काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो । तर, देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा पनि आएको छैन ।
देशका ७ सय ५३ स्थानीय तहमा एकैपटक नयाँ नेतृत्व चयनका लागि ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ३५ हजार २ सय २१ जना चुनिनेछन् ।
शुक्रबार राति अबेरसम्म ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७० स्थानीय तहको अन्तिम परिणाम आएको छ । तीमध्ये ८५ प्रतिशत बढी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ सम्पन्न गरी शुक्रबारबाटै जिम्मेवारीसमेत सम्हालेका छन् । परिणाम घोषणा हुन बाँकी स्थानीय तहका उम्मेदवार प्रतीक्षामै छन् । देशका ६ महानगर र ११ उपमहानगरमध्ये काठमाडौं, ललितपुरसहितका केहीमा मतगणना कछुवा गतिमा छ ।
स्थानीय तह निर्वाचनको आठौं दिन
संवैधानिक व्यवस्थाअनुसार भने स्थानीय तहमा जनप्रतिनिधि रिक्त भइसकेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि शुक्रबारबाटै सकिएको हो । उनीहरूका स्थानमा जनप्रतिनिधि पूर्ति हुन अझै केही दिन लाग्ने देखिन्छ ।
२०७४ मा ३१ वैशाख, १४ असार र २ असोजमा गरी तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कानुनमा भएको व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । आयोगले ती फरक फरक मितिमा निर्वाचित जनप्रतिनिधिहरूको पदावधि सकिने मिति ५ जेठलाई मान्दै आएको थियो ।
संविधानको धारा २१५ को उपधारा ६ मा भने गाउँपालिकार्को अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ ।
यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको ‘प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।
संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।
आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार साँझसम्म करिब ९० प्रतिशत स्थानीय तहको अन्तिम परिणाम आएको र बाँकीमा पनि मतगणना छिटो सम्पन्न गर्न निर्देशन भएको जानकारी दिए ।
उनका अनुसार अछामको साँफेबगर नगरपालिकामा शुक्रबार मात्रै मतदान भएको छ । यस्तै, बाजुराको बूढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने विषयमा विवाद हुँदा अझै पनि गणना सुरु हुन सकेको छैन ।
कानुनअनुसार निर्वाचित भएपछि स्थानीय तहका प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट शपथ गर्ने व्यवस्था छ । त्यसपछि स्थानीय तहका प्रमुखले उपप्रमुखसहित सदस्यहरूलाई तथा र अध्यक्षले उपाध्यक्षसहित सबै निर्वाचित सदस्यहरूलाई शपथ गराउनुपर्छ ।
काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जनशक्ति अभाव र सिमित स्थानका कारण मत गणनालाई सोचेजति तीव्र बनाउन नसकिएको बताए ।
‘मतगणनाको प्रक्रिया झन्झटिलो छ, ठाउँ सीमित छ, जनशक्ति कम छ, त्यसकारण मतगणनालाई सोचेजति तीव्रता दिन सकिएको छैन,’ कठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत खतिवडाले भने ।
ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले पनि सीमित स्थान, गणकका लागि अवश्यक जनशक्तिको अभाव र दलका प्रतिनिधि वा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिलाई एक÷एक गरी मतपत्र देखाउनुपरेका कारण गणनामा ढिलाइ भएको बताउँदै आएका छन् ।
प्रमुख पदका उम्मेदवारको अन्तिम परिणाम आएपछि मात्र उनीहरूको शपथपछि अन्य निर्वाचित जनप्रतिनिधिहरूको शपथका लागि बाटो खुल्नेछ ।