नवलपरासी । मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ ।
कत्लकी रातमा के सम्म हुन्छ ?
एक सातासम्म मधेसको चुनावी रिपोर्टिङका क्रममा यस्ता धेरै कहानी सुनिए । साँच्चिकै कत्लकी रातले मधेसमा उम्मेदवारहरुको बेचैनी बढाइदिएको छ । किनकि मौन अवधिका अन्तिम दुई रातले सम्भावित नतिजा बदल्ने गर्छ ।
चुनाव प्रचारको अन्तिम क्षणमा नवलपरासीको पाल्हिनन्दन पुगेका जसपा नेता धरेन्द्र यादवले कत्लकी रातबाट जागा बस्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । ‘दारु मांस, ढौवा कौडी लिएर आउनेहरुलाई जसरी पनि रोक्नु ।’ उनले भने ‘हामी मधेसीहरु आफ्नै कारण पछि परेका हौं । चुनावको एक दिनअघि जसले दारु, मासु र कौडी दिन्छ उसैलाई भोट दिएर जिताउँछौं । भोट किनेर जितेको मान्छेले तपाईको कुरा किन सुन्छ ?’
मौन अवधिमा मधेसमा भित्री बस्तीहरुमा मासु, भात, रक्सी र पैसाको चलखेल शुरु भइसकेको छ । ‘कत्ल की रात’सम्म हरेक दिन भोजभतेर चल्नु् सामान्य रहेको नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका प्रमुख पदका उम्मेदवार बैजु प्रशाद गुप्ता बताउँछन् । एउटा पक्षले भोज भतेर थालेपछि अर्कोले नगरी सुखै छैन । चुनाव आएपछि हरेक दिन मधेसमा ठूलो भोजभतेर हुनुको साथै पैसाको कारोबार हुन थाल्छ । कम्तिमा मतदानको बिहानसम्म हरेक टोलमा मासु रक्सीसहितको भोज अनिवार्य हुने गरेको छ । दलहरुले अलग–अलग मेस सञ्चालन गर्दा स्थानीय व्यवसायीहरुले मनग्गे आम्दानी गर्न गर्छन् । चुनावको अघिल्लो रात कतिपय बस्तिमा रातारात उम्मेदवारले महिलालाई सारी,पायल बाँड्छन् । कतिपय अगुवा पुरुषलाई मोबाइल पनि बाँड्छन् । विहानै नयाँ सारी लगाएर मतदान केन्द्रमा गए भने बुझ्नुपर्छ कि कत्लकी रातमा सारी बाँडिएछ ।
रुपैयाँ पैसाले बिगारेको समाज
वि.स. २०७४ साल सम्पन्न स्थानीय चुनावले मतदाताको बानी बिगारेको रहेछ । वडा सदस्यसम्मका उम्मेदवारले चुनावभर हरेक दिन भोजभतेर र भोटका दिन नगद दिएका रहेछन् । त्यसैले उनीहरु अहिले बिना पैसा र बिना भोज कुनै उम्मेदवारका कुरा सुन्नेवाला देखिएनन् ।
‘पैसाको त कुरै नगरौं, भोज भतेर र हातमा क्यास नभई कोही भोट दिनेवाला छैन, स्थानीय चुनावमा एउटै वडाका दर्जनौं उम्मेदवारको पैसा लिन पल्किएका मतदाताको बानी नै बिग्रिसकेको छ’ पाल्हिनन्दन गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेस नेता राजेन्द्र सहानिले हामीसँगको भेटमा चुनावी दुःख पोखे ।
निर्वाचन आयोगले महानगरका मेयर/उपमेयरको खर्च सीमा ७ लाख ५० हजार र वार्ड अध्यक्ष÷सदस्यको खर्च सीमा ३ लाख त्यसै उपमहानगरका मेयर÷उपमेयरको खर्च सीमा ५ लाख ५० हजार र वार्ड अध्यक्ष सदस्यको लागि २ लाख ५० हजार, नगरपालिकाका मेयर÷उपमेयर उम्मेदवारले ४ लाख ५० हजार र वार्ड अध्यक्ष सदस्यले २ लाख खर्च गर्न पाउने सिमा तोकेको छ । त्यस्तै गाउँपालिका अध्यक्ष ÷उपाध्यक्ष ले ३ लाख ५० हजार र वडा अध्यक्ष सदस्यले १ लाख ५० हजार सम्म अधिकतम खर्चको सीमा तोकेको छ । तर ३ लाख दिनहुँ खर्च हुनको साथै मौन अवधिमा एकै दिन मै १० लाख खर्च गर्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारहरु बताउँछन् । एक उम्मेदवार भन्छन् ‘पैसा बिना आफ्नै कार्यकर्ता त हिँड्न छाडेछन्, मतदाताको के कुरा ?
मधेसमा स्थानीय तहको चुनावले मतदाताको मुख मीठो बनाइदिएको छ । गत स्थानीय चुनावमा भोजभतेर र नगदको खोलो बगेको थियो । त्यसबेला पल्किएका मतदाताको अपेक्षा धेरै भएकाले पनि खर्च धान्न नसकिने गरि बढेको बैजु प्रसाद गुप्ताका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता राजेन्द्र सहानिले गुनासो गरे ।
कत्लीका रात, निर्णायक जात
रामग्राम नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख उम्मेदवार नरेन्द्र कुमार गुप्तालाई पछ्याउँदै हामी रामग्राम नगरपालिकाका बिभिन्न गाउँटोलमा पुग्दा त्यहाँ जातीय धु्रवीकरण हामी ‘बहरिया’ र पहरिया (पहाडिया)ले बुझ्ने गरी शुरु भइसकेको थियो । नेपाली कांग्रेसका नेता बैजनाथ जैसवालको आह्वानमा सांसद बिगटन हुँदा तत्कालिन प्रधानमन्त्री ओलीको विरुद्धमा कफन बाँधेर हिँडेका युवा आफ्नो जातवाला तर, अर्कै पार्टीको उम्मेदवारको प्रचारमा हिँड्न थालिसकेका थिए ।
चुनाव प्रचारको अन्तिम दिन गुप्ताले रामग्रामका विभिन्न टोलभेलाहरुलाई सम्बोधन गरे । उनी हरेक भाषणमा भनिरहेका थिए ‘हामी मधेसीहरु जब चुनाव आउँछ, अनि आफ्नो जात खोज्न थाल्छौं तपाईहरुलाई सरकारले गोली चलाउँदा बचाउन तपाईको जातवाला आयो ?’ उनी भन्दै थिए ‘जब चुनाव आउँछ, अनि जात प्यारो हुन्छ ? मधेसमा चुनावको अन्तिम बेला पैसा र भोजभतेर भन्दा डरलाग्दो चलखेल जातकै हुने गर्दो रहेछ ।’ तराई मधेसमा अहिले पनि पहाडको भन्दा धेरै जातीय भावना देखिने गरेको छ । चुनावका बेला बलियो संगठन भएको प्रभावशाली नेतालाई सामान्य उम्मेदवारले जातीय मतका कारण पराजित गरेका धेरै उदाहरण छन् ।
आफ्नो जातको उम्मेदवारलाई भोट नदिएर अर्कोलाई भोट दिए पाप लाग्ने त्रासदेखि चुनावपछिका सम्भावित आक्रमणको डर पनि फैलाइन्छ । ०७४ को चुनावमा नवलपरासीका एक उम्मेदवारले आफूलाई मत नदिई अर्को जातका उम्मेदवारलाई मत दिएको भनेर चुनाव हारेपछि मतदातामाथि मारपिटमै उत्रिएको समाचार समेत सार्वजनिक भएको थियो ।
ब्याकवार्ड र फरवार्डको कुराले चुनावको बेला निकै अर्थ राख्छ । मौन अवधि शुरु नहुँदै मधेसका धेरै ठाउँमा उम्मेदवारले आफ्नो अनुकुलतामा जातको कुरा उठाउन थालिसकेका थिए । अब ‘कत्लकी रात’ को अन्तिम प्रहरमा जातका अगुवाहरु भेला भएर उर्दी जारी गर्नेछन्,जसले चुनावी परिणामलाई हेराफेरी गरिदिनेछ ।
र अन्तमा,जे देखियो
लुम्विनी प्रदेशको नवलपरासी ,रुपन्देही र कपिलवस्तु जिल्लाका भित्री बस्ती र भारतीय सीमासम्म पुगेर हामीले मत सर्वेक्षण गर्यौं । हामीसँग कुरा गर्ने ५० प्रतिशत मतदाताले कि त जातको बैठकपछि मत दिने कुरा सुनाए, कि त जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताए । कतिपय बस्तिमा भने भोटको ठेक्का लिने ‘बिचौलिया’ हुँदारहेछन् । गाउँका हुनेखाने जमिन्दार,चल्तापूर्जा व्यक्ति वा मुखियाले उम्मेदवारसँग आफ्नो टोलको जम्मा मतदाता संख्या देखाएर डिल गर्छन् । त्यो टोलबाट भनेजति मत नआए पैसा फिर्ता गर्नेसम्मको बाचा कबुल हुन्छ ।
जसले बढी पैसा दिन्छ, उसैको पक्षमा भोट खन्याउने ठेक्का उसले पाउँछ । यस्ता ठेकेदारहरु हामीले भेटेका धेरै उम्मेदवारहरु समक्ष प्रत्यक्ष वा अप्रत्यक्ष माध्यमबाट पुगिसकेका थिए । यस्ता ठेकेदारहरु सकेसम्म प्रभावशाली नेता, निर्णायक जातवाला वा बलियो संगठन भएको पार्टीका उम्मेदवारहरुलाई मत बेच्दा आफूलाई सुरक्षित ठान्दा रहेछन् । मधेसमा चुनावको अन्तिम रात मुद्दा होइन, मुद्रा बलियो हुन्छ । गरीव,दलित र तटस्थ मतदाताको बस्तीमा अन्तिम रात जसले आफ्नो प्रभाव देखायो,उही हुनेछ बिजेता ।
स्थलगत भ्रमणपछि तयार पारिएको यो रिपोर्ट