माओवादी निर्देशनः एक जिल्ला एक महिला अनिर्वाय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्कुलर जारी गर्दै आगामी निर्वाचनका लागि ५ वैशाखसम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष दाहालले जारी गरेको सर्कुलरमा स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा तीन जना उम्मेदवारको नाम सिफारिस गर्न भनिएको छ ।

प्रदेश समितिहरूले सर्वसम्मत भए एक-एक जना र नभए प्राथमिकताका क्रममा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरूको नाम ५ वैशाखभित्रमा सिफारिस गरिसक्नु भनिएको छ ।

प्रत्येक जिल्लाबाट एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तीमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई नै अनिवार्य बनाउन माओवादी केन्द्रको निर्देशन

नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिले गर्नुपर्नेछ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।

तर, सो निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ । त्यसैगरी, वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नेछ ।

अध्यक्ष दाहालले प्रत्येक जिल्लाबाट कम्तीमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तीमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई नै अनिवार्य बनाउन निर्देशन दिएका छन् ।

विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवार अनिवार्य बनाउनुपर्ने उनले कडा निर्देशन दिएका छन् ।

माओवादी केन्द्रले स्थानीय तहमा महिलालाई उपमेयरमा सीमित नगर्न महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनमा केन्द्रको स्वीकृतिबिना आपूmखुसी गठबन्धन तोड्न नपाइने सर्कुलरमा स्पष्ट निर्देशन दिइएको छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले चुनावी तालमेलका कारण स्थानीय तहका प्रमुख पदमा महिला सहभागिता कम हुन नदिने रणनीति पार्टीले बनाएको बताए । महिला सहभागिता कम हुन नदिने विषयमा पार्टी सचेत रहेको बताउँदै उनले बढीभन्दा बढी महिला उम्मेदवार बनाउने बताए ।

‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्र उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने हो कि भन्ने चिन्ता छ । तर, हामी त्यस्तो हुन दिने छैनौं । महिलालाई अत्यधिक उम्मेदवार बनाउने रणनीति माओवादीको छ,’ पुनले भने, ‘त्यसलाई हामी ब्यालेन्स गर्छौं, म आफैं गठबन्धनको संयन्त्रमा छु । गठबन्धनका कारणले महिला सहभागिता कम हुन दिँदैनौं । पार्टी यसमा सचेत छ ।’

उनले स्थानीय तह निर्वाचनमा हाल नगरपालिकाका उपमेयर र गाउँपालिका उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्षको उम्मेदवारमा प्राथमिकता दिने दाबी गरेका छन् । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य गरेको भन्दै उनले आफ्नो दलले त्यसलाई बढाएर कम्तीमा ३५ प्रतिशत सुनिश्चित गर्ने नीति लिएको बताए ।

पुनले राजनीतिक र प्रशासनिक नेतृत्वमा जनसंख्याका आधारमा महिला सहभागिता गराउनुपर्ने आफ्नो पार्टी धारणा रहेको पनि बताए । उनले संविधानले ग्यारेन्टी गरेको ३३ प्रतिशतमा महिला र पुरुषबीच नभई महिला महिलाबीच प्रतिस्पर्धा गराउन सके परिणाम राम्रो आउने बताए ।

माओवादीले महिलालाई उम्मेदवार बनाउन अपनाएको विशेष नीतिजस्तै अन्य दलले यस्तो नीति बनाउन सकेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी