इटहरीमा एमालेको विरासत तोड्ने योजनामा कांग्रेस, एमाले भन्छ : हामी जित्छौँ


इटहरी । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू अहिले जनतालाई आफ्ना योजना सुनाउनका लागि घरदैलो अभियानमा छन् ।

इटहरी उपमहानगरपालिकामा अहिलेसम्म जित्दै आएको एमाले यसपटक पनि विजय हासिल गर्ने अभियानमा छ । उता पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएको कांग्रेस पनि लालकिल्ला तोड्ने दाउमा छ । इटहरीको मेयरमा अघिल्लो निर्वाचनमा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए । उपमहानगरका २० वटा वडामध्ये सात वटा वडामा एमाले, १२ वटामा कांग्रेस र एउटा वडामा तत्कालीन मधेसी जनअधिकारका उम्मेदवार विजयी भएका थिए ।

इटहरीमा २०४८ सालपछि भएको स्थानीय तह निर्वाचनमा एमालेले मेयर जित्दै आएको छ । अबको चुनावमा भने जसरी पनि जित्ने दाबी गर्छन् कांग्रेसबाट मेयर उम्मेदवार बनेका हेमकर्ण पौडेल । यस्तै, एमालेको विरासत कायमै राख्ने अठोटका साथ निर्वाचन अभियानमा जुटेका छन् एमालेबाट मेयर उम्मेदवार यामकुमार सुब्बा ।

पौडेलले अहिलेसम्म इटहरीमा नेकपा एमालेले सत्ता कब्जा गरेर जनतालाई दुःख दिएको आरोप लगाए । उनले आफूले मतदातासामु भौतिक विकासका साथ साथै शिक्षा, स्वास्थ्य र आर्थिक विकासका क्षेत्रमा पनि सुधार गर्ने प्रतिबद्धता जनाएको बताए । उनले भने, ‘हामीले विकासका कुरा उठाउँदै आएका छौँ, विकास भनेको भौतिक विकास मात्रै होइन, हामीले शैक्षिक उन्नयन पनि हो ।’ पौडेलले स्वास्थ्य र मानवीय विकासका मुद्दा पनि उठाइरहेको बताए। गठबन्धनले इटहरीबासीको आर्थिक, सामाजिक विकासका मुद्दा उठाएकाले एकपटक अवसर दिनुपर्ने उनी बताउँछन् ।

इटहरीमा एमालेको सरकार रहँदा नागरिकले आधारभूत आवश्यकता पनि पूरा नगरेको आरोप उनको छ । पौडेलले भने, ‘एमालेका साथीहरुलाई अहंकार र दम्भ पलायो, जनतामाथि जे गर्दा पनि हुन्छ भन्ने भान भयो, यो कुरा जनतालाई कदापि स्वीकार्य हुनेछैन ।’
उनले सेरा खोलाका कारण इटहरीबासी समस्यामा पर्दै आए पनि यसअघिका कुनै पनि स्थानीय सरकारले समाधानमा चासो नदिएको आरोप लगाए।

उनले भने, ‘इटहरीमा सधैँ एमालेले जितिरह्यो, इटहरीले हारिरह्यो। एमाले नेतृत्वको सरकारले धेरै मुद्दा अलपत्र पारेको छ।’ पौडेलले एमाले नेतृत्वमा दुरदर्शिता र क्षमता नभएकाले इटहरीमा विकासले गति नलिएको आरोप लगाए।

पौडेलको राजनीतिक पृष्ठभूमि

२०३५ चैत २१ गते झापाको केराबारीमा जन्मिएका पौडेल २०४६ सालदेखि इटहरी बसेका हुन्। सानै उमेरदेखि राजनीतिमा चासो राख्ने उनी तरुण दल सुनसरीको सचिव, नेपाल विद्यार्थी संघ सुनसरीको सचिव, पार्टीको क्षेत्रीय सदस्य हुँदै हाल इटहरी नगर सभापति छन्।
उनले नेविसंघबाट आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका थिए । युवा, विद्यार्थी र उद्यमीको पक्षमा लागिपरेका पौडेल इटहरीका जनताले आशाका केन्द्रका रूपमा लिइने उनका निकटहरू बताउँछन् । पौडेल २०५७ सालमा जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघबाट सभापतिमा विजयी भएका थिए। कांग्रेस इटहरी नगरसभापतिमा उनको यो तेस्रो कार्यकाल हो ।

सबै नेताको साथ छ, हामी जित्छौँ : सुब्बा

एमालेका सुब्बा पनि आफूलाई सबै नेताहरूको साथ रहेकाले चुनाव जित्नेमा ढुक्क छन्। उनी भन्छन्, ‘सबै क्षेत्रलाई समेटेर पार्टीले उम्मेदवार उठाएको छ । सबै नेताहरूको साथ पाएकाले जित्ने विश्वास राख्छु । उनले इटहरीको समृद्धिका लागि आफूले काम गर्ने बताए। अघिल्ला कार्यकालमा विजयी भएका नेताहरूले विकासको जग बसालेकाले आफूले जितेमा काम गर्न सहज हुने उनको विश्वास छ । उनी भन्छन्, ‘समग्र विकासमा समृद्धिको नारा लिएर चुनावी तयारीमा छु, यसपटक पनि एमालेले इटहरीमा जित्छ।’

एमालेको लालकिल्ला मानिएको इटहरीमा सुब्बाले भनेजस्तो जित्न सहज भने छैन। गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी एक भएर मैदानमा होमिएकाले एमालेलाई इटहरीको नेतृत्व गुम्ने हो कि भन्ने त्रास छ ।
सुब्बाको राजनीतिक पृष्ठभूमि

०१५ भदौ २७ गते ताप्लेजुङको सान्थाक्रामा जन्मिएका सुब्बाले ०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । भूमिगतकालमा विद्यार्थी राजनीतिमा संलग्न सुब्बा ०३४ सालमा ‘नेपाल ल क्याम्पस’को अनेरास्ववियु एकाइ कमिटी सदस्य हुँदै ०३६ सालको विद्यार्थी आन्दोलनमा १७ दिन प्रहरी हिरासतमा बसेका थिए ।

०४६ सालको जनआन्दोलनमा सहभागी भएका उनी ०५६ असोज ६ गते पार्टीमा संगठित सदस्य भए । उनले एमाले वडा कमिटी सदस्य, सचिव हुँदै नगर कमिटी सचिव र ०६३/६३ को जनआन्दोलन संयुक्त संघर्ष समितिको सचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी हाल एमाले इटहरी नगर अध्यक्ष छन् । ०७१ मा नगरपालिकाबाट तत्कालीन हाँसपोसा, एकम्बा, खनार र पकली गाविस मिलेर उपमहानगरपालिका बनेपछि उपमहानगर कमिटीको संयोजक भएर काम गरेको उनको अनुभव छ ।

०७८ साल कात्तिक ९ गते भएको प्रथम उपमहानगर अधिवेशनबाट पुनः सर्वसम्मत नगरअध्यक्षको जिम्मेवारी पाएका सुब्बाले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व पनि गरेका छन् ।

०७४ को चुनावमा एमालेका चौधरीले कांग्रेसका रोहित प्रसाईलाई पराजित गरेका थिए । चौधरीले २२ हजार ६८९ मत ल्याउँदा प्रसाईले १९ हजार ९८५ मत ल्याएका थिए ।

१०२ पदका लागि ४०८ जनाको उम्मेदवारी

इटहरी उपमहानगरपालिकामा स्थानीय तहको चुनावमा ४०८ जनाको उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचनका लागि इटहरीमा १०२ जनप्रतिनिधि चुनिँदैछन्। मेयरमा १६ जना, उपमेयरमा ७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपमहानगरका २० वटै वडाको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका ३४ जना, खुला वडा सदस्यमा उम्मेदवारी दिएका ४७ जना, महिला वडा सदस्यमा उम्मेदवारी दिएका २६ जना र दलित महिला सदस्यमा उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार इटहरीको २० वटा वडाध्यक्षका लागि ८७ जनाले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । ४० खुला वडा सदस्यमा पदमा १५६ जना चुनावी मैदानमा छन् । महिला वडा सदस्य र दलित महिला वडा सदस्यमा क्रमशः ७५ जना र ६७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा