इटहरी । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरी जिल्लामा १६६ वटा मतदानस्थल रहेको छ भने चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सुनसरीका १६६ वटा मतदानस्थलमा ५८१ वटा मतदान केन्द्र राखिनेगरी निर्वाचनको काम अन्तिमचरणमा पुगेको बताएका छन् । बिहीबार इटहरीमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजना, सुनसरी शाखाको समन्वय तथा संवाद समूहको सहकार्यमा भएको अन्र्तक्रिया बोल्दै उनले जिल्लामा रहेका मतदानस्थलमध्ये ४४ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ४२ वटा सामान्य रहेको बताए । सुरक्षा संवेदनशीलताका आधारमा तीन स्तरमा वर्गीकरण गरिएको उनको भनाइ छ ।
‘साबिकका निर्वाचनमा त्यहाँ भएका घटनाहरू र भुगोलको आधारमा हामीले पूर्वानुमान गरेर वर्गीकरण गरेका हौँ,’ उनले भने, ‘सबैभन्दा सामान्य राखिएको निर्वाचन स्थल पनि अति संवेदनशील हुनसक्छ, निर्वाचन भनेको ठ्याक्कै पूर्वानुमान गर्न सकिने घटना होइन ।’
सुनसरीमा दुईवटा उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । जसमा १२४ वटा वडामा सो संख्यामा मतदानस्थल रहेको प्रजिअ यादवको भनाइ छ ।
‘एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र रहेको छ, हामीले एउटा मतदान केन्द्रमा पाँचजना कर्मचारी खटिनेगरी काम गरिरहेका छौँ,’ उनले भने, ‘जसमध्ये चार हजार ९५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।’ उनका अनुसार १,१६६ जना नेपाल प्रहरी, ५१२ जना सशस्त्र प्रहरी बल, ३३० जना नेपाली सेना, १९ जना राष्ट्रिय अनुसन्धान समूह र २०६८ जना म्यादी प्रहरी गरी उक्त संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख, कृष्णप्रसाद पौडेलले आचारसहिंताले निर्वाचनलाई स्वच्छ बनाउने बताए । ‘निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउनका लागि आचारसहिंता बनाइएको हो, यो सबैका लागि लागू हुन्छ,’ उनले भने, ‘समाजमा सबै जातिका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने नभइ त्यस विरुद्वका क्रियाकलाप गर्ने, असर पार्ने किसिमका क्रियाकलाम नगर्न पनि आचारसहिंता बनाइएको हो ।’
उनले निर्वाचन आचारसहिंता सबैले पालना गर्नुपर्नेमा जोड दिए । मौन अवधिको समयमा कसैले प्रलोभनमा पार्ने किसिमका गतिविधि गरेपनि सचेत हुनुपर्ने बताउँदै भने, ‘मौन अवधिको समयमा कसैले प्रलोभन पार्ने किसिमका काम भएमा स्थानीय प्रहरीलाई खबर गर्नका लागि सूचित गरिन्छ ।’