ज्येष्ठ मतदाता यसो भन्छन्

यसपटक सोचेरमात्रै भोट हाल्नेछु

हाम्रोजस्तो सानो र गरिब मुलुकमा आजको व्यवस्था ठीक भएजस्तो लाग्दैन । संघीयता खारेज गर्नुपर्छ । यसले आर्थिक रूपमा धेरै असर गरेको देखिन्छ । हामी खानेपानी, बजारभाउ व्यवस्थापन, ढल निकासलगायत समस्या भोग्न बाध्य भइरहेका छौं । यसको व्यवस्थापनमा आगामी जनप्रतिनिधिले विशेष योजना बनाउनुपर्र्ने आवश्यकता तड्कारो छ ।

नयाँ नेतृत्व आजको आवश्यकता पनि हो । अबको स्थानीय तह निर्वाचनले जन्माउने नेतृत्व यस्तो आउनुप-यो कि जसले जनताका मर्म आत्मसात गर्न सकोस् । हामीजस्ता ज्येष्ठ नागरिकका लागि दीर्घकालीन योजना ल्याओस् ।

आजको परिप्रेक्ष्यमा शिक्षित वर्गको नेतृत्व अति आवश्यक र खाँचो भइसकेको छ । सुशासनको बागडोर सम्हाल्न शिक्षा महत्वपूर्ण पाटो हो ।

तर, चुनावका बेला जति पनि प्रतिबद्धता जनाइन्छन्, जितेपछि ती सब बिर्सन्छन् । घोषणापत्र कागजमै सीमित बन्न पुग्छ । त्यसैले मेरो अनुभवमा अहिलेसम्म चुनावअघि गरिने प्रतिबद्धताअनुसार केही काम भएको छैनजस्तो लाग्छ । अबको भोट भनेको शिक्षित, स्वस्थ विचार र निष्पक्ष तरीकाले काम गर्नेलाई दिने हो । २० वर्षदेखि भोट हाल्दै आएको छु, यसपटक भने सोचेरमात्रै हाल्नेछु ।
– बालमुकुन्द राजोपाध्याय
वर्ष : ७५
ललितपुर, गोदावरी नपा–११, चापागाउँ

गाउँमा पुल र बाटो बनाइदिने आओस्

जसले जिते पनि असल, इमान्दार, विकासप्रेमी र जनताको सुखदुःखमा साथ दिने आए हुन्थ्योजस्तो लाग्छ । हाम्रो देश पैसा खाने, दुःख दिने र भनेको काम पूरा नगर्नेमात्र आएर बिग्रिएको त हो नि !

हाम्रो इकुडोलको थोस्ने खोलामा बन्दाबन्दैको पुल अलपत्र परेको वर्षौं भइसक्यो । कसैले बनाउने चासो दिएका छैनन् । त्यो पुल बन्ला र दूध बेचौंला भन्ने सपनाजस्तो भइसक्यो । पुल नहुँदा कति दूध त खोलामा बगाउन र कति त मलखाडमा पुर्नुपर्ने बाध्यता छ । हामी किसान बाटोकै कारण गाउँबाटै विस्तापित हुने अवस्थामा पुगेका छौं ।

उमेरले ७० कटिसकें, गाउँमा अहिलेसम्म केही परिवर्तन भएको देख्दिनँ । बाटो खन्दैमा विकास नहुने रहेछ ! विकास हुन त जनतालाई गाँसबास र कपासको प्रत्यभूति हुनुपर्छजस्तो लाग्छ । समयमै बजारसम्म नपुग्दा कृषि उत्पादन बर्खामा कुहिने अवस्था छ ।

यो पार्टी, त्यो पार्टीभन्दा पनि राम्रोलाई भोट दिनुपर्छ । हामी आफ्नो घरगाउँ गएर बस्ने वातावरण सिर्जना होस् र पुल बनोस् । १८ वर्षदेखि भोट हाल्दै आएकी छु, अहिलेसम्म ९ पटकजति भोट हालें हुँला । मेरो एउटै इच्छा छ, गाउँमा पुल, बाटो र स्वास्थलगायतमा विकास होस् ।
– दिलमाई गौतम
वर्ष : ७१
ललितपुर, बाग्मती गाउँपालिका, इकुडोल

अब नयाँलाई अवसर दिइनुपर्छ

पुरानालाई धेरै हेरियो । अब नयाँ पुस्तालाई मौका दिइनुपर्छ । राम्रो काम गर्नेले बारम्बार जिते त राम्रै हो तर नराम्रो काम गर्दागर्दै पनि जित्नेबाट के आशा राख्ने ? त्यसैले हामीजस्ता ज्येष्ठ नागरिकका हक, अधिकारका लागि लड्ने युवा नेतृत्व खाँचो छ ।

घर–आँगनमा आएर हाम्रो समस्या समाधान गर्ने नेतृत्व चाहियो । सरसल्लाह दिने र हरेक समस्या सहजीकरण गरेर जनतालाई सहयोग गर्ने नेता आवश्यक छ ।
‘खोला त¥यो, लौरा बिर्सियो’ भनेजस्तो नहोस् । जनताको मन नबुझ्नेलाई भोट दिएर काम छैन ।

हाम्रो वडामा राजकुलो परेको छ । घरमा पानी नआएको तीन वर्षजति भयो । पानी मागेर पिउनुपर्ने बाध्यता छ । घरघरमा पानी सहजीकरण गरिदिएको भए राहत हुन्थ्यो । हामी भन्न जाँदैनौं, हाम्रो समस्या बुझ्न कोही पनि आउँदैनन् । चुनावका बेला देखापर्छ, जितेपछि नाकमुख देखिँदैन । कसलाई के भन्ने ? अरु विकास भयो वा भएन, थाहा छैन । तर, घरघरमा पानीको समस्या हल हुनुप¥यो ।

२० वर्षदेखि भोट हाल्दै आएको छु । जनताका पिरमर्का बुझ्ने र जनसेवामा समर्पित हुनेलाई भोट दिइनुपर्छ । म बूढो भए पनि युवालाई दिन पाए हुन्थ्याजस्तो लाग्छ । पहिलो प्राथमिकता खानेपानीलाई दिनुपर्छ अनि शिक्षा, स्वास्थ, कला–संस्कृति जगेर्ना हुनुपर्छ ।
– धनबहादुर महर्जन
वर्ष : ७०
ललितपुर, गोदावरी नपा–११, चापागाउँ

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी