काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ठूलो संख्यामा पुरानो परिणाममा क्षति बेहोर्नुपर्ने देखिएको छ ।
विगतमा सत्तामा रहँदा भएका संसद् विघटनदेखि संसद् पुनस्र्थापनापछि लामो समयसम्म संसद्को अवरोधसम्मका घटना र त्यसपछि भएको पार्टी विभाजनले एमालेलाई स्थानीय तह निर्वाचनमा असर पर्ने प्रस्ट संकेत देखिएको हो ।
मंगलबार राति ११ बजेसम्मको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले १ सय ६८ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हात पारेको छ भने १ सय ३८ स्थानीय तहमा अग्रता लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, संसद् विघटनपछिको अवस्था, दम्भी, अहंकारपन र घमण्ड, बोली व्यवहारमा असभ्यपनालगायतले एमालेले विगतको नतिजालाई सुरक्षित गर्न सक्ने देखिएन, ती सबै कुरामा प्रतिरोध गर्न सत्तारूढ दलले बनाएको गठबन्धन सफल भयो
पुरञ्जन आचार्य, राजनीतिक विश्लेषकयी त्यस्ता प्रवृति हुन् जसले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि संसद् अवरुद्ध सुरु गर्नेछन् । मेरो के कमजोरी थियो र जनताले भोट हालेनन् ?, हामीविरुद्ध कसरी मोर्चाबन्दी भयो ?, एकता गरेको पार्टी किन चार टुक्रा भयो ? भन्ने समीक्षा गर्ने छैनन् । दम्भ र अहंकार अझै केही समय जारी रहनेछ
रामकुमारी झाँक्री, नेत्री, नेकपा एस
यस्तै, नेकपा एमालेले १ सय ८ तहमा प्रमुख÷अध्यक्षमा जित हात पार्दा ९१ स्थानीय तहमा अग्रता लिएको छ । यी अंक हेर्दा २०७९ को जारी मतगणनाको प्रारम्भिक परिणाममा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले एमालेलाई २०७४ को परिणाममा पछि पार्ने देखिएको हो ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो ।
नाफातर्फ कांग्रेस
माओवादी केन्द्र विगत जोगाउँदै
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, संसद् विघटनपछिको अवस्था, दम्भी, अहंकारपन र घमण्ड, बोली व्यवहारमा असभ्यपनालगायतले एमालेले विगतको नतिजालाई सुरक्षित गर्न नसक्ने अवस्था स्थानीय तह निर्वाचनको परिणाममा देखिएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, संसद् विघटनपछिको अवस्था, दम्भी, अहंकारपन र घमण्ड, बोली व्यवहारमा असभ्यपनालगायतले एमालेले विगतको नतिजालाई सुरक्षित गर्न सक्ने देखिएन, ती सबै कुरामा प्रतिरोध गर्न सत्तारूढ दलले बनाएको गठबन्धन सफल भयो,’ राजनीतिक विश्लेषक आचार्यले राजधानीसँग भने ।
आचार्यले आफ्नै पार्टीलाई एमाले अध्यक्ष ओलीले एक ढिक्का राख्न नसकेका कारण पनि त्यसको असर निर्वाचनमा देखिएको बताए ।
‘ओलीजीले आफ्नै पार्टीलाई एक ढिक्का राख्न सक्नुभएन, सत्तामा रहँदा उहाँको व्यवहार अरूलाई निषेध गर्ने शैलीको रह्यो, त्यसको असर पनि स्थानीय तहको निर्वाचनमा देखिँदै छ,’ आचार्यले अघि भने ।
नेकपा एसकी नेत्री रामकुमारी झाँक्रीले पनि स्थानीय तहको निर्वाचनको परिणाममा एमाले पछि पर्दै गर्दा ओलीको दम्भप्रति संकेत गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा लेखेकी छन् ।
यी त्यस्ता प्रवृति हुन् : जसले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि संसद् अवरुद्ध सुरु गर्नेछन् । मेरो के कमजोरी थियो र जनताले भोट हालेनन्, हामीविरुद्ध कसरी मोर्चाबन्दी भयो ? एकता गरेको पार्टी किन चार टुक्रा भयो ? भन्ने समीक्षा गर्ने छैनन् । दम्भ र अहंकार अझै केही समय जारी रहनेछ,’ झाँक्रीले मंगलबर दिउँसो सामाजिक सञ्जालमा लेखेकी हुन् ।
मंगलबार राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसबाट १ सय ६५ स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भइसकेका छन् । यस्तै, १ सय १७ तहमा उपप्रमुख÷उपाध्यक्ष पदमा कांग्रेस अघि छ ।
यसैगरी १ सय ६ स्थानीय तहमा एमालेका उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी १ सय २५ तहमा एमालेको अग्रता छ ।
यस्तै, नेकपा माओवादी केन्द्रका ७९ जना प्रमुख/अध्यक्ष विजयी बन्दा ३६ स्थानमा अग्रता छ । यस्तै, ८२ जना उम्मेदवार उपप्रमुख÷उपाध्यक्षतर्फ विजयी हुँदा माओवादी केन्द्रको सोही पदमा ४२ तहमा अग्रता छ । २०७४ मा १ सय ६ पालिकाका प्रमुख÷अध्यक्ष जितेर माओवादी तेस्रो शक्ति बनेको थियो । अहिले पनि माओवादी सो परिणामलाई सुरक्षित गर्ने दिशामा देखिएको छ ।
यसैगरी, नेकपा एकीकृत समाजवादीका पाँच प्रमुख/अध्यक्ष निर्वाचित हुँदा १७ तहमा अग्रता छ भने १२ उपप्रमुख/उपाध्यक्ष निर्वाचित बन्दा ११ तहमा सो पदमा अग्रता छ ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालले प्रमुख÷अध्यक्षमा चार तहमा जित हात पार्दा ३० स्थानीय तहमा अग्रता लिएको छ भने उपप्रमुख/उपाध्यक्ष पदमा ५ स्थानमा जित निकालेर २५ तहमा सो पदमा अग्रता लिएको छ ।
यस्तै, लोसपाले प्रमुख/अध्यक्षमा ११ तहमा अग्रता लिएको छ भने उपप्रमुख/उपाध्यक्ष पदमा १० स्थानमा अघि छ ।
स्थानीय तहको नेतृत्व चयनका लागि गत ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार कायम छन् । तीमध्ये स्थानीय तहमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।
स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका थिए । निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता कायम थिए । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल निर्धारण गरेको थियो भने देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम थियो ।
स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।
यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।
गठबन्धन ६ मध्ये ५ महानगरमा ढुक्क
काठमाडौंमा बालेनअघि
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्टिय जनमोर्चासहितको पाँच दलीय सत्ता गठबन्धन देशका ६ मध्ये ५ महानगरमा जित निकाल्नेमा ढुक्क छ । तर, काठमाडौं महानगरमा भने जित हुने वा विपरीत परिणाम आउने भन्नेमा गठबन्धनमा चिन्ता देखिएको छ ।
सत्तारूढ गठबन्धनले देशका ६ वटै महानगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेको भए पनि काठमाडौं महानगरपलिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई जित निकाल्न सकस पर्ने अवस्था बन्दै गएको छ ।
सत्तारूढ गठबन्धनका उम्मेदवारले मंगलबार रातिसम्म विराटनगर, वीरगन्ज, ललितपुर र पोखरा महानगर प्रमुखमा अग्रता लिएका छन् भने भरतपुरमा एमालेसँग कडा प्रतिस्पर्धा भए पनि अग्रता कायम छ । काठमाडौं महानगर प्रमुखमा भने गठबन्धनका उम्मेदवार सिर्जना सिंह तेस्रो नम्बरमा छिन् ।
काठमाडौं महानगरमा मंगलबार राति अबेरसम्मको परिणामअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रतालाई फराकिलो बनाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा छन् ।
भरतपुर महानगरपालिकामा पनि गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेकी रेणु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीसँग कडा प्रतिस्पर्धामा छिन् ।
वीरगन्ज महानगर प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका राजेशमान सिंहले एमालेका उम्मेदवार विजयकुमार सरावगीसँग फराकिलो अग्रता बनाइरहेका छन् । उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ ।
विराटनगर महानगरको प्रमुखमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
ललितपुर महानगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरिबाबु महर्जनको पनि मतान्तर एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारको भन्दा ठूलो छ ।
पोखरा महानगरपालिकामा पनि सत्तारूढ गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राख्दै आइरहेका छन् । सत्तारूढ गठबन्धनले २ सय ९ स्थानमा स्थानीय तह निर्वाचनका लागि आपसमा तालमेल गरेका थिए ।