बर्दिया । ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तिलकराम लम्सालले बृद्ध भत्ता अब जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका छन् ।
नवनिर्वाचित नगरप्रमुख लम्सालले शुक्रबार पदभार ग्रहण गर्दै बृद्ध भत्ता जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका हुन् । नगरप्रमुखको पदभार सम्हाल्दै तीन बुँदे निर्णय सार्वजनिक गरेका लम्सालले विगतका वर्षहरुमा नगरपालिकाले लिँदै आइरहेको मालपोत करमा समेत समायोजन गर्ने निर्णय गरेका छन् ।
मालपोत कर समायोजनसँगै नगरपालिका कार्यालय र अन्तरगतका वडा कार्यालयबाट सिफारिस वापत लिईने दस्तुरमा ५० प्रतिशत छुट दिनेसमेत नगरप्रमुखले निर्णय गरेका छन् । यी निर्णयहरु आगामी आर्थिक वर्ष २०७९–०८० देखि लागु हुने जनाइएको छ । आगामी आर्थिक वर्षदेखि घरदैलोमै भत्ता पाइने भएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । यसअघि जेष्ठ नागरिकले बैँकमा घण्टौ लाइन लागेर भत्ता बुझन बाध्य थिए । कर समायोजन र सिफारिस दस्तुरमा छुट दिने निर्णयले आम नागरिकलाई ठूलो सहयोग मिल्ने स्थानिय भरतप्रसाद कठाएतले बताए ।
चुनावका क्रममा नवनिर्वाचित नगरप्रमुख लम्सालले नगरप्रमुखमा जिते पछि राज्यकोषबाट प्राप्त हुने कुनैपनि तलब, भत्ता सुविधा नलिने र उक्त रकम नगरका दुःखी, गरिब, असहायको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने प्रतिबद्धता गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रराज आचार्यलाई २ हजार २२४ मतान्तरले पराजित गर्दै लम्साल ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका हुन् ।