दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट नगर प्रमुखमा नरसिंह चैसीर र नगर उपप्रमुखमा दुर्गा खत्री विष्ट निर्वाचित भएका छन् ।
चैसीरले ५ हजार १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत ल्याएर पराजित भएका हुन् ।
भट्ट २०७४को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडी पार्दै विजयी भएका थिए । यस्तै उपप्रमुखमा एमालेकी दुर्गा खत्री विष्ट निर्वाचित भएकी छिन् । उनले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाईन् ।
यसैगरी नौगाड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी निर्वाचित भएका छन् । धामीले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला अध्यक्ष समेत रहेका प्रेमसिंह धामीले ३ हजार २ सय ७७ मत ल्याएर पराजित भएका छन् ।
गठबन्धनका उम्मेदवार दलजितसिंह धामीले नेकपा एमालेका प्रेमसिंह धामीलाई ५ सय ६ मतान्तरले पराजित गरेका हुन् । पराजित धामी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् । उनले ३ हजार ९ सय ५६ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गौरीदेबी ठगुन्नाले १ हजार २ हजार ९ सय ५२ मत पाइन् । पराजीत ठगुन्ना २०७४ सालमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
नौगाड गाउँपालिका ६ वडाहरुमध्ये वडा नम्बर १, ३ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्भने वडा नम्बर २, ४ र ५ मा नेकपा एमाले विजयी भएको छ ।