गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतगणना सुरक्षाप्रति आशंका व्यक्त गरेका छन् । पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका दलले मतपत्र च्यात्न सक्ने भन्दै मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन समेत दिए ।

उनले भने, ‘गठबन्धनले मतले जित्ने कुनै सम्भावना छैन । यसकारण तपाईंहरु मतगणनाको बेलामा आँखा झिमिक्क पनि नपार्नुस् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न ।’

उनले प्रहरी प्रशासनको सहयोग एमालेलाई आवश्यक नभएको र विश्वास समेत नभएकोले मतपत्रको सुरक्षा जनताले नै गर्ने बताए । ओलीले भगवान् राम र लक्ष्मणको उदाहरण दिंदै राम र सीताको सुरक्षाका लागि लक्ष्मण १२ वर्षसम्म वनबास बसी नसुतेको उदाहरण दिए ।
‘पशुपतिमा फूलपाति लिएर पूजा गर्न जाँदा बाँदरले झ्याप्प पार्छ, त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ त पाँच वटा बाँदर छन्, कार्यकर्ताहरु सचेत भएर पूmलपाति जोगाउनोस्,’ भनी उनले व्यङ्ग्य गरे । साथै उनले एमालेलाई बाहिरबाट खत्तम पार्ने प्रयास भएको पनि दाबी गरे । उनले एमालेका नीति बंग्याएर प्रस्तुत गरिएमा गठबन्धन दलका नेताको कटु आलोचना समेत गरे ।

उनले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने कुरा वैशाख ३० को चुनावपछि थाहा हुने चेतावनी दिए । उनले भने, ‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुँइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ । कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे । हेरौलो बैशाख ३० गतेको परिणाम आएपछि को खत्तम हुनेछ । जनताले बताउँछ ।’

‘काँग्रेसलाई विचराको संज्ञा दिंदै उनले काँग्रेसमा रुखमा भोट हाल्ने कार्यकर्ताप्रति दया जागेर आएको छ । चितवनमा १० वर्ष यस्तै भयो भने, पोखरामा पनि त्यस्तै भयो । अहिले गठबन्धनको कुनै खैरियत छैन,’ उनले भने । आफ्नो पार्टीको जीतपछि युवावर्गलाई शिक्षा, तालिम, रोजगारको अवसर दिने उनको आश्वासन थियो । उनले भने, ‘एमाले भएपछि कसैले केही चिन्ता गर्नु पर्दैन । अहिले नै विजयी भइसकेको छ ।’

पोखरासँग भावनात्मक सम्बन्ध रहेको बताउँदै नेता ओलीले ४० वर्षअघि पोखराको जेलमा ३ वर्ष बिताएको र यहाँको भूगोल र सम्भावनाको ’boutमा आपूmलाई ज्ञान भएको स्पष्ट पारे । सभामा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले देशभर एमालेको लहर आएको बताए । पोखराको मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले पनि सम्बोधन गर्दै पोखरालाई सुशासन र भ्रष्टाचारमुक्त सहरको रुपमा विकास गरी पृथक पर्यटकीय सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सभा पोखराको अमरसिंहचौरमा भएको हो । अघिल्लो दिन आइतबारमात्रै सत्ता गठबन्धनले शीर्षनेताहरुको उपस्थितिमा सोही स्थानमा चुनावी सभा गरेको थियो । तर आइतबारको तुलनामा सोमबार मानिसको उपस्थिति दोब्बर बढी थियो ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन