६५ प्रतिशत मत खस्यो

काठमाडौं । देशका ७ सय ५३ स्थानीय तहमध्ये १६ जिल्लाका २८ स्थानीय तहका ४३ मतदान स्थलअन्तर्गतका ७७ केन्द्रबाहेकमा शुक्रबार स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार २१ हजार ८ सय ७८ केन्द्रमा मतदान भएको हो ।

आयोगले शुक्रबार राति १० बजे दिएको प्रारम्भिक विवरणअनुसार मतदान सम्पन्न भएका स्थानीय तहमा देशभरमा गरी करिब ६५ प्रतिशत मत खसेको छ ।

केही स्थानीय तहमा भने राजनीतिक दलबीचको विवाद र झगडाका कारण छिटपुट घटना भएपछि निर्वाचन स्थगित गरिएको तथा केही स्थानमा खराब मौसमका कारण पनि मतदान स्थगित भएको आयोगले भनेको छ । निर्वाचन शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थगित भएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिट्टै मतदानको व्यवस्था गरिने बताए ।

– २१ हजार ८ सय ७८ केन्द्रमा मतदान, ७७ केन्द्रमा स्थगित

– उम्मेदवारको भविष्य मतपेटिकामा

– ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिँदै

‘एकै चरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौं तर केही स्थानमा दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र खराब मौसमपछिको वर्षाका कारण ७७ मतदान केन्द्रमा मतदान सम्पन्न हुन सकेन,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

गाउँको सिंहदरबारका रूपमा मानिएको स्थानीय तहको नेतृत्व चयनका लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार कायम छन् । करिब ७५ हजार मतपेटिकामा बन्द हुने मतपत्रको गणना सकिएर अन्तिम परिणाम आउँदा स्थानीय तहमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि पाँचवर्षे कार्यकालका लागि पदमा पुग्नेछन् ।

निर्वाचन आयोगले धेरैजसो स्थानीय तहको मतगणना शुक्रबार रातिबाट नै सुरु गरेको छ । तर, केही हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकोप्टरको माध्यमबाट मतपेटिका ओसार्न सुरु गरिने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहअन्तर्गतका सबै स्थानका मतपेटिका मतदानस्थलबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मतगणना सुरु हुने जानकारी दिए । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेपछि सर्वदलीय बैठक राखेर दल तथा उम्मेदवारका मतगणना प्रतिनिधि राखेपछि मतगणना सुरु गरिनेछ ।

स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् । निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता कायम थिए । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल निर्धारण गरेको थियो भने देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरेको थियो ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

काठमाडौंमा न्यून मतदान
स्थानीय तहका लागि जनप्रतिनिधि चुन्न शुक्रबार भएको मतदानमा काठमाडौं महानगरपालिकामा न्यून मत खसेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरमा अपेक्षाअनुसार मतदान प्रक्रियामा मतदाता सहभागी नभएका हुन् । काठमाडौं महानगरपालिकामा ५२ देखि ५५ प्रतिशत मात्रै मतदान भएको आयोगको प्रारम्भिक अनुमान छ ।

‘काठमाडौं महानगरपालिकामा शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा मतदाताको प्रस्ट पहुँच र सबै सुविधा हुँदाहुँदै प्रारम्भिक अनुमानअनुसार करिब ५२ देखि ५५ प्रतिशत हाराहारीमा मतदान भएको प्रारम्भिक तथ्यांक छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।

परिणाम एक साताभित्रै
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सबै परिणाम एक साताभित्रै ल्याइने दाबी गरेको छ ।

आयोगले ५ जेठ २०७९ मा ७ सय ५३ वटै स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिने र ६ जेठबाट नवनिर्वाचित जनप्रतिनिधिको पदावधि सुरु हुने भएकाले आयोगले छिट्टै सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

आयोगले सबैभन्दा बढी समय ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको गणनामा लाग्ने भन्दै ती महानगर र उपमहानगरको मतगणनाको जनशक्ति सक्दो बढी जनशक्ति खटाउने तयारी गरेको छ ।

‘६ महानगर र ११ उपमहानगरको मतगणनामा समय बढी लाग्छ, ती स्थानीय तहको मत गणनामा जतिसक्दो बढी जनशक्ति खटाउने तयारी छ, एक साताभित्रै सबै स्थानीय तहको मत गणनाा सकेर परिणाम सार्वजनिक गर्ने तयारी आयोगको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आयोगले मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन भन्दै महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिइसकेको छ ।

सबैभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकामा ३ लाख मतदाता छन् । ललितपुर महानगरपालिकामा १ लाख २३ हजार, भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार, पोखरा महानगरपालिकामा २ लाख ८ हजार, वीरगन्ज महानगरपालिकामा १ लाख २४ हजार र विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता छन् ।

२०७४ सालमा पहिलो चरणको स्थानीय तह निर्वाचन ३१ वैशाखमा भएको थियो । पहिलो चरणमा नै निर्वाचन भएको काठमाडौं महानगरपालिकामा दुई सातापछि अर्थात् १४ जेठमा विद्यासुन्दर शाक्य निर्वाचित भएको घोषणा गरिएको थियो । त्यतिबेला काठमाडौं महानगरपालिकामा सुस्त शैलीमा मतगणना गरेको भनी निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत कार्यालयको चर्को आलोचना भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण