के छ पुष्करलालको ‘नेपाल किन बनेन ?’ मा

काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक आइतबार सार्वजनिक गरिएको छ ।

स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जो १४ मंसिर २०७५ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो ।

कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गत वर्ष १५ मंसिरमा कामना समूहको वार्षिकोत्सवका अवसरमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उनले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूति समेटेका थिए भने ‘नेपाल किन बनेन ?’ ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरुको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो । पुस्तकका सम्बन्धमा प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ भन्छन्, ‘नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि मेरा ड्याडीले एक प्रकारले हामी परिवारका सदस्यलाई नै बिर्सेर जीवन सुम्पनुभएको हो । उहाँका आलेखहरुमा सत्यता र निर्भीक विश्लेषण तथा देशप्रतिको चिन्ता र माया देखेर नै मैले पुस्तकका रुपमा प्रकाशित गर्न आवश्यक ठानेको हुँ ।’ किताबमा प्रकाशक श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख पनि समावेश गरेका छन् ।

सीईओ श्रेष्ठले ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ कृतिलाई आम पाठकले मन पराइदिएकोमा धन्यवाद पनि व्यक्त गरेका छन् । स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा घटेका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएको त्यस पुस्तकले कोरोना महामारीलाई चिर्दै राम्रो व्यापार गरेको थियो ।

नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुनेछ । यस पुस्तकमा लेखक श्रेष्ठले विगत ३० वर्षका सन्दर्भलाई समेटेर नेपाल नबन्नुका कारण खोतलेका छन्, जो मतदानमा जान लागेका हरेक नेपालीलाई असल उम्मेदवार छान्न अभिप्रेरक हुनसक्छ । सम्भवतः आलस्य र अविश्वासका साथ मतदानमा उभिन लागेका मतदाताले निर्वाचनमा जानुअघि यस किताबबाट सायद राम्रो मार्गनिर्देशन पाउनेछन् ।

किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता बन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल तथा देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आसाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणाहरु पनि समेटिएका छन् । ४ वैशाख २०७६ मा ६१ वर्षको अल्पायुमै दिवंगत भएका श्रेष्ठ नेपालमा व्यावसायिक विकासका संस्थापक मानिन्छन् ।

मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि उनको जीवन बुझ्नका निम्ति पनि यो पुस्तक सहायक हुनेछ ।
पुष्करलालले ६० वर्षपछि सक्रिय पत्रकारिता तथा मिडिया व्यवस्थापनको नेतृत्वबाट आंशिक अवकाश लिने र चारवटा किताब लेख्ने जानकारी गराएका थिए । यसमा यात्रा वृत्तान्त, राजनीतिक गतिविधि, आम सञ्चार र आत्मकथा गरी चार विधामा कलम चलाउने र पहिलो पुस्तक ६१औं जन्मोत्सवका दिन २५ साउन २०७६ मा विमोचन गर्ने उनको योजना थियो । हरेक दिन डायरी लेख्ने उनीसँग पुस्तकका लागि पर्याप्त सामग्री पनि थिए । तर, उनीसँग समय रहेनछ, बीचमै यस संसारलाई छोडेर जानुप¥यो । उनको सोही इच्छा पूरा गर्ने यो दोस्रो प्रयास हो ।

कुल ३०० पृष्ठको पेपर ब्याकमा प्रकाशित ‘नेपाल किन बनेन’ किताबको मूल्य ६ सय रुपैयाँ राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी