जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी

जनकपुरधाम । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

जनकपुरधाममा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।

नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका मनोज साहले ‘घण्टाघर’ चुनाव चिह्न पाएका छन् ।

सत्ता गठबन्धनमा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेपछि कांग्रेसका नगर सभापतिसमेत रहेका साहले पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट पाउने सम्भावना नदेखेपछि एमाले प्रवेश गरेपनि त्यहाँ समेत टिकट नपाउँदा स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह ‘लालटिन’ दिएको छ ।

जानकीरामले अब चुनाव चिन्ह पाइसकेकाले अब घरदैलो कार्यक्रमलाई तीव्रता दिने बताए । यसैगरी निर्माण व्यवसायी बलराम महतोले निर्वाचन चिह्न ‘आँप’ छाप पाएका छन् । उनले आफूले चुनाव चिह्न आँप रोजेको र अब निर्वाचन प्रचार प्रसारमा लाग्ने बताए ।

त्यस्तै, उपमेयर पदमा कांग्रेसका बागी उम्मेदवार निर्मलकुमार चौधरीले ‘आँप’ चुनाव चिन्ह पाएका छन् भने नेकपा एमालेका बागी उम्मेदवार उमेश चौधरीले चुनाव चिन्ह ‘कर्क’ छाप पाएका छन् ।

स्वतन्त्रको बोलबाला

गत स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले हात पारेको जीतलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिका दलको आधिकारिक उम्मेदवारभन्दा स्वतन्त्रलाई फापेको इतिहास छ ।

२०४६ को जनआन्दोलनपछि पहिलोपटक २०४९ मा भएको स्थानीय तह निर्वाचनमा कांंग्रेसबाट बागी भएर चुनाव लडेका वृषेशचन्द्र लालले मेयर जितेका थिए भने उपमेयरमा स्वतन्त्र उम्मेदवार लालकिशोर साहले जितेका थिए ।

त्यतिबेला कांग्रेसबाट दिगम्बर राय र लाल मेयरका आकांक्षी थिए । कांग्रेसले रायलाई टिकट दियो । असन्तुष्ट बनेका लालले बागी उम्मेदवारी दिए । कांग्रेसका आधिकारिक उम्मेदवार रायले हार बेहोर्नु प-यो ।

प्रजातन्त्र पुनर्बहालीपछि लाल नै जनकपुरको पहिलो मेयर बन्न सफल भए । त्यसपछि भएको अर्को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्याय र बजरंगप्रसाद साह आकांक्षी थिए । उपाध्यायले टिकट पाएपछि साहले बागी उम्मेदवारी दिए । त्यो निर्वाचनमा साहले पञ्चायतकालमा दुईपटक प्रधानपञ्च बनिसकेका उपाध्यायलाई पराजित गरे । साहलाई जिताउनमा विमलेन्द्र निधिको ठूलो हात रहेको थियो । निधिका सबै निकटस्थ कार्यकर्ता उपाध्याय विरुद्ध साहलाई जिताउनमा लागेका थिए ।

तीन दशकअघिसम्म लगभग कांग्रेसको मात्रै हालिमुहाली रहेको जनकपुरधामको राजनीतिक परिस्थिति फेरिएको छ । मधेस आन्दोलनयता धेरै राजनीतिक दलहरू सक्रिय छन् भने मतदाता पनि विभाजित अवस्थामा देखिन्छन् । यद्यपि, स्वतन्त्रले जित हातपार्ने इतिहास बोकेको जनकपुरधाममा फेरि एकपटक स्वतन्त्र उम्मेदवारहरू हौसिएका देखिन्छन् ।

राजनीतिक दलका तर्फबाट पनि उम्मेदवार बनेकाहरूको पक्षमा पनि खासै माहोल नदेखिएको अवस्था रहेको छ । ‘अघिल्लोपटक को जित्ने भनेर सुरूमै पिक्चर प्रष्ट भइसकेको थियो। तर, त्यसखाले अवस्था अहिले बन्न सकेको छैन । उम्मेदवारहरूले आफ्नो पक्षमा अहिलेसम्म माहोल बनाउन सकेका छैनन ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट लालकिशोर साह लगभग दुईगुणा मतले मेयरमा निर्वाचित भएका थिए । उनले कांग्रेसका मनोज साहलाई पराजित गरेका थिए ।

लालकिशोर अहिले जसपाबाट र मनोज स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । अघिल्लोपटक द्विपक्षीय भिडन्त भएको थियो भने यसपटक धेरै उम्मेदवार हुँदा परिस्थिति फेरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 494 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)