पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) ले मतान्तर झनै बढाउँदै ३ हजार कटाएको छ ।
शुक्रबार बिहानसम्म ६४ हजार ११ मत गणनामा सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २६ हजार ४ सय ११ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २३ हजार २ सय ४५ मत ल्याएका छन् । दुवै बीच ३ हजार १ सय ६६ मतअन्तर छ ।
उपमेयरमा कडा प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट मात्र ६६ मतले अघि छिन् । उनले २६ हजार ६ सय ४४ मत प्राप्त गरेकी छन् । एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५ सय ७८ ल्याएकी छन् ।
पोखरा महानगरपालिकाका २ लाख ७ हजार मतदातामध्ये चुनावमा डेढ लाखले मतदान गरेका थिए । गएको एक सातादेखि जारी मतगणना अझै केही दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच, पोखरा ७ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार राममोहन आचार्य ९९ मतान्तरले निर्वाचित भए ।
आचार्यले १ हजार ३ सय ८३ मत ल्याउदा एमालेका उम्मेदवार किशोर बरालले १ हजार २ सय ८४ मत प्राप्त गरे । वडाअध्यक्ष कांग्रेसले जिते भने अन्य चार सदस्य एमालेको पक्षमा गएको छ ।