अझै पनि नेपालको ठूलो जनसंख्या गरिबीको रेखामुनि बाँच्न बाध्य छ । नेपाली समाजमा गरिबी, अभाव र अशिक्षा व्याप्त छ । मुलुकमा यही समाजको पिछडापनको विज्ञापन गरेर राजनीति गर्ने दल धेरै छन् । प्रजातन्त्रको लामो शासन व्यवस्थामा पनि जनताले गरिबी, अभाव, महँगी, भ्रष्टाचार, नातावाद, कृपावाद, तस्करी, कालोबजारी, सामाजिक द्वन्द्व, वैमनस्य, वैदेशिक रोजगारको बाध्यता भोग्न बाध्य भए । समाजमा एकातिर गाँस, बास र कपासको अभावमा तड्पिएको वर्ग छन् भने अर्कोतिर नवधनाढ्यको बढोत्तरी भएको छ । दलाली, तस्करी, विचौलिया, राजनीति नेतालगायतका व्यक्ति एवं व्यक्तिवले कालो धन कमाउन अभ्यस्त भएका जानकारहरू बताउँछन् ।
गरिबीका कारण घर परिवारको पेट पाल्नका खातिर हरेक दिन १५ सयको हाराहारीमा युवा पुस्ता विदेसिएका छन् । एकातिर किसान, मजदुर, भूमिहीन, सर्वहारा, पिछडावर्गलगायतको समूहले पेट पाल्नका लागि पसिना बगाएका छन् । तैपनि पेट पाल्न सक्ने स्थिति छैन भने अर्कोतिर राजनीतिक कुशासनको आडमा कालोधन कमाएका नवधनाढ्यहरूले पेटमा लागेको बोसो घटाउन वा पेट फाल्न दौडिइरहेको देखिन्छ । प्रायजसो यी नवधनाढ्यको न त राम्रो शिक्षा दीक्षा छ न त देखिने पेसा नै तर सहरमा महल, गाडी, घोडा, शिक्षा र स्वास्थ्यमा लगानी, वित्तीय संस्थामा सेयरलगायत सम्पत्ति यिनीहरूकै छ । योे सम्पत्तिको आय स्रोत के हो ? न त राज्यले खोज्छ न सम्बन्धित निकायले वा समाजले । राज्य सञ्चालक अझै ठूलो भुँडीवाला भएकाले यो अवस्था आएको हो ।
समाजमा अझंै पनि गरिबीकै कारणले आना छोरा छोरीलाई विद्यालय पठाउन नसक्नेको संख्या ठूलो छ । दक्षिण एसियामा अरबपति भएको देश भारत र नेपाल मात्र हो । नेपालमा विनोद चौधरी एक मात्र अरबपति हुन् । उनका देशविदेशमा दर्जनौंको संख्यामा उद्योग भएको बताइन्छ । उनका उद्योगमा हजारौंको संख्यामा नेपालीले रोजगार पाएका छन् । यो खुसीको कुरा हो । तर, नेपालका अन्य धनाढ्यवर्ग, पुँजीपति, साहु महाजनले उत्पादनको क्षेत्रमा लगानी गरेको पाइँदैन । प्रायः पेट फाल्न दौडने वा अभ्यास गरिरहने वर्गको पुँजी अनुत्पादक क्षेत्रमा लगानी भएको छ । यिनीहरूका लगानी घर, जग्गा, गाडी, सुन, विलासिताका सामग्रीमा भएको पाइन्छ । यो लगानीले न त रोजगारी सिर्जना ग¥यो, न त उत्पादनको क्षेत्रमा ।
सर्वहारा वर्गको दल भनिने माओवादीभित्र नै पेट पाल्ने र पेट फाल्नेको अर्थ शास्त्रीय विभेदको सिर्जना भएको छ
त्यसो त समाजमा गरिबी, अशिक्षा, अभाव र पेट पाल्ने अवसरको खोजी गरिरहेका जनता अत्यधिक भएकाले दललाई राजनीति गर्ने आधार बनेको छ । २०५२ सालमा सुरु भएको माओवादी जनयुद्घको आधार पनि समाजको गरिबी र सामाजिक विभेद नै थियो । यो युद्घमा अधिकांश पेट पाल्न कठिन हुने वर्गको संलग्नता रहेको थियो, भनिन्छ । युद्घमा माओवादीले पेट फाल्ने वर्गलाई निसाना बनाएको थियो । उनीहरूले जग्गा जमिन हुनेहरूलाई महासामन्त भने । उनीहरूको जग्गामा पार्टीको झन्डा गाडे । पुँजीपतिका उद्योगधन्दा बन्द गराए । शिक्षक, व्यापारी, कर्मचारीबाट लेबी उठाएर पेट पाले । बैंक लुटेर हतियार किने । बुझी नबुझी इगालिटेरियन समाजको हवला दिए ।
धनीहरूको सम्पत्ति लुटेर गरिबलाई बाँडिदिने आश्वासन दिए । बुर्जुवा शिक्षा पढ्न हँुदैन भनेर विद्यार्थीलाई बन्दुक थमाए । विद्यालयमा बम हाने । नैतिक शिक्षाका किताबहरू जलाए । लामो समयसम्मको वितण्डा पछाडि उनीहरू शान्तिपूर्ण राजनीतिमा आए । तत्पश्चात् टाठाबाठाहरू शक्तिमा पुगे । अनि के को इगालिटेरियन समाज निर्माणमा लाग्थे ? कमाउधन्दामा लागे । सुकिला, मुकिला भए । सर्वहारा नेताजीका काठमाडौंमा महल बने । चिल्ला गाडी घर अगाडि ठडिए । खानपान, सुखसुविधा भएपछि पेटमा बोसो लाग्न थाल्यो । अनि उनीहरू पेट पाल्ने कसरतमा लाग्न थाले । अवसर नपाउनेहरू पेट पाल्नकै लागि बिदेसिए । सर्वहारावर्गको दल भनिने माओवादीभित्र नै पेट पाल्ने र पेटफाल्नेको अर्थशास्त्रीय विभेदको सिर्जना भयो ।
देश प्रजातान्त्रिक अभ्यासका ३२ वर्ष पेट पाल्ने र पेट फाल्नेकै बीच अन्तरसंघर्ष र आन्तरिक खिचातानीमा फस्यो । देशको राजनीति विकास र समाज सेवासँग जोडिन सकेन । राजनीति पेट पाल्ने खेलबाट सुरु भएर पेट फाल्ने अवस्थामा पुग्यो । सीमित व्यक्तिको आयआर्जनको स्रोत बन्यो । देशमा लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, नागरिकतन्त्र, समुदायतन्त्र जस्ता राजनीतिक शब्दजालमा नागरिकलाई फँसाएर सीमित व्यक्ति वा समूहले अर्थ राजनीतिको अभ्यास गरे । राजनीतिभित्र पनि अवसर पाउनेहरू पेट फाल्ने अवस्थामा पुगे । अवसर नपाउने पाइएलाकी भनेर पेट फाल्नेको वरिपरि गणेश परिक्रमा गर्ने, ताली पड्काउने र अवसर चड्काउने मेसोमा लागे । यो क्रम अझै पनि जारी छ ।
समाजमा पिछडिएका जनजाति, मुस्लिम, थारु, सिमान्तकृत, गरिब, दलित, पूर्वहलिया, कमलरी, माझी, कुसुन्डा, भूकम्प पीडित, बाढीपहिरो पीडितलगायतका रोग, शोक र भोकमा डुबेका नागरिकको अवस्था ज्यूँका त्यूँ छ । यो वर्गको उत्थानको नारा बनाएर राजनीति गर्नेले उनीहरूको पेट पाल्ने भरपर्दो प्रबन्ध मिलाउन सकेनन् । उल्लेखितवर्ग भोकाको भोकै नांगाको नांगै रह्यो । मुसहरको अवस्था उस्तै छ । राउटेहरू उस्तै छन् । चेपाङहरू चेपाङ नै रहे । समृद्ध नेपाल सुखी नेपालीको नारा दिएर सत्तामा पुग्नेहरू भुँडीकै जोहो गर्न लागेकाले लोकतन्त्रको सौन्दर्यता हराएको छ । अब निर्वाचन फेरि यही वर्ग राजनीतिक दलकको प्रिय पात्र हुनेछन् । भाषणभित्र शासनमा पुगेपछि रासनको व्यवस्था गरिने भूmठा बाचा गरिनेछ ।
राजनीतिक विसंगतिकै कारण समाजमा भ्रष्टाचार, दलाली, कालो बजारी, तस्करी, विचौलिया आदि मौलाएका हुन्
हाम्रो देशले प्रजातन्त्रको लामो इतिहास बोकेको छ । २००७ सालको प्रजातन्त्रको लडाइँ हुनुभन्दा अगाडि जनताले देशको गरिबी, असमानता र पछौटेपनका कारक राणाको एकतन्त्री शासन व्यवस्थालाई ठानेका थिए । राणा पेट फाल्ने वर्ग थिए । उनीहरूलाई हटाएपछि सबैको पेट भरिएला भन्ने आशाले शहीदले ज्यान फाले । जनता राणा विरोधी आन्दोलनमा होमिए । कवि गोपालप्रसाद रिमालको परिवर्तन कवितामा भनिए जस्तै २००७ साल अगाडि रोइरोइ बाँचेका जनताहरू प्रजातन्त्र र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न तयार भए ।
हाँसी हाँसी मर्न तयार हुनुको पछाडि देश विकास र आर्थिक समृद्धिको अपेक्षा थियो । यसै गरी प्रजातान्त्रिक चेत भएका जनताले पञ्चायती व्यवस्थाविरुद्घ गरिएको लडाइँको उद्देश्य पनि विकास, सामाजिक न्याय र आर्थिक समृद्घि नै थियो । तर, विडम्बना प्रजातन्त्र सीमितवर्गको घ्याम्पे भुँडी बनाउने स्रोत बन्यो । घ्याम्पे भुँडी बनाउने समूह सिर्जना गर्ने दुष्कर्मको माध्यम बन्यो । कुशासन र विकृतिको स्रोत केन्द्र बन्यो । राजनीतिक नेतृत्वले पेट पाल्न नसक्ने वर्गलाई उकासेर पेट फाल्नेवर्गको हितमा काम ग¥यो ।
पेट फाल्ने वर्गकै कारण आज गाउँहरू बूढाबूढी र केटाकेटीको बस्ती भएका छन् । देशमा बेरोजगारी व्याप्त छ । दण्डहीनता मौलाएको छ । उद्योगहरू घरासायी भएका छन् । महँगी नियन्त्रणमा छैन । कालो बजारीतन्त्र रोक्न र दोषीलाई कानुनको कठघरामा उभ्याउन पेट फाल्नेहरू असफल छन् । सत्ताको कुर्सी कृषिसँग जोडिएको छैन । किसानको महत्व शून्य छ । दक्ष, अदक्ष र अर्घदक्ष जनशक्ति निरासा, कुण्ठा र पलायनवादी चिन्तनले ग्रस्त छ । यस सन्दर्भमा अबको निर्वाचनमा पेट फाल्नेवर्गलाई सत्तामा पु¥याउन पेट पाल्ने वर्गले भ¥याङको काम गर्ने कि नगर्ने ? नगरेर कसलाई गर्ने ? पेट पाल्नेहरू सत्तामा पुगेपछि पेट फाल्ने वर्गमा नै दर्ज हुने गरेको इतिहास साक्षी छ ।
अन्त्यमा डेमोक्रेसीको नाममा क्लेप्टोक्र्याटको जन्म भएकाले मुलुक आर्थिक रूपमा चौपट भएको छ । राजनीतिक विसंगतिकै कारण समाजमा भ्रष्टाचार, दलाली, कालो बजारी, तस्करी, विचौलिया आदि इत्यादि भएका हुन् । जनताले तिरेको करमा सीमित मानिस रमाएका छन् । पेट पाल्ने र पेट फाल्नेका बीच मनोवैज्ञानिक दूरी बढेको अवस्था छ । यो दूरीले विवेक गुमाएन भने आगामी निर्वाचनमा सबैको भुँडीको जोहो गर्न सक्ने नेतृत्व निर्वाचित होला कि ? आशा गरौं ।