संघीय लोकतान्त्रिक गणतन्त्रको प्राण मानिने स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ । अबको ४ दिनमा स्थानीय जनताले आफ्ना जनप्रतिनिधि छनोट गर्नेगरीइ भोट हाल्नेछन् । ३० वैशाखलाई सबै नेपालीले ठूलो महोत्सवका रूपमा लिएर सोहीअनुसार सहभागिता जनाउनुपर्छ । पाँच वर्षमा आउने यो दिनमा जनताको भोटले दूरगामी असर पार्ने भएकाले पनि भोट हाल्नु अघि दर्जनौंपटक सोच्नुपर्छ ।
साम, दाम, दण्ड र भेद प्रयोग गर्ने जस्तो भ्रष्ट प्रवृत्तिको डटेर मुकाविला गरौं
गाउँको सिंहदरबारमा बस्नेको भाग्य फैसला गर्दा त्यसरी बस्ने व्यक्ति इमानदार छ कि छ्रैन ? गाउँटोलको विकास र समृद्धिमा हिजोदेखि आजसम्म के–कति भूमिका खेलेको छ ? स्थानीयको दुःख सुखमा साथ दिन सक्छ कि सक्दैन ? यस्तो विषयमा विशेष हेक्का राख्न जरुरी छ । पैसाको खोलो बगाएर कसैले निर्वाचन जित्ने प्रयास गर्छ भने त्यस्ता व्यक्तिलाई जुनसुकै हालतमा पराजित गर्नु सबै स्थानीय जनताको परम दायित्व हो । अहिले पैसाको खोलो बगाएर निर्वाचन जित्नेले भोलिका दिनमा कुनै पनि राम्रा काम गर्न सक्दैनन् । त्यसरी निर्वाचन जित्नेले जनतालाई ठूलो धोका दिनेछन् । त्यसैले निर्वाचनमा धनको खोलो बगाउनेलाई हराएर दण्डित पार्नुपर्छ ।
अहिले विशेषगरी सत्तामा बसेकाले राज्यशक्तिको गलत प्रयोग गर्दै साम, दाम, दण्ड भेदको नीति लिएर निर्वाचनलाई आफ्नो अनुकूल बनाउन सक्छन् । सत्ताधारीले राज्यकोषको दुरुपयोग समेत गर्न सक्छन् । निष्पक्ष निर्वाचन लोकतन्त्रको सुन्दर र जीवन्त आधार हो, यदि निर्वाचनमा धाधँली भयो र भोट खरिद बिक्री हुने अवस्था आयो भने त्यसले लोकतन्त्रलाई अत्याधिक कमजोर बनाउँछ । त्यसैले पनि निर्वाचनलाई निष्पक्ष बनाउन जनस्तरबाटै खबरदारी जरुरी छ ।
राज्यसत्ता सञ्चालन गर्नेहरू जुनसुकै हालतमा पनि निर्वाचन जित्ने रणनीतिमा लागेकाले उनीहरूबाट निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन हुन्छ भन्ने अवस्था छैन । सत्ताधारी निकट व्यक्तिहरू फलाना व्यक्तिलाई जसरी पनि जिताउनुपर्छ भन्दै हिड्न थालेका छन् । अझै कुनै व्यक्ति विशेषले निर्वाचन नजिते देश दुर्घटनामा पर्न सक्ने चेतावनी दिएर मतदातालाई धम्काउने काम समेत हुन थालेको छ । तर, कुनै पनि जनता डराउनुपर्ने अवस्था छैन् । गोप्य मतदान भएकाले जसले धम्की दिन्छ आमजनताले त्यस्तो धम्की दिनेका विरुद्धमा मतदान गरेर धम्की दिनेलाई पाठ सिकाउन सक्नुपर्छ ।
जसरी पनि निर्वाचन जित्नुपर्छ भन्नेहरूले निर्वाचनमा सकेसम्म र मिलेसम्म धाँधली गर्ने सम्भावना रहन्छ । प्रहरी प्रशासन परिचालन गर्दै सत्ताधारीले निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर प्रयास गर्नेछन् ।
त्यसैले लोकतन्त्रको प्राणका रूपमा रहेको आवधिक निर्वाचनमा कुनै प्रकारको धाँधली हुन नदिन नागरिक स्तरबाटै खबरदारी र आवश्यक परे प्रतिरोध गरिनुपर्छ । आमजनतालाई कुनै किसिमको डर, त्रास र धक्की दिनुहँुदैन । डर त्रास र धम्कीले यदि कसैले भोट खरिद गर्न खोज्छ भने त्यस्ता फटाहा प्रवृत्ति भएकालाई जनताले नै कारबाही गर्न सक्नुपर्छ ।
पैसाको खोलो बगाएर कसैले निर्वाचन जित्ने प्रयास गर्छ भने त्यस्ता व्यक्तिलाई जुनसुकै हालतमा पराजित गर्नु सबै स्थानीय जनताको परम दायित्व हो
मुलुक संघीय शासन प्रणालीको अभ्यासमा ररिरहँदा स्थानीय तहले पहिलोपटक आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्ने बेला आइसकेको छ र दोस्रो कार्यकालका लागि फेरि निर्वाचनको माहोलले ढाकिसकेको छ । यो सामान्य कुरा होइन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासको महत्वपूर्ण पल हो । त्यसैले सबै जना सहभागी भएर यसलाई ठूलो महोत्सवका रूपमा मनाउनुपर्छ ।
संघीय शासन व्यवस्था भनेकै जनताको घरदैलोमा सेवा दिने शासन हो । यो शासन व्यवस्थाको मुख्य आधार भनेकै स्थानीय तह हुन् ।
स्थानीय तहले गर्ने काम र त्यसको सफलताले संघीय शासन प्रणालीको सफलता र असफलता निर्धारण गर्छ । त्यसैले स्थानीय तहमा आउने जनप्रतिनिधिको व्यवहार, आचरण र उनीहरूले गर्ने कामले संघीय शासन प्रणालीको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यदि, ती जनप्रतिनिधि भ्रष्ट र नैतिकहीन बनेको खण्डमा त्यसको असर राजनीतिक प्रणालीमा पर्छ । जनप्रतिनिधिले खराब काम गरेमा जनतस्तरमा नै राजनीतिक प्रणालीप्रति वितृष्णा पैदा हुन सक्छ । अहिले अवस्था त्यस्तै छ । संघीय शासन प्रणालीअनुसार सञ्चालन भइरहेका संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै सरकारप्रति आमजनताको घृणा छ ।
कुनै पनि राजनीतिक दलले स्थानीय तहको निर्वाचनलाई आफ्नो राजनीतिक स्वार्थ र दाउपेचको विषय बनाउनुहुँदैन । निर्वाचनमा राजनीतिक दलको हार जित होला यो त सामान्य विषय हो । तर, दोस्रोपटक हुने यो अवधिक निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको भने विजयी हुनेछ । दोस्रो कार्यकालका लागि जनप्रतिनिधि छानिने ऐतिहासिक निर्वाचन हो । आमजनताले पनि आफ्नो आँखै वरिपरि रहने र गाउँको विकास र समस्यामा सधैं सुखदुःखको साथी बन्ने व्यक्तिलाई छान्न सक्नुपर्छ । आज चुनाव जिताएर भोलि पछुतो मान्नुभन्दा आज नै धेरैपटक सोचेर भोट हाल्नुपर्छ ।
स्थानीय तहको निर्वाचनको प्रकृति केन्द्रीय चुनावभन्दा केही फरक हुन्छ । त्यसैले पनि स्थानीय तहको निर्वाचनमा कस्तो परिणाम आउँछ भनेर अहिल्यै भन्न सकिँदैन तर पनि हिजोको कामकारबाहीले जनताको मन जित्न सकेको व्यक्ति र पार्टीलाई जनताले मन पराउनेछन् र जिताउनेछन् । विगत पाँच वर्षमा स्थानीय तहमा धेरै राम्रा काम भएका छन् । त्यसैले स्थानीय तह खत्तम भए भन्न हँुदैन । जनताले छानेर पठाउने जनप्रतिनिधिले नै हो स्थानीय तहलाई राम्रो बनाउने वा बदनाम बनाउने ।
त्यसैले भोलि आफ्नो स्थानीय तहमा पठाउने व्यक्ति बदमास भयो र आफ्नो गाउँठाउँको विकास अवरुद्ध भयो भने त्यसको दोष त्यहाँका स्थानीय जनताले पनि लिनुपर्छ । त्यसरी दोष लिनुभन्दा त्यस्ता खराब व्यक्तिलाई चुनेर नपठाउनु नै स्थानीय जनताका लागि श्रेयस्कर हुनेछ । विशेषगरी अबको ४–५ दिनको समयमा चुनाव जित्न दल तथा उम्मेदवार र उनीहरूका निकटले जे जस्ता हर्कत पनि गर्न सक्छन् । निर्वाचन आचारसंहिताको व्यापक रूपमा उल्लंघन हुन सक्छ । त्यसैले निर्वाचन आयोगले पनि यस अवधिमा आचारसंहिता पालनामा विशेष कडाइ गर्नुपर्छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी नै रद्द गरी सबैलाई आवश्यक सवक सिकाउन जरुरी छ ।
तर, आयोगले यसमा विशेष कडाइ गर्न सकेको छैन् । यसका लागि आयोगले विशेष अनुगमन टोली बनाएर अनुगमनमा खटाउनुपर्छ र उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्न सक्नुपर्छ । जे जस्तो भए पनि स्थानीय तहको निर्वाचन महोत्सवमा सबै जना सक्रिय रूपमा सहभागी भएर हाम्रा होइनकी राम्रा व्यक्तिलाई छानौं । साम, दाम, दण्ड भेद प्रयोग गर्ने जस्तो भ्रष्ट प्रवृत्तिको डटेर मुकाविला गरांै । असल व्यक्तिलाई जिताएर पठाऔं र समृद्ध मुलुक निर्माणमा सशक्त योगदान दिऔं ।