काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघि बढाएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी प्रक्रिया रद्द गरी खुला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी अहिलेको प्रक्रिया रद्द गरी आवश्यक भए खुला प्रतिस्पर्धाबाट खरिद गर्न निर्देशन दिएको हो ।
समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सेक्युरिटी प्रेस स्थापनामा दुरुपयोग भए नभएको छानबिन गर्न निर्देशन दिएको छ । त्यस्तै, समितिले जीटुजी सम्बन्धमा सम्बन्धित मन्त्री र मुख्य सचिवसँग छलफल गर्ने तथा खरिद प्रक्रियाको लागत अनुमानलगायतका विषयमा समेत छानबिन गर्ने भएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा भएको बैठकमा सांसदहरूले सार्वजनिक खरिद कानुनमा व्यवस्था भएको जीटुजी खरिद प्रक्रियामा स्पष्ट व्याख्या नहँुदा यसको दुरुपयोग भएको भन्दै प्रश्न उठाएका थिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘कमिसनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । बैठकले उक्त खरिद प्रक्रियाको लागत अनुमानलगायत विवरण तयार गर्ने सम्बन्धमा थप छलफल गर्ने निर्णय गरेको छ ।
जीटुजी प्रक्रियामाथि प्रश्न
बैठकमा सांसद डा. मीनेन्द्र रिजालले मुलुकको खरिद प्रक्रियाका केही कमजोरीको फाइदा उठाएर केही सीमित व्यक्तिले सदैव हालीमुहाली गर्ने अवस्था रहेको बताए । सांसद विरोध खतिवडाले जीटुजी खरिद प्रक्रियाको नाममा दुरुपयोग भएको बताउँदै यसको स्पष्ट मापदण्ड र व्याख्याका लागि आवश्यक छलफल गर्नुपर्नेमा जोड दिए ।
सांसद धर्मशिला चापागाईंले जीटुजी खरिद प्रक्रिया संकट पर्दा आवश्यकता पूरा गर्ने प्रक्रिया भए पनि यसको अपव्याख्या गर्ने गरिएको बताए । सांसद तेजुलाल चौधरीले सुरक्षण मुद्रण खरिद प्रकरणमा राजीनामा दिएर मात्र नहुने भन्दै छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउनुपर्नेमा जोड दिए ।
सांसद शरतसिंह भण्डारीले जीटुजी खरिद प्रक्रियालाई गलत मनसाय भएका व्यक्तिले चोर बाटोका रूपमा प्रयोग गर्ने गरेकाले यसमा पुनः विचार गर्नुपर्ने बेला आएको बताए । सांसदले प्रश्न उठाएपछि बैठकले जीटुजी खरिद प्रक्रिया सम्बन्धमा सम्बन्धित निकाय, मन्त्री, मुख्यसचिव र सचिवलाई बैठकलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी शुक्रबार प्रम निवास बालुवाटारमा पुगेपछि बुवा मोहनबहादुर ओलीबाट आर्शिवाद लिदैं । यही १९ फागुनमा अस्पताल भर्ना भएका प्रम ओलीको मिर्गौला प्रत्यारोपण २१ फागुनमा भएको थियो ।