आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप

३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा विजयकुमार सरावगी र राजेशमान सिंह योपटक पनि वारपारको लडाइँमा छन् । साबिक संघीय सवाजवादी फोरमबाट विजयी सरवागी हाल नेकपा एमालेका उमेद्वार छन् भने सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेता सिंह चर्चामा रहेका छन् । सरावगीलाई स्थानीयस्तरमा लोसपाको समर्थन छ । लोसपाले प्रमुखमा सरावगीलाई नै सहयोग गरी उपप्रमुखमा आफ्नो पार्टीका नेता पुरुषोत्तमलाल झालाई अगाडि सारेको छ । राजेशमान सिंहलाई भने महानगरमा पकड रहेको कांग्रेससहित गठबन्धनको दरिलो आड छ ।

कुल १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेको आर्थिक नगरी वीरगन्जको नेतृत्व सम्हाल्न सरावगी र सिंहसहित सात राजनीतिक दल र २३ स्वतन्त्र गरी ३० जना दौडमा छन् । १ सय ३२ दशमलव शून्य सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मुलुकको आर्थिक नगरी वीरगन्जमा अहिले निर्वाचन र राजनीतिका कारण अर्थका कुरा भने हराएका छन् । महानगरपालिकामा प्रतिस्पर्धामा रहेका सरावगी र सिंहसँग राजधानीकर्मी तुलसी भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

अधुरा काम पूरा गर्ने लक्ष्यसहित मैदानमा छु : सरावगी

आर्थिक नगरी वीरगन्जको नगरप्रमुखमा पुनः उम्मेदवारी दिनुभएको छ ? ठोस आर्थिक एजेन्डा के छन् ?

बाग्मती कोरिडोरजस्तै सिर्सिया कोरिडोरको बनाएर सिर्सियालाई प्रदूषण मुक्त गरी सिर्सियालाई बचाउने अभियान अगाडि बढाउँछु । यसमा सर्वसाधारण सबैको पनि साथ चाहिन्छ । अर्को भेडाहा खोलाबाट बाँध फुटेर हरेक वर्ष सिर्सिया नदीसम्म पानी मिसिँदा सिर्सिया नदीको पानी ओभरफ्लो भई हरेक वर्ष पटकपटक वीरगन्ज डुबान हुँदै आएको छ । त्यसबाट वीरगन्ज र ग्रामीण बस्ती बचाउन भेडा खोलामा बाँध बनाउनु छ । त्यसका लागि बस्ती बचाउन भेडा खोलाको बाँधको टेन्डर मात्र गर्न सकिएको छ । त्यो काम पूरा गर्नु छ । सिर्सियाबाट पनि बर्सेनि डुबान हुने बस्ती बचाउन धेरै काम गर्न बाँकी छ । कानुनी अभाव पूर्ति गर्दै सुरुमा एक डेढ वर्ष र पछि विश्व थला पार्ने कोभिडको कारण अर्को एक डेढ बर्ष ठोस काम गर्न नसकेका अधुरा काम छन् । ती काम र ठूला योजना सम्पन्न गर्नु छ । त्यसका लागि ठूलो पार्टी र सरकारको साथ पाएर एमालेजस्तो राष्ट्रिय पार्टीमा लागी वीरगन्जलाई राम्रो सहर बनाएरै छोड्ने अठोटका साथ पुनः मैदानमा छु ।

वीरगन्ज महानगरमा रिङ रोडको अवधारणा थियो ? त्यो तपाइकाे प्राथमिकतामा छ कि छैन ?

यो हाम्रो प्राथमिकतामा छ । त्यसका लागि पूर्वतर्फका सबै सडक बनिसकेका छन् । पश्चिमतर्फ पनि परवानीपुरबाट ड्राइपोर्टछेउ हुँदै पदमरोडमा जोड्ने र सिर्सियाबाट आदर्शनगरतर्फ जोड्न पनि एउटा पुल बनाउन बाँकी छ । त्योभन्दा फरक अझ पनटोका छेउ हुँदै वीरगन्ज भन्सार नजिक जोड्ने अर्को पनि प्लानिङ छ । यसको अलावा अझ उत्तरमा पनि ग्रामीण वडालाई समेत समेट्ने महानगरको तयारी छ । त्यो सबै काम पुनः गर्ने योजना छ ।

जनताको अपेक्षा चाहिँ तपाइले के पाउनुभयो ?

जनप्रतिनिधि विहीन अवस्थामा कर्मचारी साथीहरूले दुई दशक जति काम गरिरहेका थिए । उनीहरूको लिमिटेसन थियो । जनताले चाहेका काम त्यो अवधिमा खासै भएनन् । जनप्रतिनिधि आएपछि धेरै काम भए । तर, अपेक्षाकृत रूपमा जनताले चाहेका अझै काम गर्न बाँकी छ । महानगरपालिका हतारमा घोषणा भयो । १६ वटा वडा विशुद्ध ग्रामीण वडा छन् । ती वडावासी र वडा महानगरपालिका भन्ने लायक अझै बनाउन सकिएको छैन । बजेटको लिमिटेसन छ । कर बढी लिन नगरपालिकाले मिल्दैन । केन्द्रले पनि बढी बजेट दिएको अवस्था छैन । ग्रामीण वडाका नागरिकलाई त कर लिनु पनि अन्याय जस्तो छ । कारण त्यहाँ महानगरको सबै सुविधा पु¥याउन सकिएको छैन । तथापि, केही पूर्वाधार निर्माण नगरिएको भने होइन । तर, त्यसले मात्र पर्याप्त हुँदैन । बजार क्षेत्रमा पनि शिक्षा, स्वास्थ्यलगायतका सुधारात्मक काम थप गर्नु बाँकी छ ।

औद्योगिक कोरिडोर क्षेत्रको प्रवद्र्धनका लागि चाहिँ के योजना छ ?

औद्योगिक वातावरण दिने कुरामा महानगरपालिका सक्षम छ । दिएको पनि छ । उद्योगको विस्तार विकासमा पूर्वाधार बनाउन सकिन्छ । तर, ठूला योजनामा जग्गाको मुअब्जाजस्ता विषय महानगर एक्लैले आफंै गर्न सक्दैन । महानगरका पनि आफ्ना लिमिटेसन छन् । तथापि, पुरानो अनुभवका आधारमा सिर्जनशील कार्य धेरै गर्न सकिन्छ । केन्द्रसँग आर्थिक पहल र स्थानीय विज्ञ टोलीको सुझावअनुसार थप कामलाई अगाडि बढाउने लक्ष्य छ ।

तपाईंका अरू कामका प्राथमिकता केके हुन् ?

विकास र समृद्धिका लागि आगामी पाँचवर्र्षे कामको प्राथमिकीकरणमा शिक्षा क्षेत्र सुधार गर्दै वीरगन्जलाई पूर्ण साक्षर बनाउने । कृषि र सहकारीका माध्यमबाट घर–घरमा रोजगारी सिर्जना गर्ने, स्वस्थ मानव पुँजी निर्माणको मुख्य आधारका लागि स्वास्थ्य र सरसफाइलाई थप प्रभावकारी बनाउने । पर्यटन प्रवद्र्धन, सहर सौन्दर्यीकरण र वातावरण संरक्षण, भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, कर दातामैत्री कर नीति, वीरगन्जमा व्यापार प्रदर्शनीस्थल, मण्डीजस्ता कुरालाई निरन्तरता दिने र यातायात व्यवस्थापनका लागि ट्रान्सपोर्ट नगरको काम गर्ने लक्ष्य छ ।

योपटक जनताबाट चुनावी प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

कडा प्रतिस्पर्धीमध्ये एकातर्फ सत्तापक्षीय पाँच दलको गठबन्धन उमेदवार र अर्कोतर्फ हामी छौं । लोकल स्तरमा लोसपासँग हामीले पनि मेयर र उपमेयरमा गठबन्धन गरी मैदानमा छौं । जनताको साथ निकै पाएको छु । स्थानीय तहका नागरिकसँग घुलमिल गरिरहँदा अहिलेसम्मको अवस्थामा राम्रो छ । जनताले यसरी नै माया गरिरहनुभयो भने हाम्रो जित सुनिश्चित छ ।

नगरवासीको समस्या समाधान गर्न म सफल हुन्छ : सिंह

चुनावी अवस्थालाई कसरी आँकलन गरिरहनुभएको छ ?

योपटक हामी गठबन्धनबाट अगाडि सरेका छौं । सबैको साथ र सहयोग पनि राम्रो छ । जनताले पनि काम गर्ने मान्छे खोजेको महसुस गरेको छु । म हरेक दिन नगरवासीसँग घुलमिल गरी यहाँको समस्या महसुस गरेको मान्छे हुँ । धनको बलमा राजनीतिमा नआई मध्यम वर्गीय परिवारको सदस्य भएकाले मलाई आम नगरवासीले साथ दिनुहुन्छ भन्ने विश्वस्त छौं ।

चुनावी एजेन्डा केके छन् ?

म हुन नसक्ने ठूलो कुरा गरेर हिँड्दिन । बोलेको कुरा पूरा गर्ने मेरो बानी छ । सबैभन्दा बढी सरसफाइमा ध्यान दिन्छु । बाहिरबाट आउने मानिसले यो सहर फोहोर छ भन्ने कुरा गर्नै नपर्ने गरी अब व्यवस्थापन गर्ने अठोट छ । खुला नालाको कारण सधैं लामखुट्टेको प्रकोप हुने समस्या सदाका लागि निर्मूल बनाउने लक्ष्य लिएको छु । त्यो गर्न सकिन्छ पनि । सहज सरकारी सेवा, शिक्षामा सबैको पहुँच, प्राविधिक शिक्षामा जोड दिइन्छ । मुख्यतयाः शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ हुनेगरी दिल्ली मोडलमा रूपान्तरण गर्ने लक्ष्य छ । महानगरपालिकाका सबै दिदी बहिनीलाई साक्षर बनाउने योजना छ । दैनिक जनजीवनसँग जोडिएका कुरा हल गरेर जाने पहिलो सोच हो । पर्यटन प्रवद्र्धन र हरित सहरका लागि हरेक घरमा दुईवटा विरुवा रोप्न अनिवार्य लगाइन्छ । त्यसपछि मास्टर प्लानका केही ठूला योजना त अगाडि गरिन्छ नै ।
कर नीतिको कुरा यहाँले चासोसँग गर्नु हुन्छ । तपाईंको कर नीति कस्तो हो ?

कर थपेर होइन, करको दर घटाएर दायरा बढाउने हो । महानगरभित्रका सार्वजनिक तथा एैलानी जग्गामा व्यावसायिक तरकारी खेती तथा माछा पालन गर्ने, महानगरलाई राजस्व दिन सक्ने सार्वजनिक संस्थानको उपयोगमा वृद्धि गर्ने र त्यहाँ राजस्व थप गर्ने, औद्योगिक व्यावसायिक वातावरण निर्माण गरेर पालिकालाई समृद्ध बनाउने नीति हो ।

आर्थिक नगरी वीरगन्जलाई थप समृद्ध बनाउन ठोस एजेन्डा अरू के छन् ?

मूलतः आर्थिक नगरी भन्नासाथ उद्योग व्यवसाय बढी भएको नगर भन्ने बुझिन्छ । तर त्यसको आभाष राम्रोसँग हुन सकेको छैन । यहाँका उद्योगधन्दा समयसमयमा बन्द हड्तालको चपेटामा पर्न गरेका छन् । रोगजारी पनि बढी सिर्जना हुने यस क्षेत्रमा नेपाली श्रमिकले बढी बन्द हड्ताल गर्छन् भनी यो औद्योगिक कोरिडोर क्षेत्रका उद्योगी व्यवसायीले भन्ने गरेका छन् । तर, अब त्यो समस्या सदाका लागि अन्त्य गर्न महानगर अगाडि सर्छ । विज्ञहरू रहेको एउटा टिम बनाई महानगरको मेरुदण्डका रूपमा रहेका यहाँका युवालाई विभिन्न किसिमका तालिम दिई उद्योग प्रतिष्ठानमा अवसर दिइन्छ ।

त्यहाँ उनीहरूले बन्द हड्ताल गर्न मिल्नेछैन । उद्योगी व्यवसायीसँग पनि पारिश्रमिकलगायतका कुरामा लिखित खाका बनाई प्राथमिकता साथ ठोस नीति बनाएर अगाडि बढ्नेछु । दुवै पक्षलाई हित हुने गरी श्रमिक र विज्ञ टोलीको सुझावअनुसार पहलकदमी महानगरले लिन्छ । विज्ञ टोलीको सुझावको आधारमा खाका अनुसार बन्दमुक्त वीरगन्ज बनाएर मुलुककै नमुना महानगर बनाउने तयारी छ । विगतका समस्या अब रहन दिइनेछैन । सडक सञ्जाललाई पनि ३२ वटै वडामा सहज पहुँच हुनेगरी बनाइनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता