काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा, आचारसंहिता र पदीय आचरणमा रही अनुशासन, इमानदारिता र लगनशील भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका हुन् ।
उनले सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरूले आफूले गरेका गतिविधिलाई सामाजिक सञ्जालमा सेयर तथा पोस्ट गर्न नहुनेमा पनि सचेत गराएका छन् ।
महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकले कार्यक्षेत्रमा देखाएको उत्साहपूर्ण परिचालनको प्रशंसासमेत गरेका छन् । निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीको बन्दोवस्ती एवं रासन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेसागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रणलगायतका जिम्मेवारीका क्षेत्रमा परिचालित भई सम्पादन गरेका कार्यको सूक्ष्म रूपमा अनुगमन गर्नेगरी प्रधानकार्यालयबाट अनुगमन टोलीसमेत परिचालन गरिएको उनले बताए ।
उनले निर्वाचन सुरक्षा प्रयोजनका लागि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायसँग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेवारी निर्वाहमा क्रियाशील रहन पनि भनेका छन् । लैगिंक हिंसा र गैर व्यावसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिनेसमेत उनले बताए ।
महानिरीक्षक अर्यालले कमान्डर तहका अधिकृतले विभिन्न सुरक्षा निकायका प्रमुखसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन पनि दिए । उनले भने, ‘जस्तोसुकै चुनौतीभित्र अवसर पनि अवश्य लुकेको हुन्छ, सामना गर्न सक्नुपर्छ ।’
सो कार्यक्रम लाइभ भिडियो स्ट्रिमिङ तथा सशस्त्र प्रहरी बल नेपालको सञ्चारमार्फत सम्पूर्ण इकाइमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।
निर्वाचन भयरहित वातावरणमा शान्तिपूर्वक सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रूपमा जिम्मेवारी निर्वाहमा क्रियाशील गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा सबै प्रदेशमा एक÷एक टोली परिचालन गरेको छ ।
कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना गण्डकी प्रदेश, किरण बस्नेत प्रदेश १, उद्धवबहादुर न्यौपाने मधेस प्रदेश, राजेन्द्र खड्का सुदूपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेश, त्यसैगरी, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल बाग्मती प्रदेश र अच्युतकुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्षित सुरक्षाका लागि खटिएका हुन् ।
सो टोली प्रदेशस्थित सम्बन्धित विभिन्न कार्यालय तथा व्यक्तिसँग समन्वय राखी निर्वाचनमा परिचालित सशस्त्र प्रहरी जनशक्तिलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटाई आवश्यक निर्देशन दिनुको साथै कार्यक्षेत्रमा भइपरी आउने समस्या तथा चुनौती पन्छाउँदै शान्तिपूर्वक निर्वाचन सम्पन्न गरी फिर्ता हुने सशस्त्र प्रहरीले जनाएको छ ।