कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई

काठमाडौं । स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली कांग्रेसलाई भएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसको अवस्था बलियो भएको देखिन्छ ।

प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस सबैभन्दा ठूलो देखिन्छ । कांग्रेसभन्दा बलियो रहेको एमाले यो स्थानीय तह निर्वाचनबाट धेरै कमजोर बन्ने देखिन्छ । कम्युनिस्ट पार्टी विभाजन हुनुको प्रभाव मतपरिणाममा समेत देखिन्छ । यस्तै, मधेसवादी दल विभाजनको प्रभावसमेत सो दलमा परेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी गठन भएपछि त्यसको प्रभाव मतपरिणाममा समेत देखिन्छ । नेकपा हुँदा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सबै ठाउँमा सबैभन्दा ठूलो रहेको थियो । तर, नेकपा विभाजन भएर तीन छुट्टाछुट्टै पार्टी गठन भएपछि त्यसको प्रभाव मतपरिणाममा समेत देखिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए ।

मधेसवादी दल पनि कमजोर
कम्युनिस्ट पार्टी विभाजनको फाइदा जसरी कांग्रेसलाई मिलेको छ मधेसवादी दल विभाजन हुँदासमेत त्यसको फाइदा कांग्रेसलाई नै मिलेको छ । प्रारम्भिक मतपरिणामअनुसार गत निर्वाचनभन्दा मधेसवादी दल यो निर्वाचनमा कमजोर भएको देखिन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनबाट तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा)सँग ३४ पालिकामा प्रमुख÷अध्यक्ष र ३२ उपप्रमुख÷उपाध्यक्ष रहेको थियो । तर, २०७९ को स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार जसपा अहिलेसम्म प्रमुख÷अध्यक्षमा विजयी भएको छैन भने २९ पालिकामा मात्रै अगाडि रहेको छ । अगाडि रहेको पालिका विजयी हुँदा जसपासँग २९ प्रमुख÷अध्यक्ष मात्रै हुनेछ ।

यस्तै, गत निर्वाचनमा ३२ पालिकामा उपप्रमुख÷उपाध्यक्ष विजयी भएको जसपा २ पालिकामा मात्रै विजयी भएको छ । २७ पालिकामा उपप्रमुख÷उपाध्यक्षतर्फ अगाडि रहेको छ । विजयी र अगाडि भएको पालिकाको संख्या जोडदा उपप्रमुख र उपाध्यक्षको २९ मात्रै हुन्छ ।

यस आधारमा जसपालाई २०७४ को निर्वाचन भन्दा २०७९ को स्थानीय तह निर्वाचनमा प्रमुख÷अध्यक्ष तर्फ ५ र उपाध्यक्ष÷उपप्रमुख तर्फ ३ घाटा (कम) हुने देखिन्छ ।

यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) हालको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख÷अध्यक्ष २५ र ३० उपप्रमुख÷उपाध्यक्ष विजयी भएको थियो ।

तर २०७९ को स्थानीय तह निर्वाचनमा लोसपाले १२ पालिकामा प्रमुख÷अध्यक्ष र नौ उपप्रमुख÷उपाध्यक्ष अगाडि रहेको देखिन्छ । अगाडि भएको पालिकामा विजयी हुँदा लोसपासँग १२ प्रमुख÷अध्यक्ष र नौ उपप्रमुख÷उपाध्यक्ष मात्रै हुन्छ ।

मधेसवादी दल विभाजनको फाइदा कांग्रेससहित सिके राउत नेतृत्वको जनमत पार्टीलाई भएको देखिन्छ । मधेसका जिल्लामा कतिपय पालिकामा जसपा र लोसपा विजयी भएको पालिकामा कांग्रेस र जनमत पार्टीले विजयी हुने प्रारम्भिक मतपरिणामले देखाउँछ ।

के भन्छन् राजनीतिक विश्लेषक ?
कुनै पनि राजनीतिक दल विभाजन भएपछि त्यसको प्रभाव निर्वाचनको मतपरिणाममा पर्ने निश्चित भएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए । नेकपा हुँदा प्रतिनिधिसभा, प्रदेशसभादेखि लिएर स्थानीय तहसम्म सबै ठाउँमा सबैभन्दा ठूलो र बलियो दल रहेको उनले बताए ।

नेकपा जसरी विभाजन भएर तीनवटा पार्टी भयो त्यसैगरी मधेसवादी दलसमेत विभाजन भएर तीनवटा पार्टी भएका छन् । जसपा विभाजन भएर जसपा, लोसपा र तमलोपा भएको छ । पोखरेलले यी दुवै पार्टी विभाजन हुनुको फाइदा अन्य प्रतिस्पर्धी दलमा हुन गएको बताउँछन् ।

‘स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको प्रभाव परेको स्पष्ट देखिन्छ । यी दुवै पार्टी विभाजनको फाइदा अन्य प्रतिस्पर्धी दललाई भएको देखिन्छ,’ पोखरेलले भने ।

अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठले समेत पार्टी विभाजनको प्रभाव निर्वाचनको मतपरिणाममा देखिएको बताउँछन् । कुनै पनि राजनीतिक दल एक ढिक्का हुँदा राम्रो परिणाम ल्याउने र विभाजन हुँदा मतपरिणाममा समेत प्रभाव पार्ने स्थानीय तहको प्रारम्भिक मतपरिणामले देखाएको उनले बताए ।

कलैयाका पत्रकार सञ्जय तिवारीले मधेसवादी दल विभाजन हुनुको फाइदा कांग्रेस र जनमत पार्टीलाई भएको स्पष्ट रूपमा देखिएको बताउँछन् । मधेसवादी दल एक हुँदा बलियो रहेको र विभाजन हुँदा मतसमेत विभाजित भएकाले मतपरिणाममा प्रभाव परेको उनले बताए ।

जन्म गाउँ र भोट हालेकै ठाउँमा ओलीलाई धक्का
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मगाउँ आठराई गाउँपालिका र उनी मतदाता रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा एमाले पराजित भएको छ । उनको गृहनगर झापाको दमक नगरपालिकामा पनि एमाले दोस्रो स्थानमा रहेको छ ।

एमाले अध्यक्ष ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् । पाहिमले ४ हजार ६ सय ९९ मत पाएर विजयी हुँदा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज इङनाम विजयी भएका छन् । इङनाम ४ हजार ८० मत प्राप्त गरी विजयी हुँदा एमाले उम्मेदवार रुपादेवी कन्दङ्वाले ४ हजार ७० मत पाइन् । निवर्तमान उपाध्यक्षसमेत रहेकी एमाले उम्मेदवार कन्दङ्वा १० मत अन्तरले पराजित भएकी हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा आठराई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो ।

अध्यक्षमा विजयी कांग्रेसका पाहिम यसअघि वडा नम्बर २ को वडाध्यक्ष थिए । वडाध्यक्षको कार्यकालमा आफूले पाउने पारिश्रमिक सामाजिक र विकास निर्माण कार्यमा लगाएर पाहिमले चर्चा बटुलेका थिए ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली आठराईको इवा गाउँमा जन्मिएका हुन् । ओलीले २०७५ सालमा आफ्नो जन्मदिन सोही गाउँस्थित आफ्नो घरमा पुगेर मनाएका थिए । त्यसबेला उनी प्रधानमन्त्री थिए ।

यस्तै, ओली मतदाता रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेसका प्रदीप कार्की विजयी भएका छन् । सो वडाको सबै सदस्यमा कांग्रेस विजयी भएको छ ।

अध्यक्ष विजयी कार्कीले १ हजार ५ सय ११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विश्वराज विष्टले १ हजार ३ सय ५ मतमा चित्त बुझाउनुपरेको छ ।

एक मतले हार–जित
काभ्रेका फरकफरक तीन गाउँपालिकामा तीन जना वडा अध्यक्ष एक एक मत अन्तरमा विजयी भएका छन् । रोचक यो छ कि, जितेका तीनै जना फरकफरक दलका हुन् । फरकफरक गाउँपालिका भए पनि सबैको वडा नम्बर एउटै हो, अर्थात् वडा नम्बर १ ।

चौंरीदेउराली गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार सुशील लामाले ४ सय २ मत प्राप्त गर्दा उनका प्रत्यासी माओवादी केन्द्रका उम्मेदवार राजु आलेले ४ सय १ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, खानीखोला गाउँपालिका–१ मा माओवादी केन्द्रका सन्तमान थिङले ५ सय ४८ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका आशाराम गोलेले ५ सय ४७ मत प्राप्त गरी पराजित भएका छन् ।

तेमाल गाउँपालिका वडा नम्बर १ को वस्तुस्थिति भने अलि भिन्न र रोचक छ । सो वडामा एमालेका इन्द्र अधिकारीले ५ सय ३१ मत प्राप्त गरी विजयी हुँदा उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङले ५ सय ३० मत प्राप्त गरेका छन् ।

रोचक यो छ कि, सो वडामा दुईपटक मत गणना गरिएको थियो । पहिलोपटकको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङ २ मत अन्तरले विजयी हुँदा दोस्रोपटक मत गणना हुँदा उनी एक मत अन्तरले हार्न पुगे ।

गोलाप्रथाबाट वडाध्यक्ष छनोट
सुर्खेतको पञ्चपुरी–३ को वडाअध्यक्षका उम्मेदवारले बराबरी मत पाएपछि गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्ष गोलाप्रथाबाट चयन गरिएको हो । सो वडामा एमालेबाट चन्द्रवीर रावत र कांग्रेसबाट बलबहादुर रोकाया थिए । दुवैले समान ६ सय ७३ मत पाएपछि गोला हानिएको थियो । गोलाप्रथामा कांग्रेसका बलबहादुर रोकाया विजयी भएका थिए ।

२२ वर्षीय युवक बने गाउँपालिका अध्यक्ष
सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव विजयी बनेका छन् । माओवादी केन्द्रबाट चुनावी प्रतिस्पर्धामा होमिएका राजाबाबु ४ हजार ८१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३ सय ९२ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित राजाबाबु पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् । काठमाडौंमा बीबीएस पढिरहेका उनलाई बाबु शिवपुजनले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिलाएका थिए ।

२०७४ सालको निर्वाचनमा यो गाउँपालिकाबाट नेपाली कांग्रेसका कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए । उनको गत असारमा निधन भएको थियो ।

विजयी जुलुसमा पराजितको खबर
जितेको खुसियालीमा विजयी जुुलुस निकालिरहेको बेला पराजित भएको खबर आउँदा कस्तो होला ? बर्दियाको गुलरियाका एक जना उम्मेदवारले यस्तै पीडा भोग्नुपरेको छ ।

गुलरिया नगरपालिका–४ मा एमाले उम्मेदवार अजमेर अलि नाउ खुला सदस्यमा निर्वाचित भएको घोषणा गरिएपछि उनी विजयी जुलुसमा सहभागी भएका थिए । त्यसैबेला उनले हारेको र कांग्रेसका उम्मेदवार इस्राइल बेहना निर्वाचित भएको समाचार आएपछि विजयी जुलुस विरोध जुलुसमा परिणत भएको थियो ।

मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले कम्प्युटरमा इन्ट्री गर्दा प्राविधिक त्रुटि भएकाले सो घटना हुन पुगेको बताए ।

सुरुमा एमाले उम्मेदवार अजमेर अलि नाउले १ हजार १ सय ३८ मत पाएको भन्दै विजयी घोषणा गरिएको थियो । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इस्राइल बेहनाले ११ सय मत पाएका थिए । तर, इस्राइलले पाएको ४६ मत जोड्न भुल्दा परिणाम उल्टो आएको थियो । पछि रुजु गर्दा इस्राइलले पाएको मत १ हजार १ सय ४६ मत भएपछि अजमेर निर्वाचित भएको घोषणालाई सच्याएर इस्राइल निर्वाचित भएको घोषणा गरिएको थियो ।

समाचारमा प्रयोग भएको ग्राफिक्स शिलापत्र डट कमबाट लिइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?