वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँच दलीय गठबन्धनको उमेद्वारले अग्रता कायम गरेका छन् । गठबन्धनका तर्फबाट अगाडी सारिएका जनता समाजवादी पार्टी ( जसपा ) नेपालका राजेशमान सिंहले २ हजार ८ सय ३२ मत प्राप्त गरी आफ्नो सुरुवाती अग्रता कायम गरेका हुन् ।
उनले एमालेका उमेदवार विजय कुमार सरावगीलाई १ हजार ५ सय ४६ मत अन्तरले अग्रता कायम गरेका छन् । आइतबार २ बजेर ४५ मिनेटबाट सुरु गरिएको वीरगन्ज महानगरपालिकाको मतगणना सोमबार साँझसम्ममा ५ हजार ७ सय २७ मत गणना गरिएको हो । जसमा एमालेका उमेद्वार सरावगीले १ हजार २ सय ८६ मत मात्र प्राप्त गरेका छन् । राप्रपाबाट नगरप्रमुखमा उठेका पत्रकार गिरिश गिरीले तेस्रो स्थान प्राप्त गरी ८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोमबार साँझ सार्वजनिक गरेको मत परिणाममा उल्लेख गरिएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३२, ३१ गरी चारवटा वडाहरुको जारी गणना अनुसार उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट अगाडी सारिएका नेपाली काँग्रेसका इम्तियाज आलमले २ हजार २५ मत प्राप्त गरी अग्रस्थानमा नै छन् । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपाका ) पुरुषोत्तमलाल झाले ३ सय ३१ मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महानगरपायिलकाको उप–प्रमुखका लागि राप्रपाबाट उमेद्वार बनाइएकी विना जैसवालले १ सय ३३ मत प्राप्त गरेकी छन् । उनको भन्दा बढि मत अर्थात २ सय २ मत स्वतन्त्रबाट उप–प्रमुखमा उठेकी रम्भा मिश्राले ल्याएकी छन् ।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार निवर्तमान नगरप्रमुख सरावगीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित गरेका सिंहले बदला लिने वीरगन्जवासीले आँकलन गर्न थालेका छन् । सरावगी र उनका निकटस्थहरुले भने गणना भइरहेका ४ वटा वडाहरुमा ३ हजारको अग्रता कायम भए पनि अन्य वडामा आफूहरुले अग्रता बनाउने दावी गरिरहेका छन् । यो पटक वीरगन्ज महानगरपालिकाको निर्वाचन परिणाममा चासो बढि किन पनि भइरहेको छ भने साविकका नगरप्रमुख सरावगीले विरासत जोगाउन सक्छन् कि सक्दैनन् ? भनेर हेरिएको छ ।
यता पर्साका अन्य ३ नगरपालिका पर्सागढी, पोखरिया र बहुदरमाईको पछिल्लो मत गणनामा भने एमालेले अग्रता बनाइरहेको छ । एमालेले पर्साका ठोरी, पर्सागढी, पोखरिया लगायतका पालिकामा अहिलेसम्म पाँचवटा वडाध्यक्ष जितिसकेको मत परिणामले पुष्टि गरिसकेको छ । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेस र जसपाको गढ मानिएको पर्सामा यो पटक भने एमालेको पकड निकै जमाउने अनुमान पर्सावासीले गरेका छन् ।