धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी


बिराटनगर । धनकुटामा वडा तहसम्मै सबै पदमा साझा उम्मेद्वार उठाउँने घोषणा गरेर बनेको चार दलिय सत्ता गठबन्धन अन्ततः भद्र तालमेलमा असफल बनेको छ । गठबन्धन आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले जिल्लाका बिभिन्न ठाउँमा दोहोरो उम्मेद्वारी दर्ता गराएका छन् ।

धेरै ठाउँमा गठबन्धन सम्बद्ध दलहरुबाट वडा सदस्यदेखि पालिका प्रमुखसम्म नै दोहोरो उम्मेद्वारी परेको छ । कांग्रेसले कमजोर आँकेर भागबण्डामा समस्या आएको भन्दै जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले धेरै ठाउँमा दोहोरो उम्मेद्वारी दिएका छन् । माओवादी र कांग्रेसबीचमा पनि केही ठाउँमा दोहोरो उम्मेद्वारी परेको छ । धनकुटा नगरपालिकाको प्रमुखमा कांग्रेसका दिनेश राईले उम्मेद्वारी दिँदा गठबन्धन सम्बद्ध जनता समाजवादीका गोपाल लिम्बुले पनि सोही पदमा मनोनयन दर्ता गराएका छन् । धनकुटा नगरको उप–प्रमुखमा पनि जसपाले गठबन्धन बाहिरबाटै उम्मेद्वारी दर्ता गराएको छ । उप–प्रमुखमा माओवादी केन्द्रका गणेश बिष्टले उम्मेद्वारी दिँदा जसपाका सारकुमारी आठपहरियाले पनि सोही पदमा उम्मेद्वारी दर्ता गराएकी हुन् ।

पाख्रीवास नगरपालिकामा पनि कांग्रेसका उम्मेद्वारविरुद्ध गठबन्धन सम्बद्ध दल नेकपा एकीकृत समाजवादीले मेयर, उप–मेयरसहितका पदमा उम्मेद्वार उठाएको छ । पाख्रीवासको नगर प्रमुखमा कांग्रेसका ज्ञानबहादुर गुरुङले उम्मेद्वारी दिएका छन् । सोही पदमा एकीकृत समाजवादीका जिल्ला उप–सचिव गोपाल बराइलीले मनोनयन दर्ता गराएका हुन् । गठबन्धनभित्र कांग्रेसले अहमता र दम्भ देखाएकाले दोहोरो उम्मेद्वारी दिएको बराइली बताउँछन् । एकीकृत समाजवादीले पाख्रीवासको उप–प्रमुखमा सावित्रा घिमिरेलाई उम्मेद्वार बनाएको छ । सोही पदमा गठबन्धन सम्बद्ध दल माओवादीका ओम प्रकाश निरौला पनि उम्मेदवार छन् ।

पाख्रीवास वडा नं. ४ र ७ एकीकृत समाजवादीलाई दिने भनेपनि कांग्रेसले ७ नम्बरमा उम्मेद्वारी दिएपछि समस्या सृजना भएको एकीकृत समाजवादीका नेताहरु बताउँछन् । सहिदभूमि गाउँपालिकामा पनि सत्ता गठबन्धनमा भाडभैलो देखिएको छ । सहिदभूमि गाउँपालिकाको अध्यक्षमा माओवादी र एकीकृत समाजवादीले दोहोरो उम्मेद्वार उठाएका छन् । उपाध्यक्षमा कांग्रेस र जसपाले आ–आफ्नै उम्मेद्वार खडा गरेर मनोनयन दर्ता गराएका छन् । सहिदभूमिको अध्यक्षमा माओवादीका भरत राईले उम्मेद्वारी दर्ता गर्दा गठबन्धन सम्बद्ध दल एकीकृत समाजवादीका जेवी राईले पनि सोही पदमा मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा कांग्रेसका तोर्णबहादुर खड्का र जसपाका बलेन्द्र राईले बेग्ला बेग्लै उम्मेद्वारी दिएका छन् ।

यता, महालक्ष्मी नगरपालिका–३ नम्बर वडामा वडा सदस्यदेखि अध्यक्षसम्म नै कांग्रेस र माओवादीका बेग्ला बेग्लै प्यानल बनेका छन् । गठबन्धन सम्बद्ध दुवै दलले आ–आफ्नै प्यानल बनाएर मनोनयन दर्ता गराएका हुन् । त्यहाँ कांग्रेसकातर्फबाट रामचन्द्र थापा र माओवादीकातर्फबाट मानबहादुर थापाले वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

मिलाउँने प्रयास भइरहेको छ : गठबन्धन

उम्मेद्वारी मनोनयन दर्तासम्म आइपुग्दा सत्ता गठबन्धनभित्र धेरै ठाउँमा समस्या देखिएपनि गठबन्धन सम्बद्ध दलहरुले अझै पनि समस्या समाधान गरेर मिलाउने प्रयास भइरहेको दावी गरेका छन् । नेकपा माओवादीका जिल्ला इन्चार्ज हेमराज भण्डारी माओवादी र कांग्रेसबीचको तालमेलमा समस्या नहुँने दावी गर्छन् । उनी भन्छन्, ‘जसपा र एसमा केही समस्या देखिएको छ, कांग्रेस र माओवादीबीचमा समस्या छैन, केही वडाहरुमा दोहोरो उम्मेद्वारी परेको छ, हामी त्यस्तो ठाउँमा उम्मेद्वारी फिर्ता गराएर मिलाउँछौं ।’

यता, कांग्रेसका प्रवक्ता खगेन्द्र घिमिरे पनि गठबन्धनभित्र एकीकृत समाजवादी र जसपासँग समस्या देखिएपनि माओवादीसँग भने समस्या नहुँने बताउँछन् । जसपाका जिल्ला अध्यक्ष बलबहादुर राई पनि अझै सहमतिको प्रयास भइरहेकाले उम्मेद्वारी फिर्ताको माध्यमबाट गठबन्धनको समस्या हल गर्न सकिने तर्क गर्छन् । एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपसचिव बराइलीले भने कांग्रेसको दम्वले गठबन्धनमा समस्या सृजना भएको प्रतिक्रिया दिएका छन् । तर, गठबन्धन टुटेको भन्न नमिल्ने उनको भनाई छ ।

गत स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका जितेको एमालेविरुद्ध लड्न चार दलले गठबन्धन घोषणा गरेका हुन् । सुरुमा उनीहरुले वडा तहसम्मै सबै पदमा गठबन्धनका साझा उम्मेद्वार उठाउँने उद्घोष पनि गरे । तर, उम्मेद्वार भागबन्डामा कुरा नमिल्दा गठबन्धनमा समस्या आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित