२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो


बुटवल । पश्चिम नेपालकै केन्द्र तथा लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवलमा ३० वर्षपछि कांग्रेसले सत्ता फर्काएको छ । एमालेको विरासत तोड्दै खेलराज पाण्डेले कांग्रेसलाई बुटवल उपमहानगरपालिकाको सत्तामा पु-याएका छन् । जसलाई नेपाली कांग्रेसको तीन दशकपछिको ‘कमब्याक’का रूपमा चर्चा गरिएको छ ।

२०४९ सालमा सूर्यप्रसाद प्रधानको नेतृत्वमा कांग्रेसले बुटवलमा नेतृत्व गरेको थियो । २०५४ सालमा भएको नगरपालिकाको चुनावमा एमालेले कांग्रेसको सत्ता पल्टाएको थियो । त्यपछि एमालेपछि फर्किन परेन । २०७४ सालको स्थानीय तहको निर्वाचन मात्रै होइन, २०५६ सालको संघीय निर्वाचन, २०६४ र २०७० सालको संविधानसभा र २०७४ सालका संघ र प्रदेश सभा निर्वाचनमा पनि एमालेले एकछत्र विजयको किल्ला गाडेको थियो ।

२५ वर्षपछि नेपाली कांग्रेसले एमालेको गढ भनिएको बुटवलमा आफ्नो विजयको झन्डा गाड्न सफल भएको छ । सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले बुटवलको मेयर जितेका छन् । अन्तिम मतपरिणामअनुसार पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी हुँदा एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मतमा चित्त बुझाउनुपरेको छ । यो एमालेको लागि नमिठो हार हो । बुटवलमा ६२ हजार ९ सय ७५ मत खसेको थियो ।

एमाले गढ कसरी ढल्यो ?

आफ्नो परम्परागत विरासत ठान्ने एमालेले बुटवल हार्दा सो पार्टीका नेता नै अचम्मित छन् । मजबुद संगठन, पुरानो विरासतका कारण बुटवलमा सत्ता दोहो-याउने आत्मविश्वासमा रहेको एमालेले यो पराजयलाई समान्य रूपमा नलिने बताएको छ ।

एमाले नेता तथा पार्टी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ यति धेरै मतान्तरले बुटवल गुमाउने कल्पना पनि नगरिएको बताउँछन् । उनले भने, ‘गठबन्धन थियो, प्रतिस्पर्धा होला भन्ने त थियो तर यस्तो नतिजाको कल्पना पनि गरिएको थिएन ।’

बुटवलमा एमालेले मेयर मात्र होइन दुईतिहाइ वडा पनि गुमाएको छ । विगतमा ३ वटा वडा मात्र जितेको कांग्रेसले अहिले एमालेलाई ४ वडामा सीमित गराइदिएको छ । बुटवल उपमहानगरमा १९ वडा रहेका छन् ।

चुनावी समीक्षा भई नसके पनि एमाले नेताले बुटवलवाट प्रदेश राजधानी सार्ने मुद्दाले गम्भीर असर पुगेको बताएका छन् । प्रदेशको राजधानी बुटवलबाट दाङ सर्नु र पार्टीले जनतालाई सही सूचना दिन नसक्नु बुटवलमा एमालेले हार्नुको मुख्य कारण रहेको एक नेताले बताए ।

‘राजधानी कहाँ राख्ने भन्ने विषय एउटा पार्टीको विषय नभई प्रदेश सभाको विषय हो भन्ने कुरा जनतालाई बुझाउन सकिएन,’ उनले भने । राजधानी दाङ सार्ने विषयमा तत्कालीन नेकपाले दुईतिहाइ मतका साथ प्रदेश सभावाट निर्णय गरेको थियो । तर, प्रतिपक्षी नेपाली कांग्रेसले लगातार सदन र सडकमा आन्दोलन गरेको थियो । त्यसको फाइदा अहिले कांग्रेसलाई मिलेको कांग्रेस नेता छयां पोख्रेल स्वीकार गर्दछन् । उनले भने, ‘जनताको प्रत्यक्ष सरोकार राख्ने विषय केन्द्रका टाउका मिलाएर निर्णय गरे, त्यसमा बुटवलकै नेता विष्णु पौडेल अर्थमन्त्री भएर पनि केही बोलेनन्, त्यसको असर निर्वाचनमा प-यो ।’

यसैगरी एमालेमा यसअघिका मेयर शिवराज सुवेदीको कार्यकालको पनि आलोचना भयो । उनको कार्यकालमा बुटवलको राजमार्ग निर्माणमा पहल नगरेको, सुकुम्बासीलाई दिएको पुर्जाको आश्वासन पूरा नगरेको, खानेपानी, फोहोर व्यवस्थापन जस्ता समस्या जस्ताको तस्तै रहेको कुरालाई पनि विपक्षी कांग्रेसले राम्रो उपयोग गरेको देखिन्छ ।

कांग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरीले भने, ‘बुटवलमा एमालेका गलत काम र विगतका बाचा जनतालाई सम्झाएर मात्रै पनि चुनाव जितिने अवस्था थियो तर त्यसो भएन ।’

चुनावी अभियानका क्रममा दुईतिहाइको जनमत जोगाउन नसकेको भनेर जनतावाट प्रश्न आएको एमाले नेता बाबुराम पन्थीले बताए । ‘मत माग्न जाँदा आएका यो र यस्ता प्रश्नको जवाफ राम्रोसँग दिन नसक्दाको पनि परिणाम हो यो,’ पन्थीले भने । पन्थी अघिल्लो निर्वाचनमा दुईतिहाइको बहुमत दिएका जनताको विश्वासलाई जोगाउन नसक्दा अहिलेको परिणाम आएको बताउँछन् । ‘जनताले नेकपा विभाजनलाई स्वीकार गर्न सकेका रहेनछन् भन्ने अहिलेको परिणामले पनि पुष्टि गरेको छ,’ उनले भने ।

‘योसँगै यसअघिका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचारलाई व्यवस्थित गर्न सकिएन । विपक्षी पार्टीले राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक, ज्योतिनगर पहिरो, तिनाउ दानव कोरिडोर र मोतीपुर औद्योगिक क्षेत्रको विषयमा जनतालाई अनावश्यक रूपमा भड्काउँदै गर्दा हामीले त्यसलाई चिर्न पार्टी र संगठनलाई जसरी व्यवस्थित र परिचालित गर्नुपथ्र्याे त्यो गर्न सकिएन,’ पन्थीले भने ।
उम्मेदवार चयन गर्दा र जिम्मेवारी दिंदा पनि भूगोलमा उसको अवस्था नहेरी माथिबाटै जिम्मेवारी दिने गर्दा परिणाम यस्तो आएको उनको भनाइ छ । बुटवलको मेयरको टिकट कसलाई दिने भन्ने विषयमा एमाले महासचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेलको फरक फरक मत रहेको पहिला नै सार्वजनिक भएको थियो । पौडेल एमाले नेता गोपाल रानालाई टिकट दिन चाहान्थे तर टिकट वितरणमा पोख्रेल हाबी भएको चर्चा पनि एमालेवृतमा रहेको छ । त्यसकारण एउटा समूह निर्वाचनमा पूर्णरूपमा परिचालित नभएको आरोप छ ।

बुटवलमा कांग्रेसले जित्नुमा राप्रपाले एमालेको भोट काट्नु र खेलराज पाण्डेयको व्यक्तिगत स्वभाव पनि मुख्य कारण हुन् । अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय ९८ मतले हार बेहोरेका पाण्डेय पछिल्लो पाँच वर्ष अहिलेको चुनावलाई केन्द्रित गरेर जनताबीच पुगिरहे ।

सरल स्वभाव र सामान्य जीवनशैलीमा देखिने पाण्डेय दिनहुँजसो जनताकै बीचमा रहिरहे । निर्वाचित जनप्रतिनिधि सत्तामा केन्द्रित हुँदा उनी भने जनताका दुःखसुखमा सहभागी हुन्थे । वर्षौसम्म अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासीको समस्या, अस्तव्यस्त बनेको सडकको धुलो, धुवाँले आजित बनेका बुटवलवासीलाई धुलो धुवाँमुक्त गर्ने, साना व्यवसायीलाई व्यापार÷व्यवसायमा प्रोत्साहित गर्दै करको भारबाट मुक्ति दिलाउने प्रतिबद्धता बोकेर उनी घरघरमा पुगे । यससँगै पार्टीका नेता कार्यकर्ता मात्र होइन सर्वसाधारण जसले निमन्त्रणा गरे पनि विवाह, ब्रतबन्ध, पारिवारिक शुभकार्य, भोजभतेर तथा मृत्यु संस्कारमा समेत उनी सहभागी हुन्थे । पाण्डेयको यो सरलशैलीलाई मतदाताले मन पराएका हुन सक्छन् ।

को हुन् निर्वाचित मेयर पाण्डे ?

स्याङ्जाको कालीगण्डकी गाउँपालिका तत्कालीन (आलमदेवी गाविस कोटाकोट)मा २०२६ सालमा लीलाबल्लभ पाण्डे र माता तारादेवी पाण्डेका सन्तानका रूपमा यिनको जन्म भएको हो । पाण्डे २०४६ सालयता बुटवलमा बसोबास गर्दै आएका छन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका पाण्डेय नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०३९ सालमा आदर्श मावि कोटाकोटमा नेविसंघको सदस्यता लिएर राजनीति सुरु गरेका पाण्डे २०४४ सालमा अमृत साइन्स क्याम्पसको नेविसंघको सहसचिव थिए ।
२०४६ सालमा रुपन्देही आएपछि उनको विद्यार्थी राजनीति यात्रा झनै फराकिलो बन्यो । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति २०५२ सालमा नेविसंघ रुपन्देही सचिव, २०५९ सालमा तरुण दल रुपन्देही जिल्ला अध्यक्ष र २०६० सालमा तरुण दल केन्द्रीय सदस्य हुँदै २०६७ सालदेखि अहिलेसम्म तीन कार्यकाल नेपाली कांग्रेस बुटवल नगर सभापति रहेका छन् ।

२०७२ मा सरकारले बुटवल नगरविकास समिति सभापति बनाएपछि उनीसँग बुटवलको विकासमा राजनीतिक, आर्थिक र सामाजिक नाता जोडिन पुग्यो । बीपी कोइरालाका पुस्तकको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेयले कांग्रेस भित्र पनि लोभलालचरहित, सामान्य परिवार, सरल र प्रस्ट वक्ताका रूपमा परिचित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?