काठमाडौं । सतारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने बताएका छन् ।
संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उनले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारबाही गर्न माग गरे । उनले तारा गाउँ, वाइडबडी, न्यारोबडीलगायतमा आर्थिक अनियमितताका कयौं प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
‘तारागाउँ, वाइडबडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरू खडा भएका छन् । वाइडबडीमा त देखादेखी बदमासी छ,’ नेता नेपालले भने, ‘त्यसलाई छानबिन, अगाडि बढाउने, कारबाहीको विषय बनाउने । जोसुकै होस् छोड्ने कुरा आउँदैन । जोसुकै जुनसुकै क्षेत्रमा होस् । आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन । पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । दोषीले सजाय भोग्नुपर्छ ।’ उनले विकास निर्माणलगायतका आयोजनाहरू बनाउँदा दीर्घकालीन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिए ।
छोटो समयमा नै असफल देखिने योजनाहरू बनाइएको भन्दै उनले सम्भावित आवश्यकता र प्रभावको आँकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइएको एरोवृजको उदाहरण दिँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वार्टरका भवन निर्माणमा पनि दीर्घकालीन सोच राख्न नसकिएको बताए ।