काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कामपा–१५ वडाका अध्यक्ष उम्मेदवार ईश्वरमान डंगोल प्रचारप्रसारमा व्यस्त छन् । वडा नम्बर–१५ का डंगोल बलियो उम्मेदवार मानिन्छन् । सो वडामा नेकपा एमालेबाट पूर्णकाजी ज्यापु र कांग्रेसबाट जीवन डंगोलले प्रतिस्पर्धा गरेका छन् । माओवादी केन्द्रले समेत ईश्वरमान डंगोललाई समर्थन गरेको छ ।
डंगोल अघिल्लोपटकको स्थानीय निर्वाचनमा भारी मतले विजयी भएकाले जित हुने समाजवादीको दाबी छ । तर, अघिल्लोपटक डंगोल एमालेमा रहेका थिए । त्यसैले एमालेले आफ्नो जित सुनिश्चित हुने बताएको छ । वडा १५ का सबै उम्मेदवार स्थानीय भएकाले पनि प्रतिस्पर्धा कडा हुने विश्वास गरिएको छ । ईश्वरमान डंगोल भने काठमाडौं महानगरपालिकाको प्रवत्ता समेत भएर काम गरेकाले आफ्नो सम्भावना बडी भएको दाबी गर्दछन् ।
काठमाडौंका अन्य वडामा समाजवादीको प्रचारप्रसारको रौनक नदेखिए पनि वडा नम्बर–१५ मा भने तामझामका साथ प्रचार प्रसार भइरहेको देखिन्छ । अन्य दल सहर एकीकृत समाजवादीको प्रचार भएको काठमाडौं वडा नम्बर–१५ नै हो । नेकपा एकीकृत समाजवादीबाट वडा सदस्य मैयालक्ष्मी महर्जन, रीता मिजार, अवसरा केसी र विजु श्रेष्ठमा दैनिक घरदैलोमा व्यस्त छन् ।
कामपा–१५ वडामा रहेको विश्व सम्पदा सूचीमा रहेको महाचैत्य स्वयम्भू स्तुपामा हारतीमाताको दर्शन गरेर डंगोलको टिमले प्रचार अभियान सुरु गरेको थियो । स्वयम्भू स्तुपा, किम्डोल, भगवानपाउ, धिमेल्वह, निपुहिटी, दल्लुतपिंता, विजेश्वरी, चमती, भचातगीं, अन्नपूर्ण, जोरोल, ऐराहिटी, र डल्लु आवासको कुमारी स्थान घरदैलो गरेपछि उत्साहित हुँदै डंगोलले भने, ‘मेरो जित सुनिश्चित छ, म उत्साहित छु’ उनले भने झैं अन्य दलका उम्मेदवारको पनि दाबी उस्तै छ ।
नेकपा (एकीकृत समाजवादी) कामपा–१५ वडाका प्रमुख राजा शाक्यले वडाको प्रत्येक टोलटोल, गल्लीगल्लीपुगी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको बताए ।