टीकापुर(कैलाली) । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा टिकट वितरणको विषयलाई लिएर नेपाली काँग्रेस कैलालीमा आन्तरिक विवाद देखिएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गरेको निर्णयमाथि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर एउटै पालिकामा दुई उम्मेदवार सिफारिस गरेपछि काँग्रेसभित्र समस्या सृजना भएको छ ।
कैलालीको लम्की–चुुहा नगरपालिकाको नगरप्रमुख र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा दुई जनालाई टिकट दिएपछि विवाद भएको छ । यी दुवै पालिकामा आधिकारिक उम्मेदवारको विषयमा टुंगो लागेको छैन् ।
प्रदेश सभापति बलायरले लम्कीको मेयरमा भक्तबहादुर थापालाई टिकट दिएर उम्मेदवार बनाएका थिए भने सभापति देउवाले सुशीला शाहीलाई दिएपछि विवाद भएको हो ।
त्यहाँ सो नगरपालिकाको नगरप्रमुखमा दुवै जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोडाघोडी नगरपालिकाको उपमेयरमा बलायरले रिता चौधरी र देउवाले गुलिया चौधरीलाई टिकट दिएपछि आधिकारिक उम्मेदवारको विषयमा समस्या देखिएको छ ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले लम्की–चुुहामा सुशीला र घोडाघोडीमा गुलिया नै पार्टीको आधिकारिक उम्मेदवार भएको बताए ।
टिकट वितरणमा अराजक प्रवृत्ति देखाएको भन्दै कांग्रेस कैलालीका उपसभापति खेमराज चौधरी, सचिव नृपबहादुर सुनार र सदस्य प्रकाश बमले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । उनीहरूले उम्मेदवारको वैधानिकतामाथि समेत प्रश्न उठाएका छन् ।
विगतदेखि नै दुई समूहमा रहेको नेपाली कांग्रेस कैलालीमा हालै सम्पन्न अधिवेशनबाट नेताहरू दुुई खेमामा बाँडिएका छन् । नेपाली काँग्रेस कैलालीभित्र देखिएको गुटका कारण यसको असर आसन्न स्थानीय तहको निर्बाचनमा समस्या देखिने काँग्रेस कार्यकर्ताको चिन्ता छ ।