काठमाडौं । राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दुई मधेसवादी दल मधेसमै कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेका जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेसमै कमजोर देखिएका हुन् ।
मधेस आन्दोलनबाट स्थापित यी दुई दल पार्टी विभाजनका कारण आफ्नै उर्वरभूमि मधेसमै कमजोर अवस्थामा पुगेका हुन् । अघिल्लो निर्वाचनमा विजयी भएको पालिकासमेत यी दलले गुमाएका छन् ।
मधेसवादी दल विभाजन हुनु र छुट्टाछुट्टै दलबाट निर्वाचनमा होमिनुका कारण मतपरिणाम सोचेजस्तो आउन नसकेको हो । मधेसवादी दल विभाजनको फाइदा नेपाली कांग्रेसलाई भएको देखिन्छ ।
गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसको अवस्था बलियो भएको देखिन्छ । कांग्रेससँगै गठबन्धन गरेको जसपालाई त्यति राम्रो परिणाम आएको देखिँदैन ।
मधेस प्रदेशमा १ सय ३६ पालिका रहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले मधेसका कुल १ सय ३६ वटा पालिकामध्ये २६ वटा र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले २५ वटा पालिकामा प्रमुख÷अध्यक्ष जितेका थिए । त्यस्तै, संघीय समाजवादी फोरमले २५ वटा र राजपाले ३० पालिकामा उपप्रमुख जितेको थियो ।
२०७९ को स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । करिब ८० प्रतिशतभन्दा बढी मत परिणाम आइसक्दासमेत मधेसवादी दलको अवस्था अघिल्लो निर्वाचनको तुलनामा निकै कमजोर देखिएको छ ।
यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार जसपाले १८ र लोसपाले चार पालिकामा प्रमुख÷अध्यक्ष जितेको छ । जसपाले १४ र लोसपाले ११ वटा पालिकामा अग्रता लिएको छ ।
यस्तै, जसपाले १५ र लोसपाले चार पालिकामा उपपप्रमुख÷उपाअध्यक्ष जितेको छ भने जसपाले १६ र लोसपाले ६ पालिकामा अग्रता लिएको छ । यो परिणाम अघिल्लो निर्वाचनको तुलनामा निकै न्यून हो । दुवै दलले अग्रता लिएको पालिकामा विजयी हुँदासमेत अघिल्लो निर्वाचनको परिणाम भेटाउन समस्या रहेको छ ।
जसपा र लोसपा मात्रै नभई अन्य मधेसवादी दलसमेत कमजोर अवस्थामा रहेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसमा आफ्नो पकड जमाउने विश्लेषण भइरहेकैबेला सो दलको अवस्थासमेत राम्रो देखिएको छैन । जनमत पार्टीले अहिलेसम्म दुई पालिका प्रमुखमा जितेको छ भने दुईमा अग्रता लिएको छ । जनमत पार्टीको अवस्था लोसपाभन्दा पनि कमजोर देखिएको छ ।
यस्तै, लोसपाबाट विभाजन भएर बृखेशचन्द लालको नेतृत्वमा गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल (तमलोपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले समेत राम्रो प्रभाव जमाउन सकेको देखिँदैन । तमलोपाले एक पालिकाको प्रमुखमा जितेको छ । अन्य साना मधेसवादी दलले जितको खातासमेत खोल्न सकेका छैनन् ।
अर्को रोचक प्रसंग के छ भने यसअघि अन्य दल विजयी भएको अधिकांश पालिकामा यसपटक जसपा र लोसपा विजयी भएका छन् । तर, अघिल्लोपटक विजयी भएको पालिकामा यी दुवै दलले पराजय भोग्नुपरेको छ ।
जसपा संघीय परिषदका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठको जिल्लामा समेत जसपाले सोचेअनुसार परिणाम ल्याउन सकेको छैन । विभिन्न समयमा विभिन्न पार्टीसँग एकीकरण गर्दै मधेसबाट पहाड उक्लेको जसपाले पहाडमा राम्रो परिणाम ल्याउन सकेको देखिँदैन ।
अहिलेको मत परिणामलाई विश्लेषण गर्दा कम्युनिस्ट पार्टी विभाजनको फाइदा जसरी कांग्रेसले लिएको छ मधेसवादी दल विभाजनको फाइदा समेत कांग्रेसलाई नै पाएको छ । जसपा र लोसपाले गत निर्वाचनमा मधेसको पालिका विजयी भएको ठाउँ कांग्रेसका उम्मेदवारले जितेका छन् ।
राजनीतिक विश्लेषक सञ्जय तिवारीले मधेसवादी दल आफ्नो कमजोरी नसच्याउने, विभाजनमै रमाउने, अर्काको अस्तित्व स्वीकार नगर्ने, सत्तास्वार्थ, परिवारवाद, नातावाद, कृपावादका साथै आर्थिक चलखेलमा बढी संलग्न भएका कारण सोचेअनुसार परिणाम नआएको बताए ।
विगतमा विभिन्न चिरामा विभाजित पार्टीहरू एकीकरण हुँदै एक भएपछि मधेसमा उत्साह देखिएको थियो । तर, फेरि विभाजन भएर छुट्टाछुट्टै दलको अस्तित्वमा पुगेपछि सो उत्साह घटेको र त्यसको प्रभाव मतपरिणाममा समेत देखिएको तिवारीले बताए ।