शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न राजनीतिक दलका शीर्ष नेता आआफ्नो मतदाता नामावली रहेको गाउँसहर पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) बाट मतदान गर्ने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । मतदान गर्न उनीसमेत जिल्ला पुगिसकेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । उनी पर्वत पुगिसकेको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नेछन् । प्रतिनिधि सभामा झापाबाट प्रतिनिधित्व गर्दै आएका ओलीको मतदाता नामावली बालकोटमै रहेको छ । बालकोटमा उनको मतदाता नामावली भएकाले गत प्रतिनिधिसभाको निर्वाचनमा उनी आफंैले आफैंलाई मतदान गर्न पाएका थिएनन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । भरतपुर पुगिसकेका दाहाल स्थानीयसँग निवासमै भेटघाटमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ ।

नेपालको गृह जिल्ला पनि रौतहट हो । तर, उनी काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ओलीजस्तै नेपालले समेत आफंैले आफंैलाई प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न पाएका थिएनन् ।

एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम जिल्लाको सूर्योदय नगरपालिका–९ का मतदाता हुन् । करफोकस्थित करफोक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्न उनी इलाम पुगिसकेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौंको मध्य बानेश्वरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले मोरङ र वरिष्ठ नेता अशोक राईले उदयपुरबाट मतदान गर्ने भएका छन् । निर्वाचनमा मतदान गर्न यादव र राई आ–आफ्नो जिल्लामा पुगिसकेका छन् । यादवले मोरङको विराटनगर १४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्नेछन् । उनी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनको मतदाता नामावली भने मोरङको विराटनगर महानगरपालिकामा छ ।

ओली र नेपालजस्तै यादवले समेत गत प्रतिनिधिसभाको निर्वाचनमा आफंैले आफैंलाई मतदान गर्न पाएका थिएनन् । वरिष्ठ नेता राईले उदयपुरका चौदन्यगढी नगरपालिका–४ स्थित नारद आदर्श माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन् ।

यसअघि गत प्रतिनिधिसभाको निर्वाचनमा राई सुनसरीबाट लडे पनि पराजित भएका थिए । ओली, नेपाल, यादवजस्तै राईले समेत गत प्रतिनिधिसभाको निर्वाचनमा आफूले आफैंलाई मतदान गर्न पाएका थिएनन् ।

यस्तै, जसपाका वरिष्ठ नेता एवं कृषि पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले सर्लाहीको रिपूर्वा नगरपालिका–९ स्थित रामजानकी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नेछन् । उनी जसपा शीर्ष नेतामध्येमा पर्छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न जिल्ला नजाने भएका छन् । सर्लाहीको बलरा गाउँपालिकामा उनको मतदाता नामावली छ । स्वास्थ्य अवस्था ठीक नभएकाले उनी मतदान गर्न नजाने भएका हुन् । ठाकुरको मतदाता नामावली सर्लाहीमा भए पनि उनी महोत्तरी–३ बाट निर्वाचित सांसद हुन् ।

लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन् । उनी सर्लाही पुगिसकेका छन् । उनले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गरे पनि मतदाता नामावली भने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको छ ।

लोसपाकै वरिष्ठ नेता अनिल झाले रौतहटको दुुर्गाभगवती गाउँपालिका–२ स्थित संस्कृत उच्च माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन् । उनी रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन् ।

कांग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट मतदान गर्दै छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयमा मतदान गर्नेछन् ।

यस्तै, कांग्रेस नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गर्नेछन् ।

कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा गृह जिल्ला धनुषाबाट मतदान गर्दै छन् । स्थानीय निर्वाचनमा निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयमा मतदान गर्न लागेका हुन् । आफ्ना हजुरबाको नाममा खोलेको माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्न लागेको नेता निधिले बताए ।

कांग्रेस नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा काठमाडौंबाट भोट हाल्ने भएका छन् । उनका प्रमुख स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गर्नेछन् । नवलपरासीबाट संघीय निर्वाचन लड्दै आएका कोइरालाको मतदाता नामावली काठमाडौंमा रहेको छ ।

एमालेबाट राजीनामा गरिसकेका नेता एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले योपटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले योपटक मतदान पनि नगर्ने बताए ।

बर्दियाको बाँसगढी नगरपालिका–१ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले योपटक मतदान गर्दिनँ ।’

माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैलाई नगरपालिका–२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक