जनकपुरधाम । निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा मतादातालाई पैसा बाँडेको आरोप लागेपछि प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीलाई जनकपुरधामबाट सुरक्षित काठमाडौ पठाइएको छ ।
जनकपुरधामका उपमहानगरपालिका–७ स्थित सीतासरण होटलको कोठा नम्बर ३०५ मा गत ४ दिनदेखि अध्यक्ष अन्सारी बस्दै आएका थिए ।
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले मियाँको साथबाट पैसा बरामद नभएको र प्रहरीलाई कुनै संवैधानिक निकायका पदाधिकारीलाई चेकजाँच गर्ने अधिकार नरहेकोले उनलाई सुरक्षित साथ एयरपोर्ट पुरयाइएको जानकारी दिए ।
अन्सारीले होटेलमा बसेर पैसा बाँडिरहेको भन्ने सूचना पाएपछि नेकपा एमाले जनकपुर नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारी १५÷२० जनाको समूहमा लिएर होटेल पुगेका थिए । होटेलमा होहल्ला र तोडफोड गरेको आरोपमा भण्डारीलाई प्रहरीले पक्राउ पनि गरेको छ । अन्सारी स्वतन्त्र उम्मेदवार जानकीराम साहको सहयोगका लागि मुस्लिम मतलाई प्रभावित पार्दे आएको भण्डारीले आरोप लगाएको छ ।
२०७५ को चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो । जसलाई संसदीय समितिले टुंगोमा पुर्याउन नसक्दा उनको नियुक्ति स्वत ः सदर भएको थियो ।