । यसभित्र असंख्य जीवाणु सक्रिय रहन्छन्, जसमा कुनै हानिकारक त कुनै फाइदाजनक हुन्छ । खाना खानुअघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्ति नै अनिवार्य छ र गर्नुपर्छ । हामीले खाना खाइसकेपछि दाँत र गिजाबीच वा दुई दाँतबीच अड्किएको खानेकुरा सफा गरिएन भने लेउमा परिणत हुन्छ । लेउ नियमित ब्रस गरी सफा नगरे पत्थर बन्दछ जुन हटाउन क्लिनिक वा अस्पताल पुगी स्केलिङ गर्नुपर्छ ।
दिनको दुईपटक बिहान र बेलुका खानापछि तल–माथि गरी दाँत सफा गनुपर्दछ । सम्भव भए टुथब्रस नभए दतिवन र फ्लोराइड भएको दन्तमञ्जन (तर कोइला, बालुवा र खरानी होइन) प्रयोग गरी दाँतका सबै सतह सफा गनुपर्दछ । अन्य समयमा खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । दुई दाँतबीच सतह (फलामको पिन, आल पिन, काठ होइन) डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नुपर्छ । बालक दुई वर्ष नपुग्दासम्म सफा कपास पानीले र दुई वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ ।
खानेकुरामा नियन्त्रण : टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्यपदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग गर्नुहुँदैन । भिटामिन ‘बी’ र ‘सी’ पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मुला, गाजर, बन्दागोबी, सकरखण्ड जस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गनुपर्छ । रेसादार, ताजा फलपूmल, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोगले मुख मात्र नभै शरीर नै स्वस्थ रहन्छ ।
नियमित रूपमा दन्त परीक्षण : दाँत दुख्ने, गिजाबाट रगत आउने मात्रै दाँतको समस्या होइन । दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ त्यसकारण प्रत्यक्ष ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ । दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण सम्भव हुन्छ ।
विद्यालयका शिक्षक–शिक्षिकाले पनि आआफ्नो कक्षाका विद्यार्थीलाई दैनिक दुईपटक दाँत माझ्ने निर्देशन दिनुका साथै दाँत माझे वा नमाझेको दैनिक अनुगमन गर्नु जरुरी छ
बालक तीन वर्ष पुगेपछि दन्त परीक्षण गराउन सुरु गर्नुपर्छ । त्यसपछि नियमित रूपमा ६÷६ महिनामा दन्त परीक्षण गराउने बानी बसाल्नुपर्छ । के शिक्षित के अशिक्षित, के शिक्षक के विद्यार्थी, के गरिब के धनी सबैवर्गमा नियमित दन्त परीक्षणको अनुभव देखिँदैन । असह्य पीडा, जटिलता र समस्या भए मात्र चिकित्सककहाँ पुग्ने चलन छ । दन्त परीक्षणको कुरा गर्दा प्रायजसोले निःशुल्क स्वास्थ्य शिविरमा चेक जाँच गराएको बताउँछन् । त्यसो त दन्त समस्या भईकन पनि शिविरको प्रतीक्षामा बसिरहेका कम भेटिँदैनन् । वैदेशिक रोजगारमा जानेले बाध्यता भएर वा बाहिर महँगो हुन्छ भन्ने हल्ला सुनेकाले दन्त परीक्षण गराउने गर्दछन् । नियमित परिक्षणभन्दा रोग लागिसकेर त्यसबाट उत्पन्न हुने दुखाइ, जटिलता र कार्य नाश भएनजिकको औषधी पसलमा औषधी किनेर खाँदा ठीक नभएमा मात्र उपचार गराउने बानी धेरै व्यक्तिमा रहिआएको छ ।
रोगीको संख्याको चाप बढेपछि स्वास्थ्य चौकी, अस्पताल खोल्ने र जनशक्ति उत्पादन गर्नतिर लाग्ने चलन छ । रोग रोकथामका कार्यक्रमलाई व्यवस्थित रूपमा लागू गराइ रोग लाग्ने नराम्रो आदत बानी, अज्ञानता र दूषित वातावरणमै सुधार ल्याउन त्यस देशको स्वास्थ्य नीति र कार्यक्रमले ठूलो भूमिका खेल्ने भएकाले यस क्षेत्रतिर नेपाल सरकार स्वास्थ्य मन्त्रालयको ध्यान दिनैपर्छ । व्यापक कच्चा वैद्यगिरी, राम्रो काम गर्दा जस नपाउने र नराम्रो काम गर्दा दण्ड पनि भोग्नु नपर्ने वर्तमान स्थितिको अन्तका लागि छड्के अनुगमन निरन्तर हुनुपर्छ । तसर्थ, सरकारी क्षेत्रबाट सही मार्ग दर्शन, नीतिगत सहयोग र निरन्तर निगरानीको अति नै खाँचो छ ।
अन्तमा, भोक लागेका बेला खानेकुराको जत्ति महत्व हुन्छ, खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्व दिनुपर्छ भन्ने धारणा विकसित गर्न अब दाँत सफा गर्ने ब्रस र मन्जन अगाडि सारेर खाना खाने बेला आइसकेको छ । शिक्षक शिक्षिकाले पनि आआफ्नो कक्षाका विद्यार्थीलाई दैनिक दुईपटक दाँत माझ्न निर्देशन दिनुका साथै दाँत माझे वा नमाझेको दैनिक अनुगमन गर्न जरुरी छ । दूरदराजमा बसेका नागरिकसम्म समयमै सचेत भई १ हजार ४ सय ४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नु अगाडि ४ मिनेट मुखको सरसफाइमा दिआंै भन्ने व्यवहारत सचेतना सबैमा आओस् ।