दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् ।

मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग बिहीबार बिहान भेटवार्ता गरेकी छन् ।

छोटो भेटवार्ताका क्रममा अमेरिकी विशेष संयोजकले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताले दलाई लामालाई शुभकामना व्यक्त गरे । उनले दलाई लामाको सुस्वास्थ्यको कामना गर्दै लामाले दिएको शान्ति सन्देशका लागि विश्वप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

तिब्बती शरणार्थीहरूसँग भेट्ने कार्यक्रमले चीन सशंकित

केन्द्रीय तिब्बती प्रशासनकाअनुसार बिहीबार बिहान तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक जियाले धर्मशालाको म्याक्लियोड गञ्जमा रहेको दलाई लामाको आधिकारिक निवासमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

‘कार्यक्रममा निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङलगायत अन्य प्रतिनिधि र अमेरिकी विशेष संयोजकको प्रतिनिधिमण्डलका सदस्यको पनि उपस्थिति रहेको थियो,’ प्रशासनको बेबसाइटमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत २० डिसेम्बरमा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए । त्यसयता उनको दलाई लामासँग पहिलो भेट भएको थियो ।

जियाको भ्रमण नेपालमा एक दशक लामो समयपछि अमेरिकी उच्चस्तरीय भ्रमण हो । नेपालमा एमसीसी अनुमोदन भएपछि एकपछि अर्को गर्दै बढिरहेको अमेरिकी अधिकारीहरूको भ्रमणले पछिल्लो समय निरन्तरता पाइरहेको छ ।

उपविदेशमन्त्री जियालाई चीन र दलाई लामा वा उनको प्रतिनिधिबीच निःसर्त संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारी छ । सोही जिम्मेवारीअनुसार नै उनी भारत र नेपाल भ्रमणमा आएकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार जियाको भ्रमण मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकता अगाडि बढाउन भारत र नेपालमा केन्द्रित हुने उल्लेख गरेका छ ।

सोही पृष्ठभूमिलाई टेकेर उनले भारतमा रहेका तिब्बतीहरू र १४औं दलाई लामासँग धर्मशालामै पुगेर भेटवार्ता गरेकी हुन् । उपमन्त्री जियाले नेपाल सरकारका उच्च अधिकारीसहित तिब्बती शरणार्थीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

विगतमा पनि नेपालमा तिब्बत मामिला हेर्ने अमेरिकी अधिकारी आएका थिए । उनीहरूले विशेषगरी तिब्बती शरणार्थीको मानवअधिकार र उनीहरूले पाउने अधिकारको विषयमा आवाज उठाउँदै आएका छन् । सन् १९९० पछि नेपालमा जन्मेका तिब्बती शरणार्थीलाई परिचयपत्र दिनुपर्ने विषय अमेरिकाले उठाउँदै आएको छ ।

नेपालमा झन्डै १० हजार तिब्बती शरणार्थी रहेका छन् । तिनलाई अमेरिकाले शरणार्थी परिचयपत्र दिनुपर्ने अमेरिकाले आग्रह गर्दै आइरहेको भए पनि नेपालले भने अस्वीकार गर्दै आइरहेको छ । नेपालले सन् १९९५ देखि नेपालमा रहेका तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ ।

उत्तरी छिमेकी चीनसँगको कूटनीतिक सम्बन्धका कारण पनि नेपालले ती शरणार्थीहरूलाई परिचयपत्र दिन सकेको छैन । तिब्बती शरणार्थीको नजिकबाट अमेरिकाले नियाल्न थालेपछि पछिल्लोसमय चीनसमेत सतर्क रहेको छ ।

यसैबीच, अमेरिकी उपमन्त्री जिया नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित चिनियाँ राजदूत राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेकी थिइन् । विशेषगरी राजदूत यान्छीले नेपालमा हुन सक्ने चीनविरोधी गतिविधि हुन नदिनका लागि उनले ध्यानाकर्षण गराइसकेकी छन् ।

तिब्बती शरणार्थीहरूलाई सुरुवातदेखि नै अमेरिकाले सहयोग गर्दै आएकोमा चीनले कडा आपत्ति जनाउँदै आएको छ । सन् २०२० मा अमेरिकाले दलाई लामाको उत्तराधिकारी छनोट गर्ने र तिब्बतको वातावरण संरक्षण गर्ने तिब्बती जनताको पूर्ण अधिकारलाई फेरि पुष्टि गर्ने कानुन जारी गरेको थियो ।

अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीनले आफ्नो आन्तरिम मामिलामा हस्तक्षेप नगर्न भन्दै चेतावनी दिएको थियो । चीनको चेतावनीको बाबजुद पनि अमेरिकाले तिब्बती शरणार्थीहरूलाई सहयोग गर्दै आइरहेको छ । साथै भारत र नेपालमा बसोबास गरिरहेका शरणार्थीको विषयमा विशेष ध्यान दिएको देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए