काठमाडौं । उपत्यकामा आज शुक्रबार घोडेजात्रा पर्व मनाइँदै छ । काठमाडौं टुँडिखेलमा घोडा दौडाएर यो जात्रा मनाउने परम्परा रहिआएको छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वाससाथ हरेक वर्ष घोडेजात्रा मनाउने परम्परा चल्दै आएको हो ।
पाँहाचह्रे पनि जात्रा सुरु
टुँडिखेलमा रहेको मृतात्माले बालबच्चा र अन्यलाई दुःख दिन थालेपछि यसदिन घोडा कुँदाएर धपाइएको धार्मिक कथन छ । मृतात्मालाई लखेट्न सफल भएको दिनको सम्झनामा काठमाडौं उपत्यकाका तीनै जिल्लामा फरकफरक तरिकाले घोडेजात्रा मनाइन्छ ।
परापूर्वकालमा टुँडिखेल पूर्वदक्षिण दिशामा रहेको रूखमा बास गर्ने ‘गुरुमापा’ नाम गरेको राक्षसले उपत्यकाको मानवबस्तीमा विभिन्नखाले दुःख दिने र बालबालिका खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकाबासीले राक्षस मार्नका लागि अनेक उपाय खोज्न थाले । त्यसैक्रममा राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्परा सुरुवात भएको किंवदन्ती छ ।
अहिले पनि दौडने घोडाको टापले राक्षसको आत्मा दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बूढापाकाको कथन छ ।
अर्कोतर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्ष थालनी हुने मान्यता छ । सोही आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा अर्थात् घोडा हिडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउँछ ।
उता, ललितपुर पाटनमा ‘एकल घोडा’ परिक्रमा गरिन्छ । यो घोडालाई तलेजु वहानका रूपमा लिइने गरिन्छ । घोडे जात्राका अवसरमा भक्तपुरमा पनि विशेष कार्यक्रम गरिन्छ । यस अवसरमा सरकारले काठमाडौंमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।
घोडेजात्राका अवसरमा सैनिक मञ्चमा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायत उपस्थित हुने कार्यक्रम छ ।
पाँहाचह्रे जात्रा सुरु
काठमाडौंका नेवार समुदायको पाँहाचह्रे जात्रा हिजो बिहीबारबाट सुरु भएको छ । यो जात्रा हरेक वर्ष चैतकृष्ण चतुर्दशीको पिशाच चतुर्दशीदेखि चैत शुक्ल परेवाका दिनसम्म यो जात्रा मनाउने गरिन्छ । दुष्टात्मा र भूतप्रेत पिशाचबाट जोगाउन पाँहाचह्रे मनाउने गरिएको भनाइ चल्दै आएको छ ।
भक्तपुरमा विस्केट, ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथजात्राजस्तै काठमाडौंको प्रमुख जात्राका रूपमा पाँहाचह्रे जात्रालाई लिने गरिन्छ । काठमाडौंबासीले यस पर्वलाई ‘पाहुना बोलाउने’ पर्वका रूपमा पनि लिने गरेका छन् । जात्राका क्रममा आफन्तजन भेला भई भोज खाने र रमाइलो गर्ने चलन छ । पाहाँचह्रेको मूल उद्देश्य ‘सबै जाति एक हौं, जातको भेदभाव नगरौं’ भन्ने हो ।
विशेषगरी काठमाडौं किलागलदेखि तल र लगनमाथि बीचको भागमा पाँहाचह्रे जात्रा विशेषरूपमा मनाउने गरिन्छ । दसैंपछिको प्रमुख चाडका रूपमा काठमाडौंबासीले पाँहाचह्रे जात्रालाई लिने गरेको संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् ।
जात्राका बेला कंकेश्वरी, ओचु भद्रकाली, लुमडी भद्रकाली खटमा राखेर नगर परिक्रमा गर्ने चलन छ । तीन दिनसम्म चल्ने जात्राक्रममा दोस्रो दिन घोडेजात्राका बेला कर्म नचलेका बच्चालाई ‘मरजा’ खुवाउने परम्परा छ ।
मल्ल राजाको पालादेखि चलेको जात्राले भगवानलाई मानिसको घर’round आसनमा बसाल्ने र बालबच्चाको सुरक्षा हुने विश्वास गरिन्छ । जात्रामा कंकेश्वरी अजिमा, बोटु अजिमा, लुटी अजिमा, नक्साल भगवती रहेको स्थानलगायत नेवार समुदाय रहेको टोल–टोलमा पाहाँचह्रे पर्व सुरु हुन्छ ।
बुङ्मतीमा कार्यविनायक जात्रा
बुङ्मतीमा शुक्रबार कार्यविनायक जात्रा मनाइँदै छ । कार्यविनायक पुजारीको घरबाट सुनको जलप लगाएको मूर्ति मन्दिरमा राखिँदै छ । पुजारीका थकालीले मूर्तिलाई आज शुक्रबार बिहान मन्दिरमा लैजानेछन् । बिहानैदेखि बुङमतीका ३ सय ८० भन्दा बढी घरधुरीले कार्यविनायक गर्छन् ।
यस अवसरमा घरघरमा पाहुना डाकेर मिठोमसिनो खाइने परम्परा छ । बेलुकीपख देवता खटमा राखी बुङ्मती नगर परिक्रमा गराइन्छ । भोलिपल्ट कार्यविनायक मन्दिरको पुजारी फेरिन्छन् । तुलाधर थरका पुजारी रहने मन्दिरमा हरेक वर्ष पुजारी परिवर्तन गर्ने चलन छ ।
यसअघि, बुङ्मतीमा पाँहाचह्रे पर्वका अवसरमा हिजो बिहीबार पीठ पूजा गरिएको छ । बुंमतीबासीले जोगम्बरी जात्राका रूपमा दक्षिण क्षेत्रमा रहेकी देवीको पूजा गर्छन् । गाँउको रक्षा गर्ने देवीका रूपमा यहाँका वासिन्दाले जोगम्बरी देवीलाई लिने गरेको स्थानीय सुरेन्द्र तुलाधर बताउँछन् । उनका अनुसार मच्छिन्द्र बहालबाट मुकुटलाई खटमा राखेर जोगम्बरी देवीलाई पूजा गरिन्छ ।
नौ प्रकारका गेंडागुडी र नौ थरी कपडा चढाई स्थानीयले बुङ्मतीको पीठमा पूजा गर्ने र आफन्त बोलाई भोज खुवाउने परम्परा छ ।