इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी


इटहरी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरूको चुनावी सरगर्मी बढेको छ । यसैबीच नेपाली कांग्रेस इटहरीमा आइतबार कांग्रेसका नेताहरूले इटहरीमा एक व्यक्तिले प्रमुख पदमा टिकट पाएपनि कांग्रेस एक हुने प्रतिवद्वता व्यक्त गरेका छन् ।
इटहरीको मेयरका लागि नगरसभापति हेमकर्ण पौडेलसहित दस जनाले आकांक्षा राखेका छन् । जसमध्ये रोहित प्रसाईँ, भीमबहादुर पौडेल, विकास केसी, रमेश पोखरेल, नगेशचन्द्र राई, सूर्य राई, कल्पना चौधरी, रामरोहण चौधरी, बिष्णुबहादुर डाँगी छन् । यस्तै, उपमयेरका लागि गीता श्रेष्ठ, विमला ढकाल शिवाकोटी, सुशीला चौधरी, बबिता चौधरी, निर्मला चौधरी, कौशिला सुनुवार, सुशीला लेखी, रामपरी चौधरी, रुपा कार्की, मेनुका गिरी, शिला गजमेर, राधिका थापा लगायतले आकांक्षा राखे ।

०७४ सालको निर्वाचनमा थोरै मतले मात्रै पराजित भएको इटहरीमा यसपटक कांग्रेसले नेतृत्व लिने रणनीति बनाएर नेतृत्वहरूबीच छलफल पनि भइरहेको बताइएको छ । कार्यक्रममा बोल्दै नगरसभापति हेमकर्ण पौडेलले आफू स्वभाविक रूपमा मेयरको दाबेदारी रहेकाले टिकट पाएको अवस्थामा कम्युनिस्टको गढ मानिएको इटहरीमा कांग्रेसलाई जिताउने दाबी गरे । ‘म तपाईँहरूसँग जिम्मेवार हुनुपर्छ, आज एउटा वडामा एकजना वडाध्यक्षको ठाउँमा दसौँजना सिफारिस हुनु पनि सकारात्मक हो,’ उनले भने, ‘इटहरीका २० वटै वडामा म नेतृत्व गर्छु भनेर उपस्थितिको संख्या बढ्नु सकारात्मक पक्ष हो ।’

निर्वाचनमा कांग्रेसबाट जो कोहीले टिकट पाएपनि जीत निश्चित जस्तै रहेको उनको भनाइ छ । ‘निर्वाचनमा कसले टिकट पाउँछ, त्यो कुन समूहसँग छ भन्ने कुराको ख्याल नगरीकन रुख चिह्नलाई छातीमा राखेर हिँडिरहेका छौँ,’ पौडेलले भने, ‘मैले मेयर पदको टिकट नपाउँदा कुनै समस्या छैन, न शारीरिक न मानसिक समस्या नै छ । राजनीतिमा एउटा पद हुन्छ, त्यसका लागि प्रतिष्पर्धीहरू धेरै हुनुहुन्छ, यसपटकको नेतृत्व कांग्रेसले गर्छ ।’ उनले आफूले टिकट नपाएको अवस्थामा कार्यकर्ताको मनोबल गिर्नेगरी व्यवहार नहुने उदृत गर्दै भने, ‘मेरो उमेद्वारी स्वभाविक हो, मेरो उमेद्वारी कांग्रेस जिताउने हो, टिकट कसले पाउँछ भन्ने होइन ।’

गत स्थानीय तहको निर्वाचनमा इटहरीका मेयरका प्रत्यासी तथा महाधिवेशन प्रतिनिधि समेत रहेका रोहित प्रसाईँले पनि आफू स्वभाविक उमेद्वार रहेको बताए । आफूले उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व तथा उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा रहेर सकारात्मक काम गरेको स्मरण गरे । उनले भने, ‘प्लाष्टिकमुक्त इटहरी, हरितनगरी इटहरी र विगतमा फोहोर व्यवस्थापनका लागि पनि मेरो अगुवाईमा विभिन्न राम्रा काम भएका छन्, गत निर्वाचनमा थोरै मतले मात्रै पराजित भएको हुँ, त्यसैकारण पनि एकपटक अवसरमो रूपमा मलाई पार्टीले अगाडि सार्नुपर्छ ।’ उनले आफूले टिकट नपाएपनि कांग्रेसको उमेद्वार जो कोही रहेपनि जिताउने भूमिकामा रहने बताए ।

भने, ‘एकपटक अवसरको रूपमा पनि मैले नेतृत्व गर्नुपर्छ भनेर मेयरको रुपमा प्रस्तुत गरेको हुँ ।’ उवासंघ इटहरीका अध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि भीमबहादुर पौडेलले इटहरीलाई समृद्व बनाउन आफूले उमेद्वारी दिएको बताए । उनले आफूले कोभिड कार्यकालमा आइसोलेसन सेन्टर निर्माण गर्दै जनतालाई प्रत्यक्ष सेवा दिएको स्मरण गर्दै भने, ‘हरेक विपत्तिका बेला जनताको साथमा रहेर प्रत्यक्ष रूपमा काम गर्नका लागि मेरो उमेद्वारी हो, मैले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा सकारात्मक काम गर्नका लागि आफूलाई मेयरको रूपमा प्रस्तुत गरेको हुँ ।’

यता, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि विकास केसीले पनि आफूलाई मेयरको आकांक्षीका रूपमा प्रस्तुत गरे । उनले भने, ‘मैले विद्यार्थीकालमा गरेका सकारात्मक कामका कारण पनि आज मेयरको दर्बिलो रुपमा आकांक्षा राखेको छु ।’
उनले कांग्रेसको विभिन्न पदमा रहेर सकारात्मक काम गरेको छु । इटहरीको विकास गर्नका लागि मेरो उमेद्वारी हो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि रमेश पोखरेलले कांग्रेस एक हुनुपर्नेमा जोड दिए । भने, ‘मेयरमा मेरो पनि दाबेदारी हो, तर सहमतिका आधारमा नाम सिफारिस हुनुपर्छ, होइन भने टिकट जसले आएपनि काँधमा काँध मिलाएर अगाडि बढ्न आवश्यक छ ।’ उनले कांग्रेसका तर्फबाट टिकट जसले प्राप्त गरेपनि एक हुनुपर्ने अन्यथा पार्टीलाई धोका दिएको अवस्थामा साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले कांग्रेसको प्रमुख सत्रु एमाले रहेकाले आगामी निर्वाचनमा एक भएर देशैभरी कांग्रेसको जीतका निम्ति लागि पर्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेसलाई हामी आफैँले जिताउने हो, अर्कोले आएर चुनाव जिताइदिने होइन ।’ उनले कांग्रेसमा एकता भएको बताउँदै गठबन्धनको नाम लिएर इटहरीमा अन्य दलले टिकट नपाउने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष