पाँचथर । उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका–१, च्याङथापु बजारमा कोरोना भाइरस परिक्षण सहायता कक्ष स्थापना गरिएको छ । भारतको सिक्किम राज्यसँग जोडिने चिवाभञ्ज्याङ क्षेत्र हुँदै आवत–जावत गर्ने यात्रुलाई लक्षित गरी परिक्षण सहायता कक्ष स्थापना गरिएको हो ।
याङवरक गाउँपालिकाको व्यवस्थापनमा सहायता कक्ष स्थापना गरिएको हो । पारिवारिक भेटघाट लगायत अन्य कामका लागि चिवा हुँदै सिक्किम–नेपाल मानिसको आवत–जावत हुने गरेको छ । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको समाचार आएपछि कोरोना भाइरस परिक्षण सहायता कक्ष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।
कोरोना भाइरस (कोभिड १९) ’bout सचेतना प्रवाह गर्ने र परिक्षणका क्रममा उक्त भाइरससँग मिल्दो लक्षण देखिएमा थप परिक्षण र उपचारका लागि सहयोग पु-याउने उदेस्यले सहायता कक्ष स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन खत्रीले बताए ।
सहायता कक्षमा च्याङथापु स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई फलैंचाबाट स्वास्थ्यकर्मीको टोलि खटाइएको छ । सहायता कक्षमा दैनिक बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म स्वास्थ्यकर्मी खटिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिए ।